देवघाट । माघ १
माघे (मकर) संक्रान्ति मेलाको अवसरमा विहिबार देवघाटधाममा तिन लाख भन्दा बढि भक्तजनबाट मकर स्नान गरेका छन् । देशकै मध्यभागमा पर्ने तनहुँ, चितवन र नवलपुरको संगममा रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघे संक्रान्तिको अवसरमा ठुलो मेला लागेको थियो । यस वर्ष माघे संक्रान्ति मेला भर्न तिन लाख भन्दा बढि भक्तजन आएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए ।



कतिपय भक्तजनहरु बुधबारबार रातीबाट नै देवघाट पुगेका थिए । उनीहरु देवघाटका विभिन्न मठ मन्दिर र आश्रममा रातभर भजन किर्तन गरि जाग्राम बसेर विहान हुनासाथ कालिगन्डकी र त्रिशुलीको संगममा स्नान गरेका थिए । अधिकांश भक्तजन भने विहान उज्यालो भएपछि देवघाट गएका थिए । साँझ चार बजेसम्म देवघाट जानेको भिड रहेको थियो ।

ज्योतीषिय गणना अनुसार सुर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरेको दिनलाई मकर संक्रान्ति (माघे संक्रान्ति) भनिन्छ । पद्य्म पुराणका अनुसार सुर्य मकर राशीमा गएको बेला माघ महिना भर देवघाटधाममा स्नान गर्नाले ठुलो पुण्य प्राप्ति हुने धार्मिक मान्यता र विश्वास रहेको छ । साथै पवित्र त्रिशुली नदी र कालीगन्डकी नदीको देवघाटमा मिलन भएको दिन मकर संक्रान्तिको दिन नै भएको मानिन्छ । सोही कारण पनि माघे संक्रान्तिमा देवघाटमा स्नान गर्नेहरुको ठुलो घुईँचो लाग्ने गर्छ ।

देवघाटधाम ऐतिहासिक, पौराणिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको धार्मिक तिर्थस्थल हो । गोसाँइकुण्डबाट आएको त्रिशूली र दामोदर कुण्डबाट आएको कालीगण्डकीको मिलन एवं नारायणी नदीको मुहानको रुपमा रहेको देवघाटधामको बेणी संगम भएकोले यो पर्वको विशेष महत्व रहेको छ । मकर सक्रान्तिको दिन पवित्र देवनदीको संगममा स्नान गर्न सम्पूर्ण देवी–देवताहरु आउने हुनाले पनि भक्तजनहरुले अदृष्य रुपमा देवी देवताहरुलाई भेटेर मोक्ष प्राप्ती गर्न सक्दछन् भन्ने पौराणिक मान्यता रही आएको छ । देवघाट क्षेत्र विकास समितिको व्यवस्थापनमा भएको उक्त मकर संक्रान्ति मेला यस वर्ष व्यवस्थित भएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बरालले बताए । यस वर्ष नदीमा स्नानको क्रममा कुनै पनि दुर्घटना भएन ।

पुस मसान्तको विहान देवघाटधामका विभिन्न आश्रमहरुका पीठाधीशहरुको उस्थितिमा धार्मिक विधि अनुसार बेणी संगममा लिङ्गो गाडी माघे संक्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । वशिष्ठ, विश्वामित्र, जनक, सीता, जस्ता सयौं ऋषि महर्षि देवघाटमा आई तपस्या गरेका, रामले अश्वमेध यज्ञ लगाएका, सीताजी विलय भएकी, पाल्पाली राजा मणिमुकुन्द सेनले यही आएर तपस्या गरेका धार्मिक तथा ऐतिहासिक तथ्यहरुले पनि यस धार्मिक तीर्थस्थलको महत्व बढेको गलेश्वर आश्रमका पीठाधीश अनन्त विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजीले बताए । यस्तो महत्वपूर्ण पवित्र धार्मिक तीर्थ स्थलमा भक्तजनहरुको घुइँचो लाग्नु स्वाभाविक नै मानिने उनले बताए ।

देवघाट क्षेत्र विकास समितिले तीर्थ यात्रीहरुको यात्रा सरल, सहज, सुविधाजनक र सुरक्षित होस भन्ने उद्देश्यले चितवन, तनहूँ र नवलपुरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भरतपुर महानगरपालिकाका प्रमुख, अलायतको समन्वयमा पाँच सय भन्दा बढि सुरक्षाकर्मीहरु परिचालन गरेको थियो । तनहुँ र चितवन प्रशासनबाट करिब तिन सय सुरक्षाकर्मी र देवघाट क्षेत्र विकास समितिबाट १५० स्वयंसेवक परिचालन गरिएको बरालले बताए ।

मेलाको अवधिमा सवारी साधनहरु चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गरेको र फर्कदा देवघाट–बागेश्वरी हुदै आँपटारी भएर फर्कने व्यवस्था मिलाईएको थियो । साथै मुग्लीनतर्फबाट देवघाट आएका सवारी साधनहरुलाई दासढुङ्गाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र फर्कदा सोहि रुटबाट फर्कने व्यवस्था मिलाईएको थियो ।
त्रिशुली नदीको झोलुङ्गेपुल हजारौं भक्तजनले यात्रा गरेका थिए । सो पुलमा एकपटकमा एक सय जना यात्रु मात्र हिड्न दिने व्यवस्था मिलाईएको थियो । बैकल्पिक मार्गको रुपमा वेणीमा प्रशस्त मात्रामा डुङ्गाहरुको व्यवस्था गरिएको थियो । डुङ्गा तथा ¥याफ्टिङ्गबाट एकतर्फी भाडा ५० रुपैयाँ कायम गरिएको थियो ।

नुहाउँदा हुनसक्ने संभावित दुर्घटनालाई ध्यानमा राखी देवघाट क्षेत्र विकास समितिबाट आकस्मिक उद्धारका लागि २ बटा काठका स्थानीय डुङ्गामा रेडक्रसको झण्डा राखी उद्धार व्यवस्था मिलाईएको थियो भने ससस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरीनटार र नेपाली सेना, नयाँ सबुज गण भरतपुरबाट २÷२ वटा उद्धार याफ्टिङ्ग डुङ्गा ल्याईएको थियो ।












