तनहुँ । असार ९
राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्याङ्क संकलन कार्य तनहुँ जिल्लामा असार ७ गते आईतबार सम्पन्न भएको छ । जिल्ला आर्थिक गणना कार्यालय तनहुँका अनुसार २०८३ वैशाख २ गतेदेखि सुरु भएको गणनामा जिल्लाभर कुल १७ हजार ९४८ वटा आर्थिक प्रतिष्ठानको तथ्याङ्क संकलन गरिएको छ । जसमध्ये १७ हजार ८७५ प्रतिष्ठानको कागजी प्रश्नावली र ७३ प्रतिष्ठानको इ–सेन्सस प्रणालीमार्फत गणना गरिएको कार्यालयले जनाएको छ ।



२०७५ सालमा सञ्चालित आर्थिक गणनामा तनहुँमा १२ हजार ४३३ प्रतिष्ठान गणना भएको थियो। २०८२ को गणनाका लक्ष्य राखिएकोमा लक्ष्यभन्दा १०३ प्रतिष्ठान बढी गणना भएको हो । गणना भएको संख्या अझै थपिने र असार मसान्तसम्म अन्तिम तथ्याङ्क प्रकाशन हुने कार्यालयले जनाएको छ ।
गणनाको अन्तिम दिन सोमबार प्रमुख जिल्ला अधिकारी शविलाल तिवारीको नेतृत्वमा जिल्ला आर्थिक गणना अधिकारीसहितको टोलीले म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको अनुगमन गरेको थियो । अनुगमनका क्रममा होटल व्यवसायी संघ तनहुँका अध्यक्ष गरिबहादुर थापा, शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष समुद्रराम श्रेष्ठ लगायत गणक तथा सुपरिवेक्षकसँग अन्तरक्रिया गरिएको थियो ।
कार्यालयले गणनामा कुनै प्रतिष्ठान छुट्न गएको भए टोल फ्री नम्बर १९७८ मा जानकारी गराउन आग्रह गरेको छ । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित सञ्चालन भएको यो गणनाबाट देशको कुल गार्हस्थ्य उत्पादन, अर्थतन्त्रको संरचना र रोजगारीको यथार्थ विवरण प्राप्त हुने अपेक्षा गरिएको छ । संकलित व्यक्तिगत विवरण तथ्याङ्क ऐन २०७९ बमोजिम गोप्य राखिने छ ।












