सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार ९

तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै सबैभन्दा ठूलो तथा आकर्षक प्राकृतिक गुफामध्ये एक मानिन्छ । समुद्री सतहबाट करिब ६५० मिटर उचाइमा रहेको सिद्ध गुफासम्म पुग्न सडकबाट झण्डै ५० मिनेटको पैदल यात्रा गर्नुपर्छ । उकालो बाटो हिँड्दा पसिनाले शरीर भिजे पनि गुफाको मुखमा पुग्नेबित्तिकै भित्रबाट आउने शीतल हावाले सम्पूर्ण थकान बिर्साइदिन्छ । यही अनुभव नै पर्यटकका लागि पहिलो रोमाञ्चक स्वागत हो ।

सिद्ध गुफाको अर्को विशेषता यसको प्राकृतिक तापक्रम सन्तुलन हो । जाडोमा न्यानो र गर्मीमा चिसो हावा आउने अद्भुत गुणले यहाँ पुग्ने जो–कोहीलाई प्रकृतिको रहस्यबारे सोच्न बाध्य बनाउँछ । करिब ४३७ मिटर लम्बाइ र ९६ मिटर उचाइ रहेको यस विशाल गुफाभित्र प्रवेश गरेपछि मानिस आफैलाई अर्को संसारमा पुगेको अनुभूति गर्छ । छानाबाट झुन्डिएका स्ट्यालेक्टाइट र भुइँबाट माथि उठेका स्ट्यालेग्माइट संरचनाहरू हजारौँ वर्षको प्राकृतिक प्रक्रियाले निर्माण गरेका जीवित कलाकृति हुन् । प्रकृतिले कुनै मूर्तिकारबिनै सिर्जना गरेका यी आकृतिहरू मानव कल्पनाभन्दा परका लाग्छन् ।

गुफाभित्र सिद्ध बाबाको स्वरूप, गणेशजस्तो आकृति, शिवलिङ्ग, हात्तीको टाउको, सिंहको मुख, उल्टो झुन्डिएको कुखुरा तथा विभिन्न देवी–देवतासँग मिल्ने प्राकृतिक आकृतिहरू देख्न सकिन्छ । यही कारणले सिद्ध गुफा केवल प्राकृतिक सम्पदा मात्र नभई धार्मिक आस्थाको केन्द्रका रूपमा समेत परिचित छ ।

गुफाभित्रको शान्त वातावरण ध्यान, योग तथा आध्यात्मिक साधनाका लागि अत्यन्त उपयुक्त मानिन्छ । गहिरो अन्धकार, प्राकृतिक प्रतिध्वनि, चमेरोहरूको बासस्थान र विशाल कक्षहरूले गुफाको रहस्यमय सौन्दर्यलाई अझ जीवन्त बनाएका छन् । यहाँ पुग्दा मानिसले प्रकृतिसँगको आफ्नो सम्बन्धलाई नयाँ ढङ्गले महसुस गर्न सक्छ ।

तर यति महत्वपूर्ण सम्पदाको पर्याप्त प्रचार–प्रसार, संरक्षण र पूर्वाधार विकास अझै आवश्यक छ। सिद्ध गुफा केवल बन्दीपुर वा तनहुँको सम्पत्ति होइन, यो सम्पूर्ण नेपालको पहिचान र भावी पुस्ताका लागि जोगाइराख्नुपर्ने राष्ट्रिय सम्पदा हो । उचित व्यवस्थापन, सुरक्षित पदमार्ग, प्रभावकारी सूचना प्रणाली र अन्तर्राष्ट्रिय स्तरको प्रचार हुन सके सिद्ध गुफा नेपालको प्रमुख पर्यटन गन्तव्य बन्नसक्छ ।

गुफाभित्र जान नेपालीका लागि ५० रुपियाँ र विदेशीका लागि सय रुपियाँ शुल्क तोकेको छ । विद्यार्थीहरुलाई ५० प्रतिशत छुट रहेको छ । पहिलो पटक २०४४ चैत १३ मा स्थानीय चन्द्रबहादुर थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर स्थानीय एक विद्यालयमा अध्यापन गर्ने विदेशी शिक्षक वारेन्ट क्वाड्रसको समूहले गुफा पत्ता लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटका ग्रामिण बस्ती मोवाईल नेटवर्कको पहुँच बाहिर, बारम्बार पत्राचार गर्दा पनि सुनुवाइ भएन

विष्णु मगर । देवघाट, असार ७ डिजिटल युगमा सञ्चार सेवा नागरिकको आधारभूत आवश्यकता बनिसकेको भएपनि