देवघाट । पुस २७
देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमद्वारा सन्चालित बेद बेदाङ्ग संस्कृत विद्यापिठको ५९ औं बार्षिकोत्सव आइतबार पृथ्वीजयन्तीको दिन सम्पन्न भएको छ । उक्त वार्षिकोत्सवको प्रा.डा.देवी नेपालले उद्घाटन गरेका थिए ।



गलेश्वर आश्रमका अध्यक्ष एवं पिठाधिश महामन्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी महाराजको अध्यक्षतामा सम्पन्न उक्त वार्षिकोत्सव कार्यक्रममा विभिन्न वक्ताहरुले गुरुकुल शिक्षाको महत्वको बारेमा मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गरिएको थियो भने गुरुकुलका छात्रहरुको प्रतिभा प्रदर्शन, विभिन्न कार्यक्रमको पुरस्कार वितरण तथा छात्रहरुद्वारा राष्ट्रनिर्माता वाचन गरिने तथा पिठाधिश, अतिथी तथा स्वामीजीहरुको दार्शननिक मन्तव्यको कार्यक्रम भएको बेद बेदाङ्ग संस्कृत विद्यापिठले जनाएको छ ।
वैदिक सनातन धर्मलाई संरक्षण गर्ने उद्देश्यले २०२३ साल पौष २७ गतेका दिन सिद्घयोगी ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) ले वेद वेदाङ्ग विद्यालयको स्थापना गर्नुभएको थियो । गुरुकुलीय शिक्षा पद्धतिलाई अवलम्बन गरी संस्कृत पाठशालाको रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्दै आइरहेको यो विद्यालय अहिले सार्वजनिक गुठी अन्तर्गत गलेश्वर आश्रम देवघाटबाट सञ्चालनमा रहेको छ ।

गुरुकुल सञ्चालनार्थ अक्षयकोषको स्थापना गरी विभिन्न भक्तजन, धर्मानुरागी महानुभावहरूबाट प्राप्त सहयोगबाट निःशुल्क भोजन सुविधा सम्पन्न आवास तथा प्राथमिक औषधोपचारसहित आधुनिक पद्धतिअनुसारको गुरुकुलीय संस्कृत शिक्षा प्रदान भइरहेको छ ।
अस्थायी रूपपमा सञ्चालन भई पूर्ण गुरुकुलीय शिक्षण शैलीमा पाठशाला मात्र रहेको यस विद्यालयले २०५८ सालमा तत्कालीन श्री ५ को सरकार शिक्षा मन्त्रालयबाट कक्षा ८ सम्मको स्थायी अनुमति प्राप्त गरी कक्षागत विद्यालयीय पद्धतिमा सञ्चालन भयो । वि.सं. २०६३ मा कक्षा ९ र २०६४ सालमा कक्षा १० सम्मको स्थायी अनुमति प्राप्त गरी २०६४ सालबाट एसएलसी परीक्षा बोर्डमा आबद्ध भएको थियो । २०७५ सालबाट राष्ट्रिय परीक्षा बोर्डसँग सम्बद्ध हुने गरी स्थानीय निकायबाट अनुमति लिई कक्षा १२ सम्म संस्कृत व्याकरण, ज्योतिष, साहित्य आदि विषयसहितको आधुनिक शिक्षा पनि निःशुल्क रूपमा प्रदान गरिएको छ ।

करिब दश रोपनीको क्षेत्रफलमा श्री वेद वेदाङ्ग विद्यालय कक्षा ६ देखि कक्षा १२ सम्म सञ्चालनमा रहेको छ । सो स्थानमा तीनवटा भवनमा करिब २६ वटा कोठाहरू रहेका छन् । कार्यालय, कक्षा कोठा, आवास कोठा, पुस्तकालय लगायत शौचालय पनि पर्याप्त नै रहेको छ । उक्त विद्यालयको करिब १५ रोपनी जग्गासहितको स्थानमा सुविधा सम्पन्न पुस्तकालय, कम्प्यूटर कक्ष, सभाहल र आवाससमेत व्यवस्थापन हुने गरी भूकम्प प्रतिरोधात्मक विशाल भवन निर्माण भएको छ भने करिब २५ रोपनी जग्गामा खेलमैदान समेत रहेको छ । ४ तले सो भवनमा ४० वटा कोठाहरू पूर्णरूपमा तयार भइसकेका छन् ।












