तनहुँ । असार ९
नेपाल मगर संघ केन्द्रीय समितिका नवनिर्वाचित उप–महासचिव सिद्ध बहादुर थापा (सिद्धान्त) ले आफ्नो कार्यकाललाई मगर समुदायको पहिचान, भाषा, संस्कृति तथा संगठन सुदृढीकरणमा केन्द्रित गर्दै १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएपछि हालै सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा थापाले मगरात सभ्यता सहितको समृद्ध मगर समाज निर्माणका लागि योजनाबद्ध रूपमा काम गर्ने बताएका छन् ।



थापाले आफ्नो प्रमुख प्रतिबद्धतामा मगरात सभ्यता सहितको समृद्ध मगर समाज निर्माण गर्ने दीर्घकालीन गुरुयोजनालाई केन्द्रमा राखेर काम गर्ने, मगर समाजको इतिहास, पहिचान र संगठनलाई वर्तमानसँग जोड्दै भविष्यको मार्गचित्र निर्माण गर्न सक्रिय रहने तथा नेपालका प्रथम सहिद लखन थापा मगरको नाममा सांस्कृतिक संग्रहालय निर्माण अभियानलाई सशक्त रूपमा अघि बढाउने जनाएका छन् ।
त्यस्तै सचेत, संगठित, संघर्षशील र समृद्ध मगर संघ निर्माणका लागि आधारभूत भूमिका निर्वाह गर्ने, ‘जहाँ मगर, त्यहाँ नेपाल मगर संघ’ भन्ने अवधारणाअनुसार संगठन विस्तार र सुदृढीकरणमा विशेष जोड दिने, मगर समुदायको चेतना अभिवृद्धि, नेतृत्व विकास तथा ऐतिहासिक र सांस्कृतिक पहिचान संरक्षणमा निरन्तर क्रियाशील रहने तथा आदिवासी जनजातिको अधिकार, सांस्कृतिक अस्तित्व, भाषिक विविधता, समावेशी प्रतिनिधित्व तथा पहिचानका विषयमा नीतिगत बहसमा सक्रिय भूमिका खेल्ने थापाको प्रतिबद्धता छ ।
उपमहासचिव थापाले मगर समुदायको उत्थानमा योगदान पु¥याउने दिवंगत अग्रजप्रति सम्मान र वर्तमान नेतृत्व तथा अग्रज व्यक्तित्वहरूप्रति उच्च आदर कायम राख्ने, मगर भाषा र लिपिलाई सरकारी कामकाजमा कार्यान्वयन गराउन आवश्यक पहल, सहजीकरण र दबाबमूलक भूमिका निर्वाह गर्ने, आगामी १४ औँ राष्ट्रिय महाधिवेशन प्यानलरहित, राजनीतिक प्रभावरहित र स्वच्छ प्रतिस्पर्धाका आधारमा सम्पन्न गराउन नेतृत्वको ध्यानाकर्षण गरिरहने भन्दै थापाले प्रतिबद्धता पत्रमा आफूलाई उप–महासचिवको जिम्मेवारीमा पु¥याउने सम्पूर्ण प्रतिनिधि, शुभेच्छुक तथा नेतृत्वप्रति आभार व्यक्त गरेका छन् । उनले आगामी चार वर्षे कार्यकाललाई नेपाल मगर संघ र समग्र मगर समुदायका लागि उपलब्धिमूलक, रचनात्मक तथा ऐतिहासिक बनाउने संकल्पसमेत व्यक्त गरेका छन् ।












