देवघाटमा तमु (गुरुङ) भाषा तथा खेमा लिपिको तीनदिने प्रशिक्षण सम्पन्न

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, साउन २१

भाषा केवल बोल्ने माध्यम होइन, यो एउटा समुदायको इतिहास, सभ्यता, संस्कार र अस्तित्वको परिचय हो । यही अमूल्य सम्पदालाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने उद्देश्यका साथ देवघाट गाउँपालिकामा आयोजित तमु (गुरुङ) भाषा तथा खेमा लिपि सम्बन्धी तीनदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

देवघाट गाउँपालिकाको आयोजना तथा तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद् देवघाट गाउँपालिका इकाइ समितिको समन्वयमा सञ्चालित प्रशिक्षण कार्यक्रममा विभिन्न विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो । शिक्षकहरूलाई प्रशिक्षण दिनुको उद्देश्य विद्यालयबाटै मातृभाषा र लिपिको संरक्षण अभियानलाई बलियो बनाउनु रहेको आयोजकले जनाएको छ ।

प्रशिक्षण समापन समारोहका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले गाउँपालिकाले सबै जातजातिको भाषा, कला, संस्कृति र पहिचानको संरक्षणलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गर्दै आएको बताए । देवघाटमा मगर समुदाय करिब ३५ प्रतिशत, गुरुङ समुदाय ३२ प्रतिशत तथा १९ जातजातिको साझा बसोबास रहेको उल्लेख गर्दै उनले विविधताभित्रको एकता नै देवघाटको वास्तविक पहिचान भएको बताए ।

‘भाषा हराउँदा शब्द मात्र हराउँदैनन्, पुर्खाको इतिहास हराउँछ, लिपि हराउँदा अक्षर मात्र मेटिँदैनन्, सभ्यता र पहिचानका अमूल्य चिनारी हराउँछन्’ अध्यक्ष थापाले भने ‘आज आफ्ना सन्तानलाई मातृभाषा सिकाउन नसके भोलि उनीहरूले आफ्नै जरा चिन्न सक्ने छैनन्, त्यसैले भाषा, लिपि, संस्कार र संस्कृतिको संरक्षण कुनै एक समुदायको मात्र होइन, सम्पूर्ण समाजको साझा जिम्मेवारी हो ।’

कार्यक्रमका अध्यक्ष तथा तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद् देवघाट गाउँपालिका इकाइ समितिका अध्यक्ष एवं देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङले प्रशिक्षणमा सहभागी शिक्षकहरूलाई सिकेको खेमा लिपिलाई कक्षाकोठा, घरपरिवार र समुदायसम्म विस्तार गर्न आग्रह गरे । उनले गुरुङ र मगर भाषाका लिपिसहितका साइनबोर्ड देवघाट गाउँपालिका र वडा कार्यालयहरूमा आगामी पुस १५ गतेभित्र स्थापना गर्ने अभियानलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

नेपाल मगर संघ देवघाट गाउँपालिका अध्यक्ष तथा अख्खा लिपि अभियन्ता खड्ग पामी आलेले पछिल्लो समय मातृभाषा र लिपिप्रतिको बेवास्ताका कारण धेरै मौलिक पहिचान संकटमा पर्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले गुरुङ समुदायले खेमा लिपिको संरक्षणका लागि थालेको अभियान अनुकरणीय रहेको उल्लेख गर्दै मगर समुदायमा पनि अख्खा लिपिको प्रशिक्षण सञ्चालन गरिने जानकारी दिए ।

कार्यक्रमका प्रशिक्षक तथा तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सल्लाहकार समिति सदस्य भिम गुरुङले भाषा र लिपिको संरक्षण केही दिनको तालिमले मात्र सम्भव नहुने भन्दै यसलाई स्थानीय सरकारको नीति, विद्यालयको पाठ्यक्रम र दैनिक व्यवहारसँग जोड्नुपर्ने आवश्यकता औंल्याए । उनले शिक्षकहरूलाई आफूले सिकेको ज्ञान विद्यार्थी र समुदायमा विस्तार गर्न आग्रह गर्दै त्यसैमा प्रशिक्षणको वास्तविक सफलता रहेको बताए ।

तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद् देवघाट गाउँपालिका इकाइ समितिका सचिव दुर्गालाल गुरुङले लोपोन्मुख भाषा र लिपिको संरक्षण गर्ने सबैभन्दा प्रभावकारी माध्यम विद्यालय भएकाले शिक्षकहरूलाई लक्षित गरी प्रशिक्षण सञ्चालन गरिएको बताए ।

कार्यक्रममा सहभागी शिक्षकहरूको तर्फबाट बराह आधारभुत विद्यालयकी रनमाया गुरुङ र भृकुटी माविका शंकर गुरुङले प्रशिक्षणले मातृभाषा र खेमा लिपिप्रति नयाँ उत्साह र जिम्मेवारीबोध गराएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका