विष्णु मगर । देवघाट, माघ १७
देवघाट गाउँपालिका–२ खाल्टे स्थित आदर्श शिक्षा माविको ५५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । सो वार्षिकोत्सवको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरे ।



उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष थापाले आदर्श शिक्षा माविको शैक्षिक वातावरण राम्रो भएको भन्दै देवघाट गाउँपालिका भरि नै यस विद्यालय एसइईमा पहिलो हुन सफल भएको बताए । आदर्श शिक्षा माविको शैक्षिक गुणस्तर बृद्धिको लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु ल्याएको र सेवा सुविधाहरु प्नि प्रदान गर्दै आएको अध्यक्ष थापाले बताए ।

विद्यालयका प्रअ देउराम सारुले सो विद्यालयमा २०२७ साल देखि खरको छानावाट पढाइ सुरु गरिएको र आज सम्म आउदा पक्की भवनमा १९ वटा कक्षा कोठाहरु, १ कम्प्युटर ल्याव, १४ वटा ल्यापटप, २ वटा डिजिटल वोर्ड १ र डिस्प्ले हल एउटा र हरेक कक्षा कोठामा सिसि क्यामराको नगरानी रहेको सारुले बताए । गाउँका पढाइ राम्रो हुदैन भन्ने सोच राखी शहर झर्ने समयमा गाउँमा पनि राम्रो पढाइ हुँदै गएको उदाहरण आदर्श शिक्षा माविले दिएको प्रअ असारुले बताए । हाल विद्यालयमा ३ सय जना जना विद्यार्थी रहेको प्रअ सारुले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झलक मल्लको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङ, वडा नम्बर २ का अध्यक्ष मिनबहादुर राना मगर, शिक्षा तथा खेलकुँद शाखाका प्रमुख होमनाथ लामिछाने लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रमको सन्चालन विद्यालयका सहायक प्रअ हेमराज श्रेष्ठ र शिक्षक निर्मला सिग्देलले गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले विज्ञान प्रर्दशनी तथा विभिन्न सांस्कृतिक प्रर्दशनी गरेका थिए । उक्त अवसरमा एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।













