तनहुँ क्षेत्र नम्बर २ः एमालेको बिरासत फर्काउने अभियानमा सिग्देल

Devghat Online

शेयर गरौ

सिग्देल भन्छन्–जनतासँगको सुमधुर सम्बन्ध नै जितको आधार हो

तनहुँ । माघ १८

तनहुँको क्षेत्र नम्बर २ विगत देखी नै नेकपा एमालेको गढको रुपमा चिनिन्छ । २ नगरपालिका र ३ गाउँपालिका समावेश भएको उक्त क्षेत्रमा २०५१ साल र २०७९ सालको निर्वाचन बाहेक यस अघि भएका सबै निर्वाचनमा नेकपा एमालेले जित हात पार्दै आएको छ । यस अघि क्षेत्र नम्बर ३ भनिने उक्त क्षेत्र २०७४ मा राज्य पुनसंरचना पछि भने क्षेत्र नम्बर २ को रुपमा चिनिंदै आएको छ ।

उक्त क्षेत्रमा पर्ने पाँच स्थानीय तह मध्ये तिनवटा स्थानीय तहमा नेकपा एमालेको प्रमुख निर्वाचित भएका छन् । भिमाद नगरपालिका र घिरिङ गाउँपालिकामा प्रमुख र उपप्रमुख सहित कार्यपालिकामा र शुक्लागन्डकी नगरपालिकामा कार्यपालिकामा एमालेले जित हात पारेको थियो । त्यसैगरि म्याग्दे गाउँपालिकामा अध्यक्षमा एमालेले बिजय भएको थियो ।
नेपाली काँग्रेसले ऋषिङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित कार्यपालिका र म्याग्देमा उपाध्यक्ष सहित कार्यपालिका तथा शुक्लागन्डकी नगरपालिकामा गठबन्धनको बलमा प्रमुखमा नेपाली काँग्रेसले मेयरमा बिजयी भएको थियो भने उपमेयरमा नेकपा माओवादी केन्द्र बिजयी भएको थियो ।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा उक्त क्षेत्रमा को बिजयी बन्छ भनेर जिल्लाबासीमा चासो बढेको छ । २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजबादी (हालको नेपाली कम्युनिष्ट पार्टी) सँगको गठबन्धनको कारण नेपाली काँग्रेसका शंकर भण्डारी बिजयी भएका थिए । उक्त निर्वाचनमा भण्डारीले ३० हजार ६०४ मत पाएका थिए । दोश्रो स्थानमा रहेको नेकपा एमालेका किरण गुरुङले २५ हजार १३० मत पाएका थिए । त्यसैगरि तेश्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका बिजय जोशीले ५ हजार ३७३ र चौंथो स्थानमा रहेको राप्रपाका नरेन्द्र प्रताप महतले १ हजार ४२१ मत पाएका थिए । सो निर्वाचनमा प्रतक्ष्य तर्फ नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजबादीका उम्मेदवार थिएनन् । ति पार्टीले नेपाली काँग्रेसलाई सहयोग गरेको थियो ।

प्रतक्ष्य तर्फ गठबन्धनको बलमा नेपाली काँग्रेस बिजयी भएपनि समानुपातिक तर्फ भने नेकपा एमाले पहिलो दल बनेको थियो । समानुपातिक तर्फ एमालेले २२ हजार ८०४ र नेपाली काँग्रेसले २२ हजार २६३ मत पाएको थियो । त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीले १० हजार १२९, नेकपा माओवादी केन्द्रले ५ हजार २४७ र नेकपा एकिकृत समाजबादीले ४४४ मत पाएको थियो । २०७९ को प्रतक्ष्य र समानुपातिक तर्फको मत विश्लेषण गर्ने हो भने नेपाली काँग्रेसले माओवादी केन्द्र र नेकपा एकिकृत समाजबादीको मत पाएर बिजयी बनेको प्रष्ट देखिन्छ ।

अव फागुन २१ गते हुने निर्वाचनमा सबै राजनीतिक दल एक्लाएक्लै प्रतिश्पर्धा गरेको कारण कुन दलको अवस्था के भनेर प्रष्ट हुन्छ । यद्यपी उक्त क्षेत्रमा नेकपा एमाले सबैभन्दा बलियो अवस्थामा रहेको छ । यसअघि भएका निर्वाचन मध्ये २०५१ मा झिनो मतान्तरले र २०७९ को निर्वाचनमा गठबन्धनको कारण पराजित भोगेको एमालेले त्यसबाहेकका सबै निर्वाचनमा भने बिजय प्राप्त गर्दै आएको कारण उक्त क्षेत्रलाई एमालेलाई किल्लाको रुपमा लिने गरिएको छ ।

अहिले उक्त क्षेत्रमा एमालेबाट २०७४ को निर्वाचनमा बिजयी भएका सांसद तथा एमालेको केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज केदार सिग्देल उम्मेदवार बनेका छन् । सादा जिवन र उच्च बिचारका धनी सिग्देल तनहुँ क्षेत्र नम्बर २ का जनताको मनमनमा बस्न सफल भएका छन् । भिमाद नपा–१ किहुँ बोमा घर भएका सिग्देल पार्टीको कामबाट फुर्सद हुनासाथ आफ्नै गाउँमा खेती, किसानी र जनताको घरदैलोमा दुख सुख साट्दै गरेका भेटिन्छन् । उनी शहरीया तडक भडक जिवनशैलीबाट टाढै छन् । आफ्नै जनतासँगै सार्वजानिक यातयातमा सँधै भेटिन्छन् सिग्देल अनि खेतीबारीमा कृषकसँग पनि भेटिन्छन् सिग्देल ।

उनी सांसद भएको पाँच वर्षको अवधिमा तनहुँ क्षेत्र नम्बर २ मा विकास निर्माणको कामले तिब्रता पाएको थियो । भिमादबाट पाल्पाको रामपुर जोड्ने भिमकाली मार्ग कालोपत्र, भिमाद हुँदै भानुमती जाने भिम भैरव मार्ग कालोपत्र, कोत्रेबाट थप्रेक जाने सडक कालोपत्र पुरा भएको छ । साथै पाल्पाको गल्याङबाट तनहुँका घिरिङ, ऋषिङ, देवघाट हुँदै मुग्लिन–नारायणगढ सडकको गाइघाट जोड्ने रणनीतिक सडक पनि सिग्देलको अगुवाइमा निर्माण कार्य सुरु भएको छ । साथै घिरिङ गाउँपालिकाको कृष्णमार्ग कालोपत्रको लागि सिग्देलेको पहलमा संघीय सरकारबाट १० करोड रुपैयाँ बिजिनयोजन भएपनि ठेकेदारले विभिन्न कारणले मुद्धा हालेको कारण कालोपत्र गर्न अवरोध भएको थियो । ती बाहेक भिमादबाट ऋषिङ भिरकोट जाने सृङ्गमार्ग पनि मुद्धाको कारण निर्माण कार्य हालसम्म नै अवरुद्ध भएको छ ।

पुर्वाधारको विकास मात्रै नभएर शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा पनि सिग्देलले आफु सांसदको रुपमा रहँदा उल्लेखनिय कामहरु गरेका थिए । तिनै सिग्देल फेरी यसपटक क्षेत्र नम्बर २ मा एमालेको गुमेको बिरासत फर्काउन लागि परेका छन् । सिग्देल उम्मेदवार बनेर आएपछि गाउँ गाउँमा निश्क्रिय बसेका एमालेको कार्यकर्ता र समर्थकहरु जुर्मुराएको एमाले निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन परिचालन कमिटिका संयोजक राजेश्वर ढकालले बताए ।

सिग्देलले जनतासँगको सुमधुर सम्बन्ध नै जितको आधार भएको दाबी गरेका छन् । आफू टुरिष्ट उम्मेदवार नभएकाले जनताको समस्या र समाधानबारे जानकार रहेको उनको भनाइ छ । समस्या र समाधानसँग परिचित भएकाले विकास निर्माणसँगै शुसासनका निम्त्ति योगदान पु¥याउन सक्ने सिग्देलले बताए । ‘मैले मेरो क्षेत्रमा नजानेको, नचिनेको कुनै वडा छैन । म टुरिष्ट पनि होइन । म यहींको रैथाने आदिवासी हुँ । जो यहाँ पहिल्यैदेखि बसोबास गरेर काम गरेको छ राजनीतिक रुपमा आदिवासी हो म’, उनले भने, ‘त्यसैले मलाई सबै समस्या पहिचान छ । यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुराको पनि जानकारी छ । मैले यो क्षेत्रको विकास निर्माण र यो ठाउँको शुसासनका निम्त्ति योगदान गर्न सक्छु भन्ने नै मेरो मूल आधार हो ।’

नेता र कार्यकर्ताको मागबमोजिम उम्मेदवार बनेकोले जित्ने आधार पनि रहेको उनले सुनाए । ‘यहाँ धेरै कार्यकर्ताहरुले तपाईं जस्तै उम्मेदवार चाहिएको हो भनेर मलाई सुझाव पनि दिनुभाथ्यो । हाम्रा प्रतिस्पर्धी पार्टीका इमानदार मतदाता र कार्यकर्तालेसमेत हामी तपाईंको शैली, स्वभाव र योगदान देखेर प्रभावित छौं भनेर सुझाव पनि दिनुभयो’, सिग्देल भन्छन्, ‘त्यसले मलाई प्रेरणा दिएको छ । मेरो जीतको आधार जनतासँगको घनिष्ठ सम्बन्ध, यहाँको सबै जानकारी, अन्य राजनीतिक पार्टीका नेता कार्यकर्तासँगको सुमधुर सम्बन्ध नै जीतको आधार हो ।’

‘मेरो उम्मेदवारी हिजो ७४ सालदेखि गर्दा अधुरा कामलाई सम्पन्न गराउनुपर्नेछ । कतिपय नयाँ कामका निम्ति पनि जनताको भावना वा माग अनुसारका कामलाई नेतृत्व गर्नुपर्नेछ’, सिग्देलले भने, ‘नयाँ कामको थालनी गर्नका लागि पनि म कटिबद्ध भएर लाग्नेछु । यसको साथसाथै यस क्षेत्रमा गर्नुपर्ने कामका साथसाथै देशको सिंगो राजनीति अलिकति अलि जटिल ढंगबाट गुज्रिराखेको छ ।’

सिग्देल बाहेक उक्त क्षेत्रमा नेपाली काँग्रेसबाट पुर्व केन्द्रीय सदस्य शंकर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रीराम न्यौपाने, नेपाली कम्युनिष्ट पार्टीबाट सोमबहादुर थापा र राप्रपाबाट यामबहादुर खाँड ठकुरी उम्मेदवार बनेका छन् । नेपाली काँग्रेस र रास्वपाका उम्मेदवार क्षेत्र नम्बर २ का ‘टुरिष्ट उम्मेदवार’ हुन् । उनीहरु दुबै क्षेत्र नम्बर १ अन्तर्गत पर्ने भानु नगरपालिकाको स्थायी बासिन्दा हुन् । त्यसबाहेक अन्य पार्टीका उम्मेदवारहरु जनतामाझ खासै परिचित छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू