चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १७

शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । निर्वाचनका क्रममा व्यक्त गरिएका विकास निर्माणका प्रतिबद्धताहरू कार्यान्वयन गर्न माग गर्दै युवाहरूले आइतबार सांसदको ध्यानाकर्षण गराएका हुन् ।

उक्त ध्यानाकर्षण पत्रमा निर्वाचनका बखत दिगो विकास, पूर्वाधार विस्तार, कृषि, पर्यटन, शिक्षा, रोजगारी र जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने बाचा गरिएको स्मरण गराउँदै फिरफिरेका नागरिकहरू अझै पनि ती प्रतिबद्धता पूरा हुने प्रतीक्षामा रहेको उल्लेख छ ।

ध्यानाकर्षण पत्रमा पर्यटकीय सम्भावना बोकेको फिरफिरे क्षेत्र जोड्ने तनहुँ–स्याङ्जा बाड्खोला मोटरमार्गको स्तरोन्नति सुस्त गतिमा रहेको र जसपुर अस्र्याङ्दी लगायत अधिकांश भित्री तथा सहायक सडकहरू अझै कच्ची एवं जीर्ण रहेकाले ती सडकहरूको कालोपत्रे र स्तरोन्नतिका लागि स्पष्ट योजना माग गरिएको छ ।

त्यस्तैगरि जसपुर, लामागाउँ र आसपासका क्षेत्रमा लिफ्टिङ खानेपानी सञ्चालनमा रहे पनि विद्युत र मुहानको समस्याले गर्दा पिउने पानीको अभाव कायमै रहेकाले दीर्घकालीन समाधानको नीति ल्याउन आग्रह गरिएको छ ।

मिलेनियम ट्रेकका प्रमुख गन्तव्यहरू लाकुरीबोट (तमु हिल पार्क), लामागाउँ र घरेडीको मिलेनियम गुफालाई समेटेर आगामी पाँच वर्षभित्र स्तरीय ‘पर्यटन सर्किट’ निर्माण गर्ने स्पष्ट लिखित योजना प्रस्तुत गर्न माग गरिएको छ ।

कृषिमा आधारित यहाँका बासिन्दाका लागि कृषि प्रविधिको विस्तार, आधुनिकीकरण, सिँचाइ सुविधा, बजारीकरण र साना–मझौला उद्योगमार्फत युवाहरूलाई गाउँमै रोजगारी सिर्जना गर्ने ठोस नीति चाहिने पत्रमा उल्लेख छ । पौवा र मगरनास लगायतका क्षेत्रमा रहेका खारीखानी तथा ढुङ्गाखानी विगत ६÷७ वर्षदेखि बन्द अवस्थामा रहेकाले कानुनी र वातावरणीय मापदण्ड पूरा गरी दिगो उपयोगमार्फत रोजगारी सिर्जना गर्न ठोस पहलको अपेक्षा गरिएको छ ।

भौगोलिक विकटताका कारण विद्यार्थी र शिक्षक सहरतर्फ आकर्षित भइरहेको सन्दर्भमा गाउँमै प्राविधिक तथा सीपमूलक शिक्षा सञ्चालन, शिक्षक दरबन्दी व्यवस्थापन, आवास सुविधा र डिजिटल कक्षा विस्तारका लागि स्पष्ट कार्ययोजना माग गरिएको छ ।

ध्यानाकर्षणपत्रमा ‘यो पत्र कुनै व्यक्ति वा दलप्रति लक्षित आलोचना होइन, यो शुक्लागण्डकी–१२, फिरफिरेका नागरिकहरूको विकासप्रतिको साझा आवाज र अपेक्षा हो । जनप्रतिनिधिको सफलताको मापन भाषणले होइन, जनताले अनुभूति गर्ने विकास र पूरा भएका प्रतिबद्धताबाट हुन्छ ।’ भन्ने उल्लेख छ । फिरफिरेका युवाहरूको सामूहिक हस्ताक्षरसहित बुझाइएको उक्त पत्रमार्फत युवाहरूले सांसद न्यौपानेबाट गम्भीरतापूर्वक पहल हुने आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल