पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २३

तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका छन् । उनीहरुले सामाजिक सन्जाल मार्फत बिजयी भएका सांसदहरुलाई बधाई तथा शुभकामना दिएका हुन् ।

तनहुँ क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आफ्नो हार स्वीकार गर्दै मतदाताप्रति आभार व्यक्त गरेका छन् । निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै भट्टराईले आफूलाई मतदान गर्ने तथा चुनावी अभियानमा साथ दिने सबैलाई धन्यवाद दिए ।

भट्टराईले निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि आफू जनताको सेवाबाट टाढा नहुने स्पष्ट पारेका छन् । उनले मत दिने र नदिने सम्पूर्ण तनहुँवासीको दुःखसुखको साथी बनिरहने प्रतिबद्धता समेत जनाए । नतिजा प्रतिकूल रहे पनि यसले आफ्नो र जनताबीचको सम्बन्धलाई कमजोर नबनाउने उनको भनाइ छ ।

भट्टराईले विजयी उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । साथै चुनावी यात्रामा अहोरात्र खटिने पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक र आफूप्रति सद्भाव राख्ने सबैलाई कृतज्ञता ज्ञापन गर्नुभएको छ ।

यसैगरि नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ की उम्मेदवार भगवती न्यौपानेले निर्वाचनको हार–जितले आफ्नो सामाजिक रूपान्तरणको मार्ग परिवर्तन नहुने बताएकी छिन् । निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै आफ्नो धारणा सार्वजनिक गर्दै उनले अपेक्षित नतिजा प्राप्त नभए पनि जनताको सेवा गर्ने संकल्प अझ बलियो भएको बताइन् ।

न्यौपानेले नवनिर्वाचित सांसद वाग्लेलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिन् । साथै आफ्नो चुनावी अभियानमा अहोरात्र खटिने पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरू प्रति आभार व्यक्त गर्दै न्यौपानेले भनिन् ‘निर्वाचनमा सहयोद्धा कमरेडहरू र मप्रति विश्वास प्रकट गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूको माया र भरोसा नै मेरो सबैभन्दा ठूलो शक्ति हो । समाज परिवर्तनको यात्रा लामो हुन्छ र एउटा निर्वाचनको परिणामले हाम्रो गन्तव्य रोकिँदैन ।’

उनले सामाजिक न्याय, आर्थिक रूपान्तरण र राष्ट्रहितका लागि आफू अझ दृढतापूर्वक लागिरहने प्रतिबद्धता समेत जनाएकी छिन् । निर्वाचनमा खटिने राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूलाई धन्यवाद दिँदै उनले सम्पूर्ण पार्टी पंक्तिलाई धैर्यता र उच्च मनोबलका साथ अघि बढ्न आग्रह गरेकी छिन् ।

यसैगरि क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवार केदार सिग्देलले निर्वाचनको परिणामलाई सहज रूपमा स्वीकार गर्दै जनताको फैसला सर्वोपरि हुने बताएका छन् । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा र परिणाम आफ्नो पक्षमा नआउने निश्चित भएपछि सिग्देलले एक सन्देश जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

सिग्देलले यस क्षेत्रबाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीराम न्यौपानेलाई अग्रिम बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । आफ्नो सन्देशमा सिग्देलले भनेका छन्, ‘निर्वाचनमा हार–जित स्वाभाविक प्रक्रिया हो, यसपटकको परिणाम अपेक्षित रहेन । तर लोकतन्त्रमा जनताको फैसला नै अन्तिम सत्य हो, म यस जनादेशप्रति पूर्ण सम्मान प्रकट गर्दछु ।’ उनले कठिन परिस्थितिमा पनि अहोरात्र खटिने पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूप्रति आभार व्यक्त गर्दै उनीहरूको त्यागले आफूलाई भावुक र थप प्रेरित बनाएको बताए ।

निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराएकोमा मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकाय, कर्मचारी, नागरिक समाज र पत्रकारहरूलाई सिग्देलले धन्यवाद दिएका छन् । ‘समय र परिस्थितिलाई अनुकूलतामा रूपान्तरण गर्दै निस्वार्थ रूपमा हरपल जनताको सेवामा समर्पित भइरहने सङ्कल्प गर्दछु’ उनले भने ‘मतदाताहरूले म प्रति देखाएको विश्वास र मायाप्रति आफू सधैँ ऋणी रहने छु ।’

यसैगरि नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर भण्डारीले आफ्ना प्रतिष्पर्धी तथा निर्वाचनमा बिजय सुनिश्चित भएका रास्वपा उम्मेदवार श्रीराम न्यौपानेलाई बधाई दिएका छन । उनले मतगणना स्थलमा आएर प्रतिष्पर्धीलाई बधाई र निर्वाचन सम्पन्न गर्न सहयोग पु¥याउने कर्मचारीहरुलाई धन्यवाद दिदै जनताको मत स्विकार गर्ने बताए । उनले आफ्नो कार्यकालमा सुरु भएका योजनाहरुलाई पनि समेट्न आग्रह गर्दै तनहुँ २ को बिकासमा सधै प्रतिबद्ध भएर लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय