तनहुँ । माघ २५
नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार भगवती न्यौपानेले तनहुँ क्षेत्र नम्बर १ को विकास नगरेसम्म आफु नथाक्ने बताएकी छिन् । मतदातासँग भेटघाटकोलागि देवघाट गाउँपालिकाको ग्रामिण वडामा पुगेकी न्यौपानेले अव चुनाव पछि तनहुँ जिल्लाको विकासको नेतृत्व लिने भन्दै यो अभियानमा कहिल्यै नथाक्ने बताइन् ।



‘म थाकेको छैन, तनहुँको विकास नगरेसम्म थाक्दिन पनि’ न्यौपानेले भनिन् ‘पछिल्लो तिन वर्षमा तनहुँ जिल्लामा संघीय सरकारबाट खासै बजेट प्राप्त नभएको हुँदा यसपटक म चुनावी मैदानमा आएको हुँ ।’ अव विकासको नेतृत्व एमालेले लिने न्यौपानेले बताइन् ।

२०७४ देखी २०७९ को अवधिमा एमालेले तनहुँ क्षेत्र नम्बर १ मा बिजयी हुँदा केही काम भएपनि त्यसपछिको समयमा केही काम नभएको भन्दै उनले अव तनहुँको ग्रामिण वडालाई प्राथमिकतामा राखेर पुर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटनको विकास गर्नुपर्ने बताईन् । देवघाट गाउँपालिकाको वडा नम्बर २, ३ र ४ सुन्तला खेतीको लागि पकेट क्षेत्र रहेको हुँदा यहाँ कृषि पर्यटनको विकास गर्न सकिने उनले बताइन् ।

यी तिन वडाबाट बर्षेनी करोडौं मुल्य बराबरको सुन्तला उत्पादन हुने भएपनि सेती र त्रिशुली नदीमा मोटरेवल पुल नहुँदा ति सुन्तलाले उचित बजार नपाएको भन्दै न्यौपानेले अव एमालेको नेतृत्वमा ति नदीमा मोटरेबलु पुल निर्माण गरि त्यस क्षेत्रमा उत्पादित सुन्तला, अदुवा तथा खसी बोका बजारसम्म निर्यातमा सहजता ल्याउने बताइन् ।
यस क्षेत्रका जनताको प्रशासनीक सहजताकोलागि सराङघाटमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने आफुले निर्णय गरि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गर्दै गर्दा सरकारबाट हट्नु परेको भन्दै न्यौपानेले अव आफु सांसदमा निर्वाचित भएर गएपछि एक वर्ष भित्र सराङघाटमा इलाका प्रशासन कार्यालय स्थापनाको लागि लागिपर्ने बताइन् ।

न्यौपानेले अव हुने चुनाव कुनै नियमित चुनाव नभएर एक प्रकारको जनमत संग्रह जस्तै भएको बताइन् । अहिले केही अराजक र बिध्वंशकारी तत्वहरुले देश नै सकाउने हिसाबले आएको भन्दै त्यस्तो तत्वलाई चुनाव मार्फत परास्त गर्नुपर्ने उनले बताइन् । राष्ट्रिय राजनीति तर्फ इङ्गित गर्दै उनले भनिन् ‘अहिलेको अवस्था भनेको एक जना सांसद छान्ने मात्र हैन, यो देश जोगाउने की देश बिनास गर्ने भन्ने एकप्रकारको जनमत संग्रह पनि हो ।’
देशलाई विखण्डनकारी र बिध्वंशकारीहरुबाट बचाउनको लागि यसपटक एमालेलाई जिताउनुपर्ने न्यौपानेले बताइन् । देशको स्वाधिनता र स्वाभिमान बचाउन पनि एमालेलाई जिताउनु पर्ने न्यौपानेले बताइन् । न्यौपानेले यो चुनाव देश जोगाउने र देश जलाउनेहरुको विच भएको भन्दै देश जोगाउनेहरुले बिजय प्राप्त गर्नुपर्ने बताइन् ।

२०८४ मा हुनुपर्ने चुनाव धेरै षड्यन्त्र गरि २०८२ मै सारिएको भन्दै उनले राष्ट्रिय स्वाधिनता र स्वाभिमानका पक्षधरहरु एकजुट भई सबै षड्यन्त्रलाई परास्त गर्नुपर्ने बताइन् । पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग गरि नेकपा एमाले र यसको नेतृत्व प्रति चौतर्फी आक्रमण भएको भन्दै न्यौपानेले बिदेशीबाट परिचालित यी नयाँ भन्नेहरुले जिते भने एक वर्ष भित्र देशमा अनिष्ट हुने बताइन् । जसले राजनीति बुझेको छैन, जसको केही अस्तित्व छैन ती व्यक्तिहरु भाइरलको नाममा चुनावमा आएको भन्दै त्यस्ता तत्वले जितेमा देशको अस्तित्व नै खतरामा पर्ने उनको भनाई थियो । ५३ दिन मन्त्री हुँदा ९ वटा सहासिक निर्णय गरेको भन्दै उनले उक्त समय गौरवपुर्ण समय भएको बताइन् ।
उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल, देवघाट गाउँ कमिटिका अध्यक्ष भिमबहादुर गुरुङ लगायत नेताहरुको उपस्थिती रहेको थियो ।












