देवघाट । पुस २६
देवघाट गाउँपालिका–५ स्थित हरिहर सन्यास आश्रममा आइतबार आश्रमका संस्थापक राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २९ औँ वार्षिक पुण्यस्मृति मनाइने भएको छ ।



आश्रमका संस्थापक परमानन्द सरस्वती महाराजको २९ औँ वार्षिक पुण्यस्मृतिको अवसरमा हरिहर सन्यास आश्रम तथा परमानन्द संस्कृत गुरुकुल विद्यापिठमा गत पुष २३ गतेबाट विभिन्न कार्यक्रम आयोजना गरिएको छ । गुरुकुलमा विभिन्न विद्वानहरुको उपस्थितीमा प्रत्येक दिन विभिन्न कार्यक्रमहरु आयोजना गरिँदै आएको छ ।
यसै अवसरमा शनिबार सन्तसमागम एवं उद्वोधन कार्यक्रम आयोजना गरियो । शनिबार रात्रीकालिनसत्रमा परमानन्द संस्कृत छात्र कल्याण परिषदको आयोजनामा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको संरक्षकत्व र स्वामी सच्चितानन्द सरस्वतीको अध्यक्षतामा एवं प्रा.डा.देवी नेपालको प्रमुख आतिथ्यतामा परमानन्द काव्य सरिताको १७ औं शृङखला आयोजना भयो । उक्त कार्यक्रममा गुरुकुलमा साधनारत कविहरुका कवितासँगै आगन्तुक सर्जकहरुका रचना वाचन तथा उल्टो टोपी नाटकको मन्चन गरियो ।
यसैगरि आज पुस २७ गते अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २९ औँ वार्षिक पुण्यस्मृतिको अवसरमा ब्रह्मलिन स्वामीजीको समाधि मन्दिरमा रुद्राभिषेक तथा आरती कार्यक्रम एवं गुरु भन्डारा तथा समिक्षा कार्यक्रम हुने छ ।

बैदिक सिद्धान्तमा आधारित आद्यजगद्गुरू श्री शंकराचार्यद्वारा प्रतिपादित जीवनदर्शनलाई अङ्गिकार गर्दै नारायणी निवास कनखल, हरिद्वारका पीठाधीश अनन्त श्री विभूषित स्वामी सत्यप्रकाशानन्द सरस्वती महाराजका सुयोग्य शिष्य श्री १००८ स्वामी परमानन्द सरस्वती महाराजले पश्चिम नेपालका विभिन्न लेकहरुमा कठोर तपश्चर्याद्वारा सिद्धि प्राप्त गरी आफ्ना गुरूको प्रेरणा र सहयोगमा नेपालका गुल्मी, बागलुङ्, म्याग्दी, पर्वत लगायत करिब २० वटा जिल्लाहरुमा संन्यास आश्रम, संस्कृत गुरूकुल, आधुनिक विद्यालय, महाविद्यालय, पाटीपौवा, मठमन्दिर, स्वस्थ्य संस्था, सडक आदिको स्थापना, संरक्षण र विकासार्थ सामाजिक धनधान्यचलको सुरूवात गर्दै वैदिक यज्ञयगादिबाट समाजलाई आध्यात्मिक सन्देश दिई राष्ट्रविकास र पौरस्त्य वाङ्मयको श्रीवृद्धिका निमित्त आफ्नो जीवन समर्पण गर्नुभएको थियो ।
वि.सं २०२८ सालमा दिब्रुङ्, गुल्मी र वि.सं २०३३ सालमा बागलुङ् विहूँ रामकोटमा स्वामीज्यूबाट स्थापित श्री परमानन्द वेदवेदाङ्ग विद्यालयबाट उत्पादित विद्यार्थीहरुले अहिले राष्ट्र तथा अन्तराष्ट्रमा शैक्षिक, प्राशासनिक क्षेत्रका उच्चपदमा रहेर राष्ट्रसेवा एवं पौरस्त्य वाङ्मयको प्रचारप्रसार र संरक्षण संवद्र्धनमा खटिइरहेको व्यहोरा सर्वविदित नै छ । वि.सं २०३८ सालदेखि शिवशूलप्रसुता त्रिशूली गंगा र शालिग्राम गर्भा श्रीकृष्णगण्डकीको संगम स्थल, हरिहरक्षेत्र, आदिप्रयाग देवघाटधामको अध्यात्मिक एवं आधुनिक विकासार्थ चिन्तन गर्दै देवघाट आउनुभएका स्वामीज्यूले गलेश्वर आश्रमको पीठाधीश स्वीकार गर्दै आश्रम एवं समाजको सर्वाङ्गीण विकास गरेर उक्त आश्रम महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिलाई सुम्पिनुभयो भने पौरस्त्य वाङ्मयका विशिष्ट विद्वान् विश्वनाथ संस्कृत महाविद्यालय, वेदान्त विभागमा अध्यापनरत डा.स्वामी रामानन्द गिरिलाई दिल्लीबाट नेपाल ल्याई आफ्नै साथमा राखेर देवघाटमा महेश संन्यास आश्रमको स्थापना गर्न प्ररेणा गर्नुभयो ।
अर्कातर्फ वि.सं.२०४५ सालमा आफ्ना गुरू स्वामी सत्यप्रकाशानन्द सरस्वती महाराजका करकमलबाट शिलन्यास गराई वि.सं.२०५१ सालमा समुद्घाटन भएको श्री हरिहर मन्दिर सबैको आकर्षणको केन्द्रविन्दु बन्यो । नेपालकै प्रमुख मन्दिरहरु मध्ये नमुनाको रुपमा रहेको यस मन्दिरमा राखिएका दिव्यमूर्तिहरुको दर्शनका निमित्त नेपाल, भारत एवं विभिन्न देशबाट श्रद्धालुहरुको आगमन हुन्छ । आध्यत्मिक चिन्तनबाट सामाजिक जागरण साथै वैदिक धर्मसंस्कृति र गुरूकुलीय संस्कृत शिक्षा संरक्षण सम्वद्र्धनका लागि आफ्नो तपोमय जीवन समर्पण गर्नुहुने आवाल ब्रह्मचारी त्यागतपोमूर्ति स्वामीज्यू महाराज वि.सं २०५३ साल माघ १८ गते ब्रह्मलीन हुनुभएको थियो । उहाँको बह्मलीनपछि उहाँका प्रमुख उत्तराधिकारी श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीज्यू महाराज हरिहर सन्न्यास आश्रम देवघाटधाम तनहुँको पीठाधीश हुनुभएको छ । जो वर्तमानमा नेपाल सन्त समाजका अध्यक्ष समेंत हुनुहुन्छ ।












