तनहुँ । पुस १६
जलवायु परिवर्तन अनुकूलन एवं वन व्यवस्थापन सम्बन्धि विज्ञ रहेका भानु नपा–१० का किशोर गन्धर्व राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकको बन्द सुचीमा समावेश भएका छन् । हाल जर्मनीमा कार्यरत किशोर वन सुशासन, जैविक विविधता संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, एकीकृत विकास योजना निर्माण र रणनीतिक योजना निर्माण सम्बन्धी कार्यमा आधा दशकको अनुभव प्राप्त छन् ।



सन २०१५ मा त्रिभुवन विश्व विद्यालयबाट वन विज्ञान विषयमा स्नातक तहको अध्ययन पुरा गरेका किशोर विश्व प्रसिद्ध DAAD छात्रवृत्तीमा जर्मनीको प्रशिद्ध Georg-August-Universität Göttingen बाट MSc. Forest and Ecosystem Sciences (Tropical and International Forestry) अध्ययन पुरा गरेका छन् ।
जर्मनीमा अध्ययन गर्दै गर्दा विश्वस्तरीय वैज्ञानिक र प्राध्यापकहरूसँग अनुसन्धानमा संलग्न हुने अवसर पाएको भन्दै उनले थप अध्ययन कार्य अगाडी बढाउन परामर्श गरिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका फर्कन चाहने युवाका लागि समानुपातिकमा १० प्रतिशत स्थान सुनिश्चित गर्ने निर्णय गरेको बताए । ‘त्यो निर्णय केवल राजनीतिक होइन, मेरो लागि आशाको ढोका बन्न पुग्यो । म एउटा यस्तो समुदायको प्रतिनिधि, जसले राष्ट्र निर्माणमा इतिहासभर योगदान दियो, नेपाल एकिकरण देखि गणतन्त्र स्थापना सम्म’ उनले भने ‘तर नीति निर्माणको टेबलमा आफ्नो कुर्सी कहिल्यै पाएको थिएन । मैले यही प्लेटफर्मलाई देश फर्किने सही अवसर ठानेँ र समानुपातिक उम्मेदवारीका लागि आवेदन दिएँ ।’

‘म गन्धर्व समुदायको सन्तान हुँ, एउटा यस्तो समुदाय, जसले नेपालको इतिहासमा आवाज, शब्द र स्मृतिलाई जोगायो, तर आफैं भने इतिहासको अन्तिम भन्दा पनि अन्तिम पानामा धकेलियो । देश एकीकरणदेखि सामाजिक चेतनाको प्रसारसम्म गन्धर्वहरूले गीत, सारंगी र शब्दमार्फत समाजलाई जोड्ने काम गरे, तर नीति निर्माणको टेबलमा हाम्रो उपस्थिति कहिल्यै सुनिश्चित भएन । हाम्रो पहिचानलाई ‘लोकसंस्कृति’ भनेर सम्मान गरियो, तर हाम्रो जीवनलाई ‘निम्न’ भनेर व्यवहार गरियो ।’ उनले भने ‘शिक्षा, रोजगारी, सम्मान र अवसरका ढोकाहरू हाम्रो लागि सधैं आधा पनि खुलेनन्, कहिले जातको नाममा, कहिले गरिबीको, त कहिले मौन पूर्वाग्रहको ।’
‘गन्धर्व हुनु केवल एउटा जातीय पहिचान होइन, यो पुस्तौँदेखिको संघर्ष, अदृश्य पीडा र अदम्य आत्मसम्मानको कथा हो । यही विभेद र बहिष्करणको अनुभवले मलाई केवल आफ्नो लागि होइन, संरचनाले पछाडि पारिएका सबै समुदायका लागि आवाज उठाउन प्रेरित ग¥यो ।’ उनले भने ‘सामाजिक रूपमा सीमान्तकृत र अल्पसंख्यक गन्धर्व समुदायबाट आएको म, कहिल्यै यस्तो यात्रामा आफूलाई हुन्छु होला भन्ने लागेको थिएन । इतिहासमा न राज्यले, न त कुनै राजनीतिक दलहरूले, हाम्रो समुदायलाई यति विश्वास गरेका सायदै गरेका थिए ।’
इतिहासले नदिएको तर वर्तमानले दिएको यो अवसर आफ्नो बौद्धिकता, क्षमता, सीप र अस्तित्वलाई स्वीकार गरेर दिएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति उनले कृतज्ञता प्रकट गरेका छन् । ‘यो यात्रा मेरो मात्र होइन, मेरो समुदाय, मेरो पुस्ता र परिवर्तन खोजिरहेका सबै नेपालीहरूको साझा कथा हो ।’ उनले भने ।












