तनहुँ । पुस २९
आबुँखैरेनी गाउँपालिका–५ दुन्द्राङवेशी स्थित त्रिशुली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको बस २०८१ असार २८ गते त्रिशुलीमा खसेर वेपत्ता भएको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बस भएको पुष्टि भएको हो । सुरक्षाकर्मीले उत्खनन गर्दा मंगलबार गणपती डिलक्स लेखिएको भेटिएको छ ।



माछा मार्ने क्रममा जाल अड्किएपछि स्थानीयले खोतलेर हेर्दा बसजस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालुवामुनी बस पुरिएको खबर प्राप्त हुनासाथ आइतबार बिहान इलाका प्रहरी कार्यालय आबुँखैरेनी र साराङघाटबाट खटिएको प्रहरी टोली उक्त स्थानमा गई हेर्दा नदिको किनारमा पुरिएको बसको अगाडीको थोरै भाग देखिएको थियो ।

त्यसपछि तनहुँ र चितवनका सुरक्षाकर्मीको संयुक्त टोलीले आइतबारदेखी नै उक्त बस उत्खनन गर्न सुरु गरेको हो । आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उत्खनन गरेपनि सोमबारबाट भने नेपाली सेना पनि खटिएको छ । बस भेटिएको स्थानसम्म जेसिभि लगायतका साधन लैजान सम्भव नभएपछि सुरक्षाकर्मीको टोलीले नै गैंटी र बेल्चाको माध्यमबाट उत्खनन् गरिरहेका छन् । बसको उत्खनन गर्न अझै केहि दिन लाग्ने देखिएको प्रहरीले जनाएको छ ।
उक्त बस २०८१ असार २८ गते विहान मुग्लिन–नारायणगढ सडक खन्ड अन्तर्गत चितवनको भरतपुर मनपा–२९ को सिमलताल भन्ने स्थानमा नदीमा खसेर बेपत्ता भएको थियो । बस बेपत्ता भएको ठाउँबाट २०० मिटर नजिक तनहुँतर्फ बालुवामा पुरिएको अवस्थामा बस भेटिएको इलाका प्रहरी कार्यलय आबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

२०८१ असार २८ मा नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसहित दुई बस त्रिशूलीमा बेपत्ता भएका थिए । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स त्रिशूलीमा बेपत्ता भएका थिए । उक्त दुई बसमा सवार ६५ जनामध्ये ११ जनाको शव फेला परेको थियो भने तीनजना घाइते भएका थिए । उक्त दुर्घटनामा ५१ जना बेपत्ता भएका थिए ।












