देवघाट गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न

Devghat Online

शेयर गरौ

आगामी आर्थिक वर्षमा संघ सरकारबाट देवघाटमा बजेट शुन्यः अध्यक्ष थापा

देवघाट । असार २७

देवघाट गाउँपालिकाको आयोजना तथा देवघाट मल्टिमिडिया प्रालिको सहजिकरणमा आर्थिक वर्ष २०८२/०८३ को तेश्रो चौमासिक अवधिको सार्वजानिक सुनुवाई कार्यक्रम शुक्रबार वडा नम्बर ५ स्थित देवघाट सिटि हलमा सम्पन्न भयो ।

चालु आर्थिक वर्षको तेस्रो चौमासिक सम्ममा सम्पन्न भएका कार्यक्रम तथा गाउँपालिकाबाट सञ्चालित विकासका कार्यक्रमहरु, उपलब्ध सेवा सुविधा तथा नागरिकले उठाएका प्रश्नहरूमा प्रष्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुविधाहरुलाई ग्रहण गर्दै जिम्मेवार संस्कार बसाई आम नागरिकको चासो सरकार तथा विकास निर्माणका योजना र समस्याको समाधान गरी सेवाग्राहीको रुपमा आएका सर्वसाधारण प्रति सेवाप्रदायक निकायबाट भए गरेका क्रियाकलाप लगायत पारदर्शिताको स्थानीय निकायमा सार्वजनिक सुनाई कार्यविधि बमोजिम आम सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रद्युब्न खड्काले बताए ।

उक्त कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सिमित श्रोत र साधनका बाबजुद गाउँपालिकाले सबैसँग समन्वय गरेर काम गरिरहेको बताए । अध्यक्ष थापाले देवघाटमा आगामी आर्थिक वर्षमा संघ सरकारको बजेट शुन्य रहेको बताए । संघीय सरकारको बजेट अघि गाउँपालिकाका विभिन्न प्रस्तावित योजनाहरु सम्बन्धित निकायमा पेश गरिएको भएपनि बजेट र रातो किताबमा देवघाटलाई शुन्य बजेट र योजना बनाईएको अध्यक्ष थापाले बताए ।

गाउँपालिकाको गौरबको रुपमा रहेको शालिग्राम करिडोरलाई गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा कालोपत्रे गर्ने काम भईरहेको अध्यक्ष थापाले बताए । त्यस्तै विकासमा पछाडि पारिएका क्षेत्रहरुलाई विकासको मुलधारमा ल्याउने प्रयत्न भएको उनले बताए । कालिगण्डकी नदीमा उर्जामन्त्रालयसँग अनुमती पाई मौलाकाली हाइड्रोपावर निर्माण भईरहेको भन्दै अध्यक्ष थापाले उक्त हाइड्रोपावरलाई सिमित प्राकृतिक श्रोत उत्खनन गर्न पनि राजश्व लिएर अनुमती दिएको अध्यक्ष थापाले जानकारी दिए ।

गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको भन्दै अध्यक्ष थापाले पालिकाको श्रोत र साधनको सिमितताले लक्ष्य अनुसार भने काम गर्न नसकिएको बताए । शिक्षा, स्वास्थ्य, धार्मिक पर्यटन, कृषि, पुर्वाधार, सरसफाई व्यवस्थापन, शुसासन, पारदर्शिता, मितव्ययी, भ्रष्टाचारमा शून्य शहनसिलता लगायतका कामलाई प्राथमिकता दिईएको अध्यक्ष थापाले बताए । पालिकाले जनजीविकाका सवालमा विशेष काम गरेको भएता पनि विपक्षीले विरोध मात्र गरेको उनको भनाई थियो । सकारात्मक कर्म नदेख्ने तर विरोधका नाममा मात्र फगत विरोध गरिरहने प्रवृत्तिले कही पनि नपुगिने हुदाँ रचनात्मक सहयोग सवैले गरेमा मात्र पालिका समृद्ध बन्ने अध्यक्ष थापाले बताए ।

सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङले सबैसँग समन्वय गरि काम भईरहेको बताए । राष्ट्रपती चुरे संरक्षण समिति र जिल्ला समन्वय समितिले पारित गरेको मापदण्डमा आधारित रहेर प्राकृतिक श्रोतको उत्खननको काम भईरहेको उपाध्यक्ष गुरुङले बताए । गाउँपालिका तथा स्थानीय सरकार सवै जनताको भएको हुदाँ सवैभन्दा पहिलो सेवा गरिव तथा दिनदुखिको लागी दिनुपर्ने उपाध्यक्ष गुरुङले बताए । पहुँच नपुग्ने र सेवा लिन सम्म नसक्ने जनता पहिलो प्राथमिकीकरणमा पर्नुपर्ने भन्दै उनले सेवा लिनेले पाईरहने र नपाउनेले नपाउदाँ सर्वसाधरणको सरकार नवन्ने हुदाँ समतामुलक विकासमा जोड दिनुपर्ने बताए । संघ सरकारले आफुहरुले मागेका कुनै पनि योजना बजेटमा समावेश नगरेको उपाध्यक्ष गुरुङले बताए ।

प्रमुख प्रशासकीय अधिकृत प्रद्युब्न खड्काले संघीय, प्रदेश र स्थानीय तहले निर्माण गरेको विभिन्न कानुनको परिधिमा रही कार्य सम्पादन भईरहेको बताए । सेवाग्राहीको समस्या समाधानमा आफु सदैव क्रियाशिल भएको उनले बताए । जनताको सेवाका लागी बसेको कर्मचारी जनताप्रति उत्तरदायी हुनुपर्ने उनको भनाई रहेको थियो । नागरिकको सन्तुष्टि नै सबैभन्दा महत्वपुर्ण पक्ष रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत खड्काले तेश्रो पक्षबाट सार्वजानिक सुनुवाई हुँदा जनताको वास्तविक आवाज प्रस्तुत हुने बताए । नागरिकबाट प्राप्त सुझावलाई ग्रहण गर्दै आगामी दिनमा नीति तथा कार्यक्रम र बजेट बनाईने खड्काले बताए ।

उक्त सार्वजानिक सुनुवाई कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवर, वडा नम्बर १ का अध्यक्ष मणिराज गुरुङ, वडा नम्बर २ का अध्यक्ष मिनबहादुर राना, वडा नम्बर ३ का अध्यक्ष टेकबहादुर आले, वडा नम्बर ४ का अध्यक्ष मित्रलाल गुरुङ, प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल लगायतले नागरिकबाट उठाईएका जिज्ञासाहरुको बारेमा सम्बोधन गरेका थिए ।

सो कार्यक्रममा सेवाग्राही नागरिकहरुको तर्फबाट नेकपा एमालेका गाउँ कमिटिका अध्यक्ष भिम बहादुर गुरुङ, नेकपा एमालेका जिल्ला कमिटि सदस्यहरु केशवचन्द्र न्यौपाने, जुली सारु मगर, एमाले देवघाट गाउँ कमिटिका सचिव सान श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती बलबहादुर क्षेत्री, नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक जयकृष्ण सुवेदी, दुर्गालाल गुरुङ, थमबहादुर मगर, रामहरि पुडासैनी, देवघाट सामुदायिक क्याम्पसका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठ, सरोज श्रेष्ठ, चन्द्रबहादुर गुरुङ लगायतले विभिन्न विषयमा जिज्ञासा राखेका थिए ।

सेवाग्राही नागरिकले कोटामा निर्माण गरिएको रंगशाला अलपत्र परेको, घण्टाचुली पर्यटन क्षेत्रमा बजेट शुन्य भएको, छरछरे झरनामा बजेट नपरेको, शालिग्राम करिडोरमा बजेट नपरेको, सोलीघोप्टेमा पर्यटन प्रबद्र्धनको काम गर्नुपर्ने, इलाका प्रहरी कार्यालयलाई क बर्गमा स्तरोन्नतीको लागि पहल गर्नुपर्ने, भुमी समस्या समाधानकोलागि पहल गर्नुपर्ने, धार्मिक पर्यटन प्रबद्र्धनको लागि काम गर्नुपर्ने, फोहोर मैला व्यवस्थापनको पहल गर्नुपर्ने, बाँदर आतंक नियन्त्रण गर्नुपर्ने, आन्तरिक आम्दानीका श्रोतहरु खोज्नुपर्ने, लागु औषधको दुव्र्यशनी बढेको लगातयका विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए । उक्त कार्यक्रमको सन्चालन देवघाट मल्टिमिडिया प्रालिका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सार्वजानिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन र बेचबिखन नगर्न स्वास्थ्य कार्यालयको अनुरोध

तनहुँ । असार २५ प्रदेश स्वास्थ्य कार्यालय तनहुँले सार्वजानिक स्थानमा सुर्तीजन्य पदार्थ र सेवन र