तनहुँ । पुस २९
तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटमा भएको दुई पुरुष र एक महिलाको हत्याकाण्डमा संलग्न भएको आशंकमा प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउ परेका उनी शुक्लागन्डकी नगरपालिका–५ का स्थानीय युवा हुन् । प्रहरी स्रोतका अनुसार पक्राउ परेका युवकले हत्या स्वीकार गरेका छन् ।



प्रहरीले ति युवकलाई बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । उनलाई बुधबार नै अदालतबाट म्याद थप गरि थप अनुसन्धान गर्ने प्रहरीको तयारी रहेको बुझिएको छ । उनी बेलाबखत फोहोरमैला प्रशोधन केन्द्र आसपास गैरहने र मृतकहरुसँगै बसेर खाने पिउने व्यक्ती रहेको रहेको स्रोतले जनाएको छ ।
शुक्लागण्डकी नगरपालिका–५ सेती नदीको बगर कसेरीघाट स्थित शुक्लागण्डकी नगरपालिकाको निर्माणाधिन फोहोरमैला प्रशोधन केन्द्र गत आइतबार दुई पुरुष र एक महिलाको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । मृतक मध्ये शुक्लागण्डकी नपा–११ बस्ने बर्ष ४१ को नारायण बिक र भिमाद नपा–८ भागर बस्ने बर्ष ५८ की देउमाया थापाको पहिचान खुलेको छ भने अर्का मृतकको मंगलबार साँझसम्म पहिचान प्रहरीले खुलाएको छैन ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी तथा सुचना अधिकारी श्रवणकुमार विकले घटनाको थप अनुसन्धान भईरहेको बताए । प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुर र फरेन्सिक टोली परिचालन गरेर सुक्ष्म अनुसन्धान गरेको थियो ।












