तनहुँ । असार ३१
नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, आयोजना निर्देशनालय (एडिबी), मुग्लीन पोखरा राजमार्ग सुधार परियोजना अन्तर्गत दमौलिस्थित मादी नदीको पुल निर्माण स्थलका ४५ जना श्रमिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सहयात्री समाज नेपाल सिड्स जेभीको समन्वयमा हालै ति श्रमिकहरुको प्रादेशिक अस्पताल दमौलीको सहयोगमा उक्त स्वास्थ्य परीक्षण गरिएको हो ।



स्वास्थ्य परीक्षणमा श्रमिकहरुको एचआईभी, मधुमेह (सुगर) र रक्तचाप (प्रेसर) परीक्षण गरिएको थियो । श्रमिकहरुको स्वास्थ्य परीक्षण गरी आवश्यक स्वास्थ्य परामर्श गरिएको सहयात्री समाज नेपाल सिड्स जेभीको कार्यकारी निर्देशक राधिका सापकोटाले बताइन् । स्वास्थ्य परीक्षण कार्यक्रममा एचआईभी संक्रमणबाट बच्ने उपाय, नियमित स्वास्थय परीक्षणको महत्व, सन्तुलित भोजन, स्वस्थ्य जीवनशैली अपनाउने विषयमा प्रादेशिक अस्पताल दमौलीका स्वास्थ्यकर्मीहरुले सचेतनामुलक जानकारी दिएका थिए ।

मुग्लिङ्ग-पोखरा सडक योजना (पूर्व खण्ड) का ईन्जिनियर विष्णुप्रसाद पाण्डेले श्रमिकहरुको स्वास्थ्य परीक्षण गरी समयमै रोगको पहिचान गरि उनीहरुको उपचारमा सहज होस भन्ने उद्देश्यले पूर्वाधार विकास मन्त्रालयले कार्यक्रम ल्याएको बताए । उनले श्रमिकहरुको मेहनत र सीपले भौतिक निर्माणको गुणस्तर, दिगोपन र समयमै सम्पन्न गर्न ठूलो भूमिका खेलेको हुने भन्दै श्रमिकहरुको स्वास्थ्य सुरक्षामा विशेष ध्यानदिनुपर्ने बताए ।
स्वास्थ्य परिक्षण कार्यक्रममा सहयात्री समाज नेपाल सिड्स जेभीकी कार्यकारी निर्देशक राधिका सापकोटाले श्रमिकहरुको स्वास्थ्य सुरक्षा गरियो भने मात्र उनीहरुको कार्य क्षमता वृद्धि गर्न सक्ने बताइन् । सापकोटाले दिगो पूर्वाधार विकासका लागि श्रमिक स्वस्थ हुनु पर्ने बताइन् । उनले सहयात्री समाज नेपाल सिड्स जेभीले मुग्लिङ्ग–पोखरा राजर्माग सुधार परियोजना अन्तर्गत तनहूँको आँबुखैरेनी देखी पोखरा सेतीको पुलसम्म सडक आसपासमा सामाजिक सचेतना र जीविकोपार्जन सुधार कार्यक्रम संचालन गर्दै आएको बताइन् ।

स्वास्थ्य परीक्षण कार्यक्रममा दमौली स्थीत मादी नदीको पुल निर्माण कम्पनीका व्यवस्थापक दिनेश कुमार श्रेष्ठले श्रमिकहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श गरेकोमा धन्यवाद दिएका थिए । उनले आगामी दिनहरुमा पनि यस्ता खालका कार्यक्रम श्रमिकहरुलाई आवश्यक परेको बताए । उनले परीक्षण गरी देखा परेका रोगहरु नियन्त्रण गर्नका लागि मादी पुल निर्माण स्थलका श्रमिकहरुलाई प्रादेशिक अस्पताल दमौलीमा थप उपचारका लागि पठाउने बताए ।












