देवघाटमा माघे सक्रान्ती मेला सुरु

Devghat Online

शेयर गरौ

देवघाट । पुस ३०

तनहूँको पवित्र धार्मिक तीर्थस्थल देवघाटमा माघे सक्रान्ती मेला सुरु भएको छ । देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित पवित्र त्रिशुली नदी र कालीगन्डकी नदीको संगम वेणीमा बुधबार बिहान बाँसको लिङ्गो गाडेर माघेसंक्रान्ति मेलाको शुभारम्भ गरियो ।
देवघाट स्थित गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, हरिहर सन्यास आश्रमका पीठाधीश एवं नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती तथा महेश सन्यास आश्रमका पिठाधिश रमणानन्द गिरी लगायत विभिन्न सन्तमहन्त, वटुक एवं विशिष्ट व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याईएको थियो । बेणी संगममा विधिवत रुपमा लिङ्गो प्रतिस्थापन गरिएपछि माघे सक्रान्ती मेलाको शुभारम्भ हुन्छ ।

माघे सक्रान्तीमा देवघाटमा हुने मेला नेपालकै सबैभन्दा ठुलो र प्रसिद्ध मानिन्छ । गत वर्ष माघे सक्रान्तीको दिनमात्रै तिन लाख भन्दा बढि भक्तजनले मेलाको अवलोकन र वेणी संगममा स्नान गरेका थिए । यस वर्ष पनि त्यती नै संख्यामा भक्तजन आउने अनुमान देवघाट क्षेत्र विकास समितिले गरेको छ ।

गोसाईकुण्डबाट बगेको त्रिशुली र दामोदरकुन्डबाट बगेको कालीगन्डकीको संगम देवघाटको बेणीमा स्नान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । पद्य्म पुराणका अनुसार सुर्य मकर राशीमा गएको बेला माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले ठुलो पुण्य प्राप्ति हुने धार्मिक मान्यता र विश्वास रहेको छ । साथै पवित्र त्रिशुली नदी र कालीगन्डकी नदीको देवघाटमा मिलन पनि मकर संक्रान्तिको दिन नै भएको मानिन्छ । सोही कारण पनि माघे संक्रान्तिमा देवघाटमा स्नान गर्नेहरुको ठुलो घुईँचो लाग्ने गर्छ ।

देवघाटधाम ऐतिहासिक, पौराणिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको धार्मिक तिर्थस्थल हो । गोसाँइकुण्डबाट आएको त्रिशूली र दामोदर कुण्डबाट आएको कालीगण्डकीको मिलन एवं नारायणी नदीको मुहान देवघाटधामको बेणी संगम भएकोले यो स्थानको विशेष महत्व रहेको छ । माघे सक्रान्तिको दिन पवित्र देवनदीको संगममा स्नान गर्न सम्पूर्ण देवी–देवताहरु आउने हुनाले पनि भक्तजनहरुले अदृष्य रुपमा देवी देवताहरुलाई भेटेर मोक्ष प्राप्ती गर्न सक्दछन् भन्ने पौराणिक मान्यता रही आएको छ ।

वशिष्ठ, विश्वामित्र, यज्ञवल्क्य, जनक, सीता, जस्ता सयौं ऋषि महर्षि देवघाटमा आई तपस्या गरेका, रामले अश्वमेध यज्ञ लगाएका, सीताजी विलय भएकी, पाल्पाली राजा मणिमुकुन्द सेनले यही आएर तपस्या गरेका धार्मिक तथा ऐतिहासिक तथ्यहरुले पनि यस धार्मिक तीर्थस्थलको महत्व बढेको गलेश्वर आश्रमका पीठाधीश अनन्त विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजीले बताए । यस्तो महत्वपूर्ण पवित्र धार्मिक तीर्थ स्थलमा भक्तजनहरुको घुइँचो लाग्नु स्वाभाविक नै मानिने उनले बताए ।

देवघाट क्षेत्र विकास समितिको व्यवस्थापनमा हुने मकर संक्रान्ति मेलाको सम्पुर्ण तयारी पुरा भएको क्षेत्र विकास समितिले जनाएको छ । सदा झैं यस वर्ष पनि माघे संक्रान्ति मेलामा लाखौँ भक्तजनहरुले पवित्र धार्मिक तीर्थस्थलको तीर्थाटन गरी स्नान, जप, तप, पाठ, पूजा, हवन, दान, श्राद्ध, यज्ञ आदि कर्म गरेर पुण्य प्राप्त गर्ने विश्वास गरिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । देवघाट क्षेत्र विकास समितिले तीर्थ यात्रीहरुको यात्रा सरल, सहज, सुविधाजनक र सुरक्षित होस भन्ने उद्देश्यले चितवन, तनहूँ र नवलपुरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भरतपुर महानगरपालिकाका प्रमुख, लगायतको समन्वयमा कम्तीमा तिन सय सुरक्षाकर्मीहरु परिचालन गरिने बरालले बताए । यस्तै क्षेत्र विकास समितिबाट १५० भन्दाबढि स्वयंसेवक परिचालन गरिनेछ ।

देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले देवघाटमा लाग्ने माघे संक्रान्ति मेला ऐतिहाँसिक र पवित्र मेला भएको बताए । माघ महिनाभर देवघाटमा आई स्नान गरेमा पुण्य प्राप्त हुने विश्वास रहेको भन्दै उनले अझ विशेषगरि माघे संक्रान्तिमा देवघाटमा स्नान गर्नुको आफ्नै महत्व रहेको बताए । देवघाटको मेला र मांस मदिरा एकै ठाउँमा रहन नसक्ने भन्दै मेला अवधिभर देवघाटमा मांस मदिरालाई कडाईका साथ नियन्त्रण गर्नु पर्ने पुर्व अध्यक्ष पौडेलले बताए । देवघाटधाममा वर्षाैंदेखि लाग्दै आइरहेको माघे संक्रान्ति मेलामा टाढा टाढा देखि धेरै भक्तजनहरु आउने र स्नान गर्ने प्रचलन रहि आएको हुदाँ मेलाको क्रममा यहाँ आउने भक्तजनहरुको सेवा सुबिधा, सुरक्षा तथा यसक्षेत्रका बासिन्दाको पनि सर्वोपरी हित हेर्नुपर्ने पुर्व अध्यक्ष पौडेलले बताए ।

 

माघे सक्रान्ति मेलालाई व्यवस्थित रुपमा सन्चालन गर्न देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. इश्वरीराज लौडारीको संयोजकत्वमा १५१ सदस्यिय मुल समारोह समिति गठन गरिएको छ । साथै विभिन्न २९ वटा उपसमितिहरु पनि गठन गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी