तनहुँ । फागुन २०
व्यास नपा २ स्थित सत्यवती मावि मतदान केन्द्रको ख नम्बर मतदान केन्द्रलाई महिला कर्मचारी मात्रै रहेको ‘नमुना मतदान केन्द्र’ का रूपमा सञ्चालन गरिने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदरमुकाम दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको ‘ख’ मतदान केन्द्रलाई नमुनाका रूपमा विकास गर्दै त्यहाँको सम्पूर्ण जिम्मेवारी महिला जनशक्तिलाई सुम्पेको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार यस केन्द्रमा खटिने मतदान अधिकृतदेखि सुरक्षाकर्मीसम्म सबै महिला नै रहनेछन् ।



जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार ९८० जना मतदाता रहेको यस विशेष केन्द्रको मतदाता अधिकृतमा जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत सिर्जना रेग्मी रहेकी छिन् । मतदान प्रक्रियालाई थप व्यवस्थित, मर्यादित र उदाहरणीय बनाउने उद्देश्यले उक्त मतदान केन्द्रलाई नमुनाका रूपमा छनोट गरिएको हो । नमुना केन्द्रकी मतदान अधिकृत रेग्मीले आफूलाई दिइएको यो जिम्मेवारीलाई निष्पक्ष र प्रभावकारी रूपमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

यसैगरि क्षेत्र नम्बर २ अन्तर्गत शुक्लागन्डकी नगरपालिका वडा नम्बर ९ स्थित हिमाली आधारभुत विध्यालय ख को मतदान केन्द्र महिलाको पूर्ण नेतृत्वमा सञ्चालन हुने भएको छ । मतदान केन्द्रमा महिलाकै नेतृत्व र महिलाकै टिम खटिएको हो । सो मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा शुशिला विक रहेकी छन् । सहायक मतदान अधिकृत तथा कर्मचारीमा भिम कुमारी श्रेष्ठ, रोजिना परियार, मञ्जु मल्ल, सरिता श्रेष्ठ र मालती रानाभाट खटिएका छन् । उक्त केन्द्रलाई महिलामैत्री अवधारणाअनुसार व्यवस्थापन गरिएको जनाइएको छ ।












