बन्दीपुर अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३१४ जनाले निःशुल्क स्वास्थ्य सेवा लिए

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १६

बन्दीपुर गाउँपालिकाको आयोजनामा आज बन्दीपुर अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शुक्रबार कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज, चितवन) को प्राविधिक सहयोग तथा सृजनाचोक भेट्रान्स क्लब चितवनको समन्वयमा विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

शिविरमा ३१४ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्। शिविरमा विशेषगरी स्त्री तथा प्रसूति रोग, नशा तथा हाडजोर्नी रोग, यौन तथा छाला रोग, मानसिक रोग, बालरोग, दन्त, इन्टर्नल मेडिसिन, जनरल फिजिसियन लगायतका विशेषज्ञ सेवाहरू प्रदान गरिएको थियो। साथै रेडियोलोजिस्टद्वारा भिडियो एक्स–रे सेवा, एक्सरे सेवा, ईसीजी तथा विभिन्न प्रयोगशाला (ल्याब) परीक्षण सेवाहरू समेत गराइएको थियो।

शिविरमा ecg र ब्लड सुगर परीक्षण एवं औषधि निःशुल्क वितरण गरिएको थियो । साथै बन्दीपुरका विभिन्न स्थानबाट सेवाग्राहीका लागि निःशुल्क बस सेवा बन्दीपुर अस्पतालको वार्षिक प्रदान गरिएको बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरीले जानकारी दिनुभयो।

निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो।

उहाँले भन्नुभयो “ग्रामीण भेगका नागरिकहरूलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। आर्थिक अभाव वा भौगोलिक कठिनाइका कारण उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने हाम्रो चाहना हो। आगामी दिनमा पनि विशेषज्ञ सेवा सहितका स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइनेछ।”

अध्यक्ष थापाले शिविर सञ्चालनमा सहयोग गर्ने कलेज अफ मेडिकल साइन्स, सृजनाचोक भेट्टान्स क्लब चितवन, चिकित्सक टोली तथा बन्दीपुर अस्पताल परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो।

स्थानीयवासीहरूले आफ्नै क्षेत्रमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क उपचार सेवा पाउँदा खुसी व्यक्त गरेका छन्। शिविरले समयमै रोग पहिचान र उपचारमा सहयोग पुगेको उनीहरूको भनाइ छ।

शिविरमा सिर्जनाचोक भेट्टान्स क्लबका अध्यक्ष कलेज अफ मेडिकल साइन्सेसका विशेषज्ञ डाक्टरहरू स्वास्थ्य संस्थाका कर्मचारीहरू महिला स्वास्थ्य स्वयंसेविकाहरू र सरोकार वालाहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू