भरतपुरको गणेशधाममा गणेश उत्सव हुँदै

Devghat Online

शेयर गरौ

चितवन । साउन २२

भरतपुर महानगरपालिका–११ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गणेशधाममा गणेश उत्सव हुने भएको छ । गणेशधाम संरक्षण सम्वद्र्धन समितिले भाद्र शुक्ल चतुर्थीको अवसर पारेर यही भदौ २९ देखि ३१ गतेसम्म गणेश उत्सव मनाउन लागिएको हो । नेपालमै पहिलोपटक आयोजना गर्न लागिएको उक्त तीनदिने ‘गणेश उत्सव–२०८३’ को बारेमा जानकारी दिन शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरियो ।

गणेशधाम नेपालकै महत्वपूर्ण गणेश तीर्थस्थलमध्ये एक मानिन्छ । प्राचीनकालदेखि नै सिद्धिधामका रुपमा प्रशिद्ध गणेशधाम क्षेत्रमा सिद्धिविनायक गणेश भगवानको विशेष पुजाआराधना गर्ने गरी त्रिदिवसीय गणेश उत्सवको आयोजना गरिएको गणेश उत्सव मुल समारोह समितिका अध्यक्ष गणेश चुकेले जानकारी दिए । उनका अनुसार पहिलो दिन गणपतिको पुजा अर्चनाका साथमा शास्त्रीय विधि पूर्वक मूर्तिकै स्थापना गरी गणेशको महिमा गान गरिनेछ ।

दोस्रो दिन भदौ ३० गते दुबो, लड्डु समिपत्र लगायतका गणेश भगवानका प्रिय वस्तुद्धारा उत्सवको विशेष पुजा गरिने उनले बताए । अन्तिम दिन ३१ गते समानप पुजा पूर्ण हुति, अभिषेक र प्रसाद वितरण सहित सन्धयाकालमा बाजागाजा सहित उत्सव मूर्तिलाई नगरपरिक्रमा गरीस् नारायणी नदीमा विसर्जन गरिने छ । उत्सवका तीनै दिन विज्ञ आचार्यबाट गणेश महिमाको प्रवचन, भजनकीर्तन र भव्यआरतीका कर्महरु सञ्चालन हुनेछन् । उत्सव सफल बनाउन समितिले चुकेको संयोजकत्वमा ११ उपसमिति गठन समेत गरेको छ ।

गणेशधामको संरक्षण, सनातन संस्कृति प्रवद्र्धन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले यस क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण तथा संरक्षणका कार्य हुँदै आएका छन् । आचार्य फडिण्द्र पौडेलका अनुसार गणेशधाम गणेश भगवानले प्राथना गरेको स्थल भएको दावी गर्दै यसको खोजनीति अझै आवश्यक रहेको समेत बताए । ‘पुराणले सिद्ध गरेको स्थल भरतपुरको गणेशधाम नै हो,’ उनले भने ‘पुराणमा उल्लेख गरेअनुसार गण्डकको छेऊमा रहेको यस ठाउँ जस्तो मिल्दो ठाउँ अरु छैन ।’ गणेशधामका विषयमा विश्वव्यापी बनाउनुपर्ने समेत बताए । उत्सवले धार्मिक आस्था अभिवृद्धिसँगै स्थानीय पर्यटन, संस्कृति र सामाजिक सद्भाव प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

समितिका संस्थापक अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक चुकेले नेपालमै पहिलोपटक सामूहिक रूपमा यस स्तरको गणेश उत्सव आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुसार गणेशधाम पौराणिककालदेखि नै सिद्धिविनायक गणेशको क्रीडास्थलका रूपमा परिचित रहँदै आएको छ भने नारायणी–गण्डकी नदीको तटमा अवस्थित यो धाम मध्यनेपालकै महत्वपूर्ण धार्मिक तीर्थस्थलमध्ये एक हो ।

उनले इतिहासअनुसार पाल्पाली राजा मणिमुकुन्द सेनले देवघाटमा तीर्थवास गर्ने क्रममा गणेशधाममा पूजा गरी यसको संरक्षणको व्यवस्था मिलाएको उल्लेख गरे । नेपाल एकीकरण अभियानका क्रममा पश्चिमतर्फ प्रस्थान गरेका वीर नेपाली सैनिकले पनि यहाँ दर्शन गरेर विजय प्राप्त गरेको जनविश्वास रहिआएको उनले बताए ।

समितिका अध्यक्ष राजन श्रेष्ठका अनुसार वि.सं. २०१३ मा स्थानीय धार्मिक तथा सामाजिक अगुवाले रुखको फेदबाट उत्खनन गरी प्राप्त ऐतिहासिक गणेश मुर्तिलाई विधिवत् स्थापना गरेपछि यो स्थान ‘सिद्ध गणेशस्थान’ का रूपमा परिचित भएको हो । वि.सं. २०७५ देखि दीर्घकालीन गुरुयोजनाअनुसार गणेशधामको संरक्षण, पूर्वाधार विकास तथा धार्मिक गतिविधि विस्तारका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

उत्सव सफल बनाउन दिनेश कुमार चुकेको संयोजकत्वमा मूल आयोजक समितिसहित ११ वटा उपसमिति गठन गरिएको छ । कार्यक्रममा गलेश्वर आश्रम देवघाटका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मात्रदगिरी, हरिहर संन्यास आश्रमका पीठाधीश तथा नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती र महेश संन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्दगिरी संरक्षकका रूपमा रहनेछन् । प्रसिद्ध कथावाचक बालकृष्ण अर्याल प्रमुख वक्ताका रूपमा सहभागी भई गणेश महिमा वाचन गर्ने कार्यक्रम रहेको छ ।

आयोजकका अनुसार उत्सवमा धार्मिक तथा सामाजिक संघ–संस्था, टोल विकास संस्था, आमा समूह, सत्सङ्ग परिवार, सन्त–महन्त, सञ्चारकर्मी तथा देशभरबाट आउने हजारौँ श्रद्धालुको सहभागिता रहने अपेक्षा गरिएको छ । समितिले यस उत्सवलाई आगामी वर्षहरूमा राष्ट्रियस्तरको धार्मिक पर्वका रूपमा स्थापित गर्दै गणेशधामलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण