तनहुँ । फागुन २०
विहिबार प्रतिनिधि सभाको निर्वाचन हुने भएको छ । देशैभर एकै चरणमा निर्वाचन हुन लागेको हो । निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । विहिबार विहान ७ बजेदेखी साँझ ५ बजेसम्म मतदान हुनेछ । यसपटक प्रतक्ष्य र समानुपातिक तर्फ दुईवटा मतपत्रमा मतदान हुनेछ ।




तनहुँमा निर्वाचनको सबै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान कार्यको लागि तोकिएका मतदान अधिकृत लगायत कर्मचारीहरु सोमबारदेखी नै मतदान केन्द्रमा खटिएका छन् । मतदान कार्यलाई स्वच्छ, निश्पक्ष, भयरहित र निर्वाधरुपमा सम्पन्न गर्न उक्त स्थानमा क्रियाशिल सबै राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितीमा सर्बदलीय बैठक राखी मतदान स्थल निर्माण गरिएको, निषेधित क्षेत्र तोकिएको र स्वयंसेवक खटाईएको मतदान अधिकृतहरुले जानकारी दिएका छन् ।
संवैधानिक हकको रूपमा रहेको नागरिकको मताधिकारलाई सहज बनाउन स्थानीय थप आचारसंहिता निर्माण, जिम्मेवारी लगायत विभिन्न निर्णयहरू भएको भानु नपा–११ स्थित त्रिभुवन मावि मतदात केन्द्रका मतदान अधिकृत ध्रुवराज पौडेलले जानकारी दिए ।

मतदाता नामावलीमा नाम भएका १८ बर्ष उमेर पुगेका नेपाली नागरिकहरु मतदानमा भाग लिन पाउनेछन् । निर्वाचन आयोगका अनुसार अन्तिम मतदाता नामालीमा नाम भएका मतदाताले मतदानमा भाग लिन आउँदा निर्वाचन आयोगबाट जारी भएको फोटो सहितको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा जग्गाधनी प्रमाणपुर्जा, राहदानी तथा सवारी चालक अनुमतीपत्र मध्ये कुनै एकको सक्कल नै लिएर आउनु पर्ने हुन्छ ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका मतदाता, बालबालिका सहितका महिलाहरुलाई लाइनमा बस्न नपर्ने गरी सहज तरिकाले मतदानमा सहभागी हुने व्यवस्था गरिएको उनले बताए । मतदान सम्पन्न भएपछी नजिकका मतदान केन्द्रबाट तुरुन्तै मतपेटिका संकलन गरी ल्याइने र टाढाका केन्द्रबाट १२ बजेसम्म मतपेटिका ल्याईसक्ने गरी तयारी भएको बताइएको छ ।
तनहुँका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्याय, प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी र जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले निर्वाचनको तयारी पुरा भएको र सुरक्षा व्यवस्था कडाई गरिएको हुँदा ढुक्क भएर मतदान कार्यमा भाग लिन आम मतदातालाई आह्वान गरेका छन् ।












