काठमाडौं । जेठ १५
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा भएको बताएका छन् । राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।



‘गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ, यसले हामीलाई समुन्नत भविष्यका लागि एकतावद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ, यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने संकल्पका लागि अभिप्रेरित गरेको छ, किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमीको स्वामित्व दिएको छ, त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा हो’, उनले भने ।
उनले म आशा गर्छु कि गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ सम्बृद्ध बनाउन हामी सबै राजनीतिक निष्ठा, मूल्यमान्यता एवम् आचरणमा परिवर्तनसहित एकतावद्ध भएर लाग्नेछौं भने । राष्ट्रपति पौडेलले गणतन्त्र फगत एक व्यवस्था होइन, यो आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि हो भने ।
‘यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई विर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौ, आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र सम्वृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम् र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आवद्ध गर्न प्रेरणा देओस्”, उनले भने ।
मुलुकमा उत्पन्न विषम परिस्थितिको निकासका लागि भएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको र यसले जनताको चाहनाअनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रुपमा अगाडि बढाउने निर्णय गरेको उनले उल्लेख गरे । साथै, उनले शासकीय सुधारका एक सय कार्यसूचिलाई पूर्ण कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र, तौलरहित व्यापारको निमित्त संरचनागत र कानूनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने विश्वास व्यक्त गरे ।
’हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षाहरू पूरा हँुंदैनन्, यसका लागि हाम्रो राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ, अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन’, राष्ट्रपति पौडेलले भने ।
उनले आज हाम्रो सबैभन्दा ठूलो शत्रु अरु कोही होइन, ढिलासुस्ती, अनियमितता र वेथिति भएको बताए । उनले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकहरूलाई यीनै वेथितिहरूले निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्दछ भन्नेमा जोड दिए । ‘जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँंग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पुरा हुँदैन’, राष्ट्रपति पौडेलले भने ।
उनले आज नागरिकले सुशासनसहितको सम्बृद्धि खोजेका छन् भन्दै यसका लागि हाम्रा स्रोतहरूको उच्चतम् प्रयोग गर्न आवश्यक भएको बताए । उनले अनि मात्र हामी हाम्रो कृषि, पर्यटन, उर्जालगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौ भने । ‘अनि मात्र आर्थिक विकास र सम्बृद्धिबाट शासन व्यवस्थालाई हामी नागरिकको जीवनसँग जोड्न सक्छौं, यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो, यो अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ, म आशा गर्छु हामी यो दायित्वलाई बिर्सने छैनौ’, राष्ट्रपति पौडेलले भने ।
राजनीतिक उपलब्धिहरू मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन भन्दै उनले हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ र हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने धारणा व्यक्त गरे । ‘गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु’, उनले भने ।
राष्ट्रपति पौडेलले अब हामीले प्राप्त उपलब्धीलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्दछ भने साथै, हामीले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक सम्बृद्धि सुनिश्चित गर्नुपर्नेमा जोड दिए । ‘हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनैपर्दछ, हाम्रा शासकीय संरचना र राज्यअंगहरूलाई गतिशील र परिणाममुखी बनाउनै पर्दछ, हामीले सशासनको प्रत्याभूति दिनै पर्दछ’, उनले भने ।
हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले अधिकारका विभिन्न प्रकार उल्लेख गरेपनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्र्तय भएको धारणा व्यक्त गरे ।












