तनहुँ । फागुन २१
प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत विहिबार तनहुँमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखी मतदान कार्य भएको थियो । मतदानको क्रममा कुनै पनि स्थानमा अवरोध भएन ।



२ लाख ५४ हजार ३९७ जना मतदाता रहेको तनहुँमा ५१.७४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले तनहुँले जनाएको छ ।
तनहुँको क्षेत्र नम्बर १ मा पुरुष ६१ हजार ७७८ र महिला ६५ हजार १०४ गरि १ लाख २६ हजार ८८२ जना र क्षेत्र नम्बर २ मा पुरुष ६१ हजार ७१३ र महिला ६५ हजार ८०२ गरि १ लाख २७ हजार ५१५ मतदाता रहेका थिए ।

यसअघि २०७९ मंसिर ५ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा तनहुँमा ५४ प्रतिशत मत खसेको थियो ।
मतदान कार्यको लागि तनहुँका २ निर्वाचन क्षेत्रमा २ अस्थायी सहित १४४ मतदान स्थल र ३११ वटा मतदान केन्द्र तय गरिएको थियो । २ वटा अस्थायी मतदान केन्द्रहरु मध्ये जिल्ला कृषि विकास कार्यालयमा अस्थायी नामावली भएका मतदाताहरु (सरकारी तथा संस्थानका कर्मचारी) ले मतदान गरेका थिए भने कारागारमा कैदी/बन्दीहरुले मतदान गरेका थिए ।

मतदाता नामावलीमा नाम भएका १८ बर्ष उमेर पुगेका नेपाली नागरिकहरु मतदानमा भाग लिएका थिए । निर्वाचन आयोगबाट जारी भएको फोटो सहितको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा जग्गाधनी प्रमाणपुर्जा, राहदानी तथा सवारी चालक अनुमतीपत्र मध्ये कुनै एकको सक्कलले मतदान गर्न दिईएको थियो । ज्येष्ठ नागरिक, अपाङ्गता भएका मतदाता, बालबालिका सहितका महिलाहरुलाई लाइनमा बस्न नपर्ने गरी सहज तरिकाले मतदानमा सहभागी हुने व्यवस्था गरिएको थियो ।












