पर्यटनसँगै समृद्धि जोड्ने लक्ष्यः चक्रवर्ती सामुदायिक वनद्वारा भ्यु टावर निर्माण तीव्र

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, जेठ १९

देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै पर्यटन प्रवद्र्धन र स्थानीय आर्थिक विकासलाई जोड्ने उद्देश्यसहित भ्यु टावर निर्माण कार्यलाई तीव्र रूपमा अगाडि बढाएको छ ।

‘जंगल जोगियो भने प्रकृति बच्छ, प्रकृति बच्यो भने पर्यटन बढ्छ, र पर्यटन बढ्यो भने गाउँ समृद्ध बन्छ’ भन्ने मुल नाराका साथ चक्रवर्ती सामुदायिक वनले आफ्नो जङ्गलमा भ्यु टावर निर्माण गरेको अध्यक्ष डिल बहादुर गुरुङले बताए । उनले भ्यु टावर केवल एउटा संरचना नभई गाउँको भविष्यसँग जोडिएको योजना भएको बताए । ‘यो टावरले पर्यटक तान्ने मात्रै होइन, गाउँको पहिचान, सम्भावना र आर्थिक समृद्धिको ढोका खोल्ने काम गर्नेछ’, उनले भने ।

उनका अनुसार निर्माण सम्पन्न भएपछि उक्त क्षेत्रलाई थप व्यवस्थित गर्दै पर्यटकमैत्री पूर्वाधार विस्तार गरिनेछ । स्थानीय तह तथा सरोकारवाला निकायसँग सहकार्य गरी यस क्षेत्रलाई दीर्घकालीन पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

सामुदायिक वन समुहका सचिव प्रेम थापाले भ्यु टावरलाई गाउँको सम्भावना उजागर गर्ने अभियानको रूपमा लिएको उनले बताए । ‘पहिला सामुदायिक वनलाई केवल जंगल जोगाउने थलोका रूपमा हेरिन्थ्यो, तर अब वनले गाउँको अर्थतन्त्र चलाउने आधार बन्नुपर्छ’ उनले भने, ‘संरक्षणसँगै पर्यटन, उत्पादन र आयआर्जन जोड्न सके मात्र सामुदायिक वनको वास्तविक अर्थ स्थापित हुन्छ ।’

थापाका अनुसार भ्यु टावर निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने, स्थानीय व्यापार चलायमान हुने तथा युवाहरूलाई आफ्नै गाउँमा सम्भावना खोज्न प्रेरणा मिल्ने विश्वास गरिएको छ । ‘गाउँमा अवसर नदेखेर बाहिरिन बाध्य युवालाई आफ्नै ठाउँमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास दिन पनि यस्ता योजनाले ठूलो भूमिका खेल्छ’ उनले बताए । उनले वन केवल हरियालीको नाम मात्र नभई दूरदृष्टिका साथ उपयोग गर्न सकिए गाउँको भविष्य बदल्ने शक्ति भएको उल्लेख गरे ।

निर्माणाधीन भ्यु टावरबाट आसपासका डाँडाकाँडा, गाउँबस्ती तथा मनोरम प्राकृतिक दृश्यावलोकन गर्न सकिने भएकाले यसले देवघाट क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको थापाले बताए । सामुदायिक वन अब केवल रुख संरक्षणमा सीमित नभई प्रकृतिलाई अवसर, रोजगारी र आयआर्जनसँग जोड्ने नयाँ सोचका साथ अघि बढिरहेको थापाले बताए ।

स्थानीयवासीका अनुसार यस्ता योजनाले वन संरक्षणप्रति नागरिकको अपनत्व बढाउनुका साथै गाउँमै रोजगारी, व्यवसाय र पर्यटनको सम्भावना विस्तार गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुग्धवर्धक जडीबुटी तथा आयुर्वेदिक औषधि प्रवद्र्धन कार्यक्रम सम्पन्न

तनहुँ । जेठ १८ प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँको आयोजनामा स्तनपान गराउने आमाहरूका लागि मातृ–शिशु स्वास्थ्य

म्याग्दे र गुल्मीको चन्द्रकोट गाउँपालिकाविच असल अभ्यास सम्बन्धि अनुभव आदान प्रदान

तनहुँ । जेठ १८ तनहुँको म्याग्दे गाउँपालिका र गुल्मीको चन्द्रकोट गाउँपालिका विच पालिकाको असल अभ्यास