तनहुँ । माघ २२
बुधबार निधन भएका नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ तनहुँका पुर्व सल्लाहाकार शेष महम्मद हनिफ (गोरा) मियाँको विहिबार अन्त्येष्टि गरिएको छ । मियाँको धार्मिक परम्परा अनुसार व्यास नपा ४ मा रहेको मुस्लिम धर्मावलम्बीको कब्रस्थानमा दाहासंस्कार गरियो । शव यात्रामा ठुलो संख्यामा सर्वसाधरणको उपस्थिती रहेको थियो ।



यस अघि मियाँको शव उनको निवास व्यास नपा २ मा अन्तिम श्रद्धान्जलीकोलागि राखिएको थियो । सो क्रममा मियाँको छिमेकी, आफन्त, नातागोता, विभिन्न राजनीतिक दल, उद्योगी, व्यवसायी, सन्चारकर्मी लगायत वाक्लो संख्यामा उपस्थिती रहेको थियो । मियाँको पार्थिव शरिरमा नेपाली काँग्रेस र नेपाल प्रेस युनियनको छुट्टाछुट्टै झण्डा ओढाईएको थियो ।

पत्रकार मियाँको ६४ वर्षको उमेरमा बुधबार साँझ आफ्नै निवासमा निधन भएको थियो । मंगलबार दिउँसो व्यास नपा २ मेनरोड स्थित आफ्नै घरको कोठामा एक्कासी ढलेका मियाँलाई उपचारकोलागि तत्काल नजिकैको रत्नहरि अस्पतालमा लगिएको थियो । केही समयमै उनको थप उपचारकोलागि मणिपाल अस्पताल पोखरा पु¥याईएको थियो । उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार नआएपछि बुधबार दिउँसो घर ल्याइएकामा साँझ आफ्नै निवासमा मियाँको निधन भएको हो ।
मियाँको निधन प्रति नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले छुट्टाछुट्टै शोक विज्ञप्ति प्रकाशित गरेको छ । महासंघका पुर्व सल्लाहाकार तथा प्रेस युनियनका अध्यक्ष मियाँको निधन भएकोमा नेपाल पत्रकार महासंघ तनहुँ शाखा र नेपाल प्रेस युनियन तनहुँ शाखाले तिन दिनसम्म शोक मनाउने भएको छ । उक्त तिन दिन कुनै औपचारिक कार्यक्रम नगर्न नेपाल पत्रकार महासंघले पत्रकार सम्बद्ध संघ संस्थालाई अनुरोध गरेको छ ।
स्व. मियाँ लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै प्रेस स्वतन्त्रता, पेशागत हकहित र सामाजिक उत्तरदायित्वका पक्षमा दृढ रूपमा लागिरहेका थिए । उनकै नेतृत्वमा तनहुँमा फोटो पत्रकार महासंघ गठन भएको थियो । फोटो पत्रकारितामा विशेष रुची राख्ने मियाँले लामो समय उक्त संस्थाको नेतृत्व समेत गरे । मियाँ नेपाल पत्रकार महासंघ गन्डकी प्रदेश समितिको एक कार्यकाल सदस्य समेत भएका थिए । उनी पटक पटक नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद पनि भईसकेका थिए ।












