तनहुँ । फागुन १
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्य सम्पादन मुल्यांकनको नतिजा सार्वजानिक गरेको छ । आयोगले विहिबार आर्थिक वर्ष २०८१/०८२ को देशभरका स्थानीय तहको कार्यसम्पादन मुल्यांकनको नतिजा सार्वजानिक गरेको हो ।
नजिता अनुसार तनहुँका १० स्थानीय तह मध्ये भानु नगरपालिका प्रथम भएको छ । भानु नगरपालिकाले ६६.६१ अंक प्राप्त गरेको छ । त्यसैगरि म्याग्दे गाउँपालिका ६६.५४ अंक प्राप्त गरि दोश्रो भएको छ ।




त्यसैगरि नतिजा अनुसार क्रमशः आबुँखैरेनी गाउँपालिकाले ६२.१०, भिमाद नगरपालिकाले ५८.२४, ऋषिङ गाउँपालिकाले ५६.९५, बन्दीपुर गाउँपालिकाले ५६.१२, शुक्लागन्डकी नगरपालिकाले ५४.८० अंक प्राप्त गरेको छ । त्यसैगरि देवघाट गाउँपालिकाले ५३.७८ अंक, घिरिङ गाउँपालिकाले ५२.८७ र व्यास नगरपालिकाले सबैभन्दा कम ४८.३८ अंक प्राप्त गरेको छ ।

आयोगले स्थानीय तहमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको उल्लेख छ । यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको समेत मूल्यांकनको सूचक मानिएको छ ।

त्यस्तै आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलाई समेत सूचक मानिएको छ । यसबाहेक राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा, खोप लगाएका बालबालिकाको अनुपात समेत आयोगले मूल्यांकनका आधार मानिएको छ ।












