तनहुँ । फागुन २३
प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत तनहुँको दुबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । मतगणना अनुसार तनहुँको दुबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले सानदार जित हात पारेका छन् । प्रतिश्पर्धी दल नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारहरुलाई निकै पछाडी पार्दै तनहुँको दुबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार बिजयी भएका हुन् ।



तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाका उपसभापती डा.स्वर्णिम वाग्ले ३८ हजार ४० मतका साथ बिजयी भए । उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका गोविन्द भट्टराई १६ हजार २३१ मतमा सिमित भए । स्वर्णिम र गोविन्दको मतान्तर २१ हजार ८०९ रहेको छ । पुर्व मन्त्री समेत रहेकी नेकपा एमालेकी उम्मेदवार भगवती न्यौपानेले ५ हजार ८३० मत ल्याइन् । कुल सदरमतको १० प्रतिशत पनि ल्याउन नसकेपछि एमाले उम्मेदवार न्यौपानेको जमानत जफत भयो ।

६८ हजार १४९ मत खसेको तनहुँ १ मा २ हजार ७३० मत बदर भई ६५ हजार ४१९ मत सदर भएको थियो । मत परिणाम अनुसार काँग्रेस बाहेकका सबै उम्मेदवारको जमानत जफत भयो । मत परिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीका विद्या ढकालले २३९३, श्रम संस्कृती पार्टीका काशिराम गुरुङले ९६७ राप्रपाका रामदत्त जोशीले ८२६, उज्यालो नेपालका मन्जिल रानाले ५०८, मंगोल नेशनल अर्गनाईजेशनका प्रेमबहादुर थापाले १७०, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का ओमविक्रम पन्तले ११२, नेपाल जनमुक्ती पार्टीका यामबहादुर आलेले ७६, नेपाल मजदुर किसान पार्टीका रामलक्ष्मी दुवालले २९, नेशनल रिपब्लीक नेपालका सुमन थापा मगरले २३ र आम जनता पार्टीकी चिजामाया अधिकारीले १० मत पाइन् । त्यसैगरि स्वतन्त्र उम्मेदवारहरु दिपकराज जोशीले ११३, सन्देश रानाभाट लौडारीले ७३ र लेखनाथ खनालले १८ मत पाएका थिए ।
यसैगरि तनहुँ क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीराम न्यौपाने भारी मतान्तर सहित बिजयी भएका छन् । शनिबार राती सार्वजानिक भएको अन्तिम मत परिणाम अनुसार न्यौपाने ३२ हजार ६८७ मत पाई बिजयी भएका हुन् । न्यौपानेको निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका शंकर भण्डारीले १४ हजार १३५ मत पाएका छन् ।

त्यसैगरि तेश्रो स्थानमा रहेका नेकपा एमालेका केदार सिग्देलले ११ हजार ६६७ मत पाएका छन् । त्यसैगरि नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापाले १९५३ मत र राप्रपाका यामबहादुर ठकुरीले १११७ मत पाए । अन्य उम्मेदवारले हजार मत कटाउन सकेनन् । ६६ हजार ६९८ मत खसेको उक्त क्षेत्रमा ६२ हजार ५७९ मत सदर भएको थियो भने । काँग्रेस र एमालेका बाहेक अन्य उम्मेदवारहरुले जमानत समेत जोगाउन सकेनन् ।
तनहुँ क्षेत्र नम्बर २ लाई नेकपा एमालेको गढको रुपमा चिनिन्थ्यो । एमालेको उक्त गढलाई २०७४ मा काँग्रेसका शंकर भण्डारीले भत्काईदिएका थिए भने यसपटक रास्वपाका न्यौपानेले छिन्नभिन्न बनाईदिएका छन् । २०७९ को निर्वाचनमा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका भण्डारीले ३० हजार ६०४ मत पाई बिजयी भएका थिए । नेकपा एमालेका किरण गुरुङले २५ हजार १३० मत र रास्वपाका बिजय जोशीले ५३७३ मत पाएका थिए ।












