नेपाली सेनाद्वारा विपद उद्धार नमुना अभ्यास प्रर्दशन
दमौली, जेठ ८



गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजनालाई विशेष प्रथामिकतामा राखेको बताएका छन् । सोमबार तनहुँको व्यास नगरपालिका वडा नं ५ र १० पतेनीटारमा सञ्चालित सामुदायिक विपद् प्रतिकार्य तालिम तथा नमुना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणलाई प्रदेश सरकारले विशेष प्रथामिकता दिएको बताएका हुन् ।
गण्डकी प्रदेशमा प्राकृतिक विपद्को उच्च जोखिम रहेकाले विपद् बाट हुने क्षति घटाउन तथा प्रभावित हुने व्यक्ति परिवार र समुदायलाई उपयुक्त सहायताका लागि सरकारले राम्रो काम गर्दै आएको र अझ प्रभावकारी योजनाका साथ अघि बढ्ने तयारी गरीरहेको उनले बताए ।
विपद् जोखिम न्यूनीकरण तथा पूर्व तयारीका गतिविधिहरुलाई व्यविस्थत र समन्वयात्मक रुपमा अगाडि बढाउनुपर्ने भएकाले स्थानीय पालिकाहरुसँग सहकार्यको योजना बनाएको समेत मुख्यमन्त्री पाण्डेको भनाई छ।
विपद् व्यवस्थापन कुनै एउटा निकायबाट सम्भव नभएकाले स्थानीय समुदाय र सुरक्षाकर्मीको क्षमता अभिवृद्धि गरी समन्वय र सहकार्य गर्न आवश्यक रहेको उनले बताए । बिगतमा विपद् प्रतिकार्य तथा उद्दारमा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले प्रशंसा समेत गरे । साथै उद्दारकर्ताको मनोबल उच्च बनाउन विभिन्न पुरस्कारको व्यवस्था समेत सरकारले गर्ने उनले बताए ।

कार्यक्रममा पश्चिम पृतनाका पृतनापति उपरथी दिपक कुमार बानियाले विपद् प्रतिकार्यका लागि सबै युनिटलाई सक्षम बनाउन लागि परेको बताए । विपद् प्रतिकार्य कार्ययोजना अनुसार केन्द्र देखी स्थानीय निकायसम्म तयारी गरिएको उनले बताए । विपद्को पहिलो प्रभावित क्षेत्र समुदाय भएकाले समुदायमा नै गएर विपद् प्रतिकार्य तालिमहरु सञ्चालन गर्ने, सबै युनिटमा आवश्यक सामग्री, उपकरण र जनशक्ति तैनाथ गर्ने लगायतको तयारी भएको उनले जानकारी दिए ।
उनका अनुसार गण्डकी प्रदेशमा गएको तीन वर्षमा २सय १८ जनाले प्राकृतिक तथा मानव श्रृजित विपद्बबाट ज्यान गुमाएका छन् । ४ सय २३ जना घाइते भएका छन् भने २ हजार भन्दा बढी पशु चौपायाको मृत्यु भएको छ । ४३ करोड भन्दा बढी भौतिक क्षति भएको छ । गण्डकी प्रदेशमा प्रतिवर्ष ७२ जना बढीले विपद्का कारण ज्यान गुमाउन परेको छ ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले व्यासमा विपद्का धेरै घटनाबाट नागरिक गुज्रिन परेको बताए । विपद्का घटनाले नगरपालिकालाई ठृलो भार पारेको बताउदै उनले भने, ‘विपद् जोखिम न्युनिकरण र प्रतिकार्यका लागि हाम्रो स्रोत साधन पर्याप्त छैनन्, हामीलाई संघ र प्रदेश सरकारको सहयता चाहिन्छ’ ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले तनहुँ भएर बग्ने खोलानाला धेरै भएकाले तनहुँ मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको बताए । वर्षातको सुरुवात भएकाले अब विपद् व्यवस्थापन र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन उनले सबै सुरक्षा निकायलाई अनुरोध समेत गरे । सबै निकायको समन्वयमा मात्र उद्दार कार्य सम्भव हुने भएकाले उचित समन्वय र सहकार्य गर्न समेत उनले अनुरोध गरे ।
सो अवसरमा नेपाली सेनाले विपद उद्धार नमुना अभ्यास गरेको थियो । प्राकृतिक विपत्ति जस्ता घटनाबाट जनधनको क्षती हुन नदिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश र नेपाली सेनाको पश्चिम पृतना हे.क्वा.को संयुक्त आयोजना तथा कालीभञ्जन गण (ई.)को संयोजकत्वमा तनहुँको व्यास नगरपालिका ५ र १० पतेनीटारमा विपद् उद्धार नमुना अभ्यास प्रर्दशन गरिएको थियो ।
बाढी, पहिरो आगलागी र भुकम्प जस्ता प्राकृतिक तथा मानव श्रृजित विपद्को बेलामा कसरी बच्ने, उद्धार गर्दा के –के कुरामा ध्यान दिने, प्राथमिक उपचारका लागि गर्नुपर्ने तयारी तथा राहतका लागि कहाँ समन्वय गर्ने भनेर सामुदायिक विपद् प्रतिकार्य तालिमका सहभागीले कृतिम घटना अभ्यास गरेका थिए ।

नेपाली सेनाका उद्दारकर्ताको विपद् क्षमता अभिवृद्धि गर्न सो ठाउँमा जेठ २ गतेबाट आजसम्म विपद् व्यवस्थापन क्षमता अभिवृद्धि तालिम सञ्चालन भएको थियो । त्यस्तै विपद्को समयमा समुदायबाट तत्काल परिचालन भइ उद्दारमा खटिन पर्ने भएकाले स्थानीय जनताको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गराउने उद्देश्यले आजबाट सोही ठाउँमा व्यासका १४ वडाका २८ जना र म्याग्दे गाउँपालिकाका ४ वडाबाट ८ जनालाई गरी ३६ जनालाई सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन गरिएको छ ।
ती दुबै तालिममा सहभागी प्रशिक्षार्थीहरुको सहभागीतामा काल्पिनिक अवस्थाको सिर्जना गरी प्रदेश स्तरीय विपद् व्यवस्थापन नमुना अभ्यास सञ्चालन गरिएको हो । उक्त अभ्यासमा सहभागी शिक्षार्थी तथा तनहुँ जिल्ला स्थित विपद् व्यवस्थापन सरोकारवालाहरु, अभ्यास अवलोकन कर्ता तथा स्थानीय विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

उक्त तालिम तथा अभ्यास नेपाली सेनाका उद्दारकर्मीको क्षमता अभिवृद्धिसँगै अन्य निकायबीच प्रभावकारी समन्वय बनाउन सक्षम हुने, स्थानीय जनतामा समेत विपद् सम्बन्धी चेतनाको स्तर वृद्धि गराउन सकिने पश्चिम पृतनाका पृतनापति उपरथी दिपककुमार बानियाले बताए ।












