तनहुँ । माघ ३
व्यास नगरपालिकाले आगामी माघ १६ गते सहिद दिवसको अवसरमा ‘आठौं व्यास नगर अल्ट्रा म्याराथन’ आयोजना गर्ने भएको छ । ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान ः व्यास नगरपालिकाको अभियान’ नारासहित आगामी माघ १६ गते व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानुङकोटबाट सुरु भइ व्यास नगरपालिका–८, सहिद गाउँ पुलिमराङ सम्मको अल्ट्रा म्याराथन गर्ने भएको हो ।



व्यास नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सो प्रतियोगिताको बारेमा जानकारी दिएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले व्यास नगरपालिकाले माघ १६ गते सहिद दिवसको अवसरमा अल्ट्रा म्याराथन गर्दै आएको छ ।
४४ किलोमिटर लामो उक्त दौड मानुङकोटबाट सुरु भई, अलैंचे, चापाघाट, अनसन चौतारी, सफासडक, भोर्लेटारचोक, बैरेनी, दुम्सी, कलेस्ती, पाथ्रा, सत्रसय, बानियाँडिही, बर्लाची, सोतीवेशी, बगुवा रिस्ती र बाहुन पोखरा हुँदै पुलिमराङ पुगेर टुङ्गिनेछ ।
पत्रकार सम्मेलनमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अल्ट्रा म्याराथन केवल खेलकुद प्रतियोगिता मात्र नभई सहिदको बलिदान स्मरण गर्ने र स्थानीय पहिचान उजागर गर्ने अभियान भएको बताए । उक्त प्रतियोगिताले मगर र गुरुङ समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्नुका साथै पर्यटन प्रवद्र्धन गरी स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि टेवा पुग्ने नगर प्रमुख न्यौपानेले विश्वास व्यक्त गरे ।
व्यास नगरपालिका वडा ६ का वडाध्यक्ष एवम् नगर खेलकुद विकास समितिका संयोजक जीवन गुरुङ कुमारले अल्ट्रा म्याराथनले व्यास नगरपालिकाका ग्रामीण बस्ती, धार्मिक स्थल र ऐतिहासिक क्षेत्रलाई एउटै सूत्रमा बाँध्ने काम गरेको बताए । उनका अनुसार मानुङकोटदेखि पुलिमराङसम्मको मार्ग आफैंमा पर्यटन सम्भावनाले भरिपूर्ण रहेको छ । यस प्रतियोगिताले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने छ ।
नगरपालिकाका सूचना अधिकारी तथा शिक्षा तथा खेलकुँद शाखाका प्रमुख केदारराज आचार्यले प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन सबै तयारी पूरा गरिएको जानकारी दिए । धावकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै विभिन्न स्थानमा चेकप्वाइन्ट, स्वयंसेवक, स्वास्थ्यकर्मी र प्राथमिक उपचार टोली परिचालन गरिने उनले बताउनु भयो । सहभागी धावकलाई आवश्यक सूचना, मार्ग निर्देशन र सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिइने नगरपालिकाको प्रतिबद्धता रहेको उनको भनाइ छ ।
प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट २ सय भन्दा बढी धावकहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः ८५ हजार ७७, ६५ हजार ७७ र ५५ हजार ७७ रुपियाँ नगद पुरस्कार प्रदान गरिने छ भने पाँच जना धावकलाई सान्त्वना पुरस्कार स्वरूप जनही १६ हजार ७७ रुपियाँ प्रदान गरिने छ ।












