दमौली, असोज १
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले व्यास नगरपालिका र दमौलीमा रहेका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुको सहयोगमा दमौलीका विभिन्न भागमा सिसि क्यामेरा जडान गरेको छ । इकाईले दमौली बजारका २० स्थानमा सिसि क्यामेरा जडान गरेको हो ।



विभिन्न अपराधिक गतिविधि रोक्न, बजारलाई सुरक्षित राख्न तथा व्यापारी लगायत स्थानीय व्यापारी र व्यापारिक प्रतिष्ठानहरुको सुरक्षाको लागि दमौली बजारका २० स्थानमा सिसि क्यामेरा जडान गरिएको दमौली बजार इकाईका सभापती शुकनारयण मल्लले बताए । यस अघि जडान गरिएको सिसि क्यामेरा निकालेर त्यसको मर्मत गरि २० वटा क्यामेरा थप गरिएको मल्लले बताए ।

उक्त सिसि क्यामेरा जडानको लागि व्यास नगरपालिकाले ६ लाख रुपैयाँ सहयोग गरेको सभापती मल्लले बताए । यसैगरि दमौलीमा रहेका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले पनि आर्थिक सहयोग गरेका छन् ।
सभापती मल्लका अनुसार एसबिआई बैंकले ५० हजार, नविल बैंकले ५० हजार, माछापुच्छ्रे बैंकले ३२ हजार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २० हजार, नेपाल बैंक लिमिटेडले २० हजार, प्राइम कमर्सियल बैंकले १५ हजार, लक्ष्मी सनराइज बैंकले १० हजार, कुमारी बैंकले ८ हजार र हिमालयन बैंकले ७ हजार गरि कुल २ लाख १२ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट निगरानी गर्ने गरि दमौलीका शान्तिनगर झोलुङ्गे पुल, अमरापुरी, गणेशमानचोक, भेटघाटचोक, कालिका मार्ग चोक, सफासडक चोक, तरकारी लाईन चोक, घन्टाघर चोक, महर्षीचोक, जिल्ला प्रशासन चोक, वन कार्यालय चोक, मालपोत चोक लगायतका स्थानमा सिसि क्यामेरा जडान गरिएको सभापती मल्ले जानकारी दिए ।












