गत वर्ष बेपत्ता भएको डिलक्स बस त्रिशुली किनारमा बालुवा मुनी भेटियो

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २७

आबुँखैरेनी गाउँपालिका–५ दुन्द्राङवेशी स्थित त्रिशुली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा बसको अवशेष भेटिएको छ । उक्त बस २०८१ असार २८ गते विहान मुग्लिन–नारायणगढ सडक खन्ड अन्तर्गत चितवनको भरतपुर मनपा–२९ को सिमलताल भन्ने स्थानमा नदीमा खसेर बेपत्ता भएको काठमाण्डौबाट गौरतर्फ जांदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बस भएको आशंका गरिएको छ ।

माछा मार्ने क्रममा जाल अड्किएपछि स्थानीयले खोतलेर हेर्दा बसजस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालुवामुनी बस पुरिएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आबुँखैरेनी र साराङघाटबाट खटिएको प्रहरी टोली उक्त स्थानमा गई हेर्दा नदिको किनारमा पुरिएको बसको अगाडीको थोरै भाग देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । कुरिनघाटबाट सशस्त्र प्रहरीको टोली समेत आएर उक्त बस खन्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

बस बेपत्ता भएको ठाउँबाट २०० मिटर नजिक तनहुँतर्फ बालुवामा पुरिएको अवस्थामा बस देखिएपछि थोरै खनेर हेर्दा निलो रङको देखिएको र सिमलतालमा हराएको गणपति बसको रङसँग मिलेकाले सोही बस हुनसक्ने सम्भावना रहेको इलाका प्रहरी कार्यलय आबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । यद्यपि बस निकालेपछि मात्रै यकीन भन्न सकिने सुवेदीले बताए ।

२०८१ असार २८ मा नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसहित दुई बस त्रिशूलीमा बेपत्ता भएका थिए । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स त्रिशूलीमा बेपत्ता भएका थिए । उक्त दुई बसमा सवार ६५ जनामध्ये ११ जनाको शव फेला परेको थियो भने तीनजना घाइते भएका थिए । उक्त दुर्घटनामा ५१ जना बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू