तनहुँ । बैशाख २
आँबुखैरेनी गाउँपालिकाको वडा नम्बर २ र ४ को सिमाना रहेको ऐना पहरामा नयाँ वर्षको पहिलो दिन बैशाख १ गते सोमबार पाँच हजार भन्दा बढि पर्यटकले अवलोकन गरेका छन् । नयाँ वषको अवसरमा ऐना पहरा पार्क घुम्न आउने आन्तरिक पर्यटकहरको घुईचो लागेको थियो ।



सोमबार ऐना पहरा स्थल १ किमी वरपर देखि नै चहलपहल रहेको र टिकट काउण्टरमा दिउँसो नै टिकट सकिएपछी नगदै टिकट शुल्क लिएर गेट भित्र प्रवेश गराईएको थियो ।

मनै लोभ्याउने ऐना पहरामा तनहुँ, लमजुङ्ग, गोरखा, कास्की, धादिङ्ग, चितवन, नवलपुर लगाएतका स्थानहरुबाट झण्डै ५ हजार आन्तरिक पर्यटकहरु आएका थिए ।
आबुँखैरेनी गाउँपालिकाले पर्यटकीय पुर्वाधार निर्माण गरेर ऐना पहरामा आकर्षक झरना, झरनासँगै रहेको बडेमानको ढुंगालाई खोपेर बनाइएको हात्ती, आमा–शिशुको मातृत्व झल्किने चित्र, परि, ढुङ्गामाथी रोकिएको भगवान बुद्धको चित्र, हरियाली, चीनको ग्रेटवालकै झल्को दिने गरी बनाइएको झरनासम्म पुग्ने बाटो र पार्क निर्माण गरेको छ ।

उक्त पर्यटकीय स्थलले गाउँपालिकालाई मनग्य आम्दानी पनि दिन सफल भएको छ ।












