देवघाट अनलाईन
चितवन, चैत ११
भरतपुर महानगरपालिका–११ भोजाडमा रहेको कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा रामनवमीका अवसरमा श्रीमद्देवीभावत् नवाह भक्तिज्ञान महायज्ञ आयोजना गरिएको छ । गत चैत ८ गतेदेखि सन्चालित महायज्ञ चैत १६ गतेसम्म हुनेछ ।
महायज्ञबाट संकलित रकमले मन्दिर परिसरभित्र १०८ शिवलिङ्ग स्थापना र सुविधा सम्पन्न आवासीय क्रियापुत्री भवन निर्माण गर्ने, आवश्यकता अनुसार कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रको विकास र विस्तार गर्ने उद्देश्य रहेको संयोजक श्रीधर लामिछानेले जानकारी दिए । महायज्ञमा आचार्य पण्डित बुद्धिसागर भण्डारी ‘मृदुल’ ले कथा वाचन गरेका छन् ।




महायज्ञको भरतपुर महानगरका मेयर रेनु दाहालले उद्घाटन गरिन् । सो अवसरमा बोल्दै मेयर दाहालले मन्दिर परिसरमा महानगरको तर्फबाट सुविधा सम्पन्न क्रियापुत्री भवन निर्माण गर्ने प्रतिबद्धता जनाईन् । भरतपुर महानगरले विकासको कामको साथ साथै धार्मिक सामाजिक सास्कृतिक महत्व को विषयमा पनि आवश्यक पहल गर्ने मेयर दाहालले बताईन् ।
महायज्ञबाट करिब १ करोड रुपैयाँ संकलन गर्ने र उक्त रकमले मन्दिर परिसर भित्र १०८ शिवलिङ्ग स्थापना तथा कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रको विकास र विस्तार गरिने मन्दिर संरक्षण समितिका अध्यक्ष तथा प्रमुख कथा वाचक आचार्य पण्डित बुद्धिसागर भण्डारी ‘मृदुल’ ले बताए ।

कमलादेवी मन्दिर ऐतिहासिक महत्वको पर्यावरणीय प्राकृतिक र धार्मिक क्षेत्र मानिन्छ । सो मन्दिर २०२१ साल देखि नै पुजनादी कर्मद्वारा सँरक्षण हुँदै आईरहेको छ । महायज्ञमा हालसम्म करिब १८ लाख रुपैयाँ संकलन भएको छ । महायज्ञमा शुक्रबार भरतपुर–११ प्रगतिपथ टोल स्थित शुभकामना आमा समुहले ७ लाख ७ हजार ७ सय ७७ रुपैयाँ दान गरेको थियो ।












