तनहुँ । पुस २४
आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधि सभा निर्वाचन (प्रत्यक्षतर्फ) को सम्भावित उम्मेदवारहरुको चर्चा सुरु भएको छ । विभिन्न राजनीतिक दलबाट उम्मेदवारका आकांक्षीहरुले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।



नेपाली काँग्रेस, नेकपा एमाले तथा नेपाल कम्युनिष्ट पार्टीबाट यसअघि नै पटक पटक चुनाव लडेका व्यक्तिको नाम यसपटक पनि चर्चामा आउँदा राष्ट्रिय स्वतन्त्र पार्टीबाट भने नयाँ र क्षमतावान युवाहरुको नाम चर्चामा आएको छ । यसैक्रममा तनहुँ क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्न खैरेनीटार निवासी सुन्दर बस्यालको नाम चर्चामा आएको छ । उनी रास्वपाबाट आकांक्षीहरु मध्येमा सबैभन्दा अगाडी देखिएका छन् ।
स्याङजाको फेदिखोलामा जन्मिएका सुन्दर खैरेनीटारमा २० वर्ष भन्दा अघिदेखी स्वास्थ्य व्यवसायमा संलग्न छन् । एनसिडिए तनहुँका वरिष्ठ उपाध्यक्ष, लायन्स क्लबका अग्रणी लायन्स लिडर, तथा स्वास्थ्य क्षेत्रमा २० वर्षभन्दा बढी समयदेखी समर्पित सुन्दर बस्याल विभिन्न सामाजिक संघ–संस्था र स्वास्थ्यसँग सम्बन्धित अभियानहरूमा सक्रिय रहँदै आएका छन् । जनस्वास्थ्य, सेवा र सचेतनाका क्षेत्रमा उनले उल्लेखनीय योगदान पु¥याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) तनहुँ क्षेत्र नम्बर २ का सभापति समेत रहेका सुन्दर जनताको दुःख–सुखमा सदैव साथ दिने, परिणाममुखी कार्यशैली अपनाउने र राजनीतिको केन्द्रमा ‘सेवा’ लाई राख्ने व्यक्तित्वका रूपमा परिचित छन् । निष्कलंक छवि, अनुभव र सेवाभावका कारण बस्याललाई आज जनताले जिम्मेवार नेतृत्वका रूपमा हेर्दै आएका छन् ।
समाजसेवा, सुशासन, स्वास्थ्य र पारदर्शी विकासका स्पष्ट दृष्टिकोणसहित सुन्दर बस्यालले तनहुँ–२ का मतदाताबीच बलियो विश्वास निर्माण गर्न सफल भएका छन् । यही विश्वासका आधारमा उनी प्रतिनिधि सभा (प्रत्यक्षतर्फ) का एक सशक्त दाबेदारको रुपमा देखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी सहित अन्य केही नेताहरु पनि उम्मेदवारको आकांक्षीको रुपमा देखिँदा सबैभन्दा बढि भरपर्दाे व्यक्तिको रुपमा पार्टीले उनलाई नै हेरेको रास्वपाका केही कार्यकर्ताहरुले बताएका छन् ।












