अमेरिकामा आधारभूत शिक्षा प्रणाली (Elementary Education System in U.S.A.)

Devghat Online

शेयर गरौ

    ध्रुवराज पौडेल

    Fayatteville, Cumerland County  (North Carolina U.S.A)

विकास, समृद्धि र आधुनिक सूचना प्रविधिको हिसाबले संयुक्त राज्य अमेरिकालाई विश्वकै अग्रणी देश मानिन्छ । कुनैपनि देशको विकास र समृद्धि त्यस देशको शिक्षा नीति र यसको प्रभावसँग गाँसिएको हुन्छ । शिक्षा नीति र प्रणालीले समाज र देशको आवश्यकता मात्र होइन विश्व बजारको माग र आपूर्तिसँग तादात्म्यता राख्न सक्यो भने मात्र कुनै पनि देशले विकासमा फड्को मार्न सक्छ भन्ने ज्वलन्त उदाहरण हो अमेरिका । आज अमेरिका विश्व भरका विद्यार्थीहरुका लागि आकर्षणको केन्द्र बन्न पुगेको छ । विश्वविद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुको आँकलन गर्ने हो भने त करीब ५० प्रतिशत विद्यार्थी विश्वका विभिन्न देशबाट अमेरिका आई अध्ययन गर्ने विद्यार्थीको रहेको देखिन्छ तथापि यहाँको आधारभूत तहको शिक्षा पद्धति पनि महत्वपुर्ण रहेको छ । आधारभूत तह विद्यालय शिक्षाको जगको रुपमा रहेको मात्र होइन बालबालिकाको जीवनको आधारशिला तयार गर्ने अवधि पनि हो ।अत: बालबालिकाको भविष्य निर्माणको खाका कोर्ने अमेरिकी आधारभूत शिक्षा प्रणाली कस्तो रहेछ र यसबाट हामीले सिक्नुपर्ने पक्षहरु के कस्ता रहेछन् भन्ने विषयमा अध्ययन गरी यो आलेख तयार गर्ने प्रयास गरिएको छ ।

अमेरिकामा आधारभूत शिक्षालाई Elementary Education भनिन्छ जसमा पूर्व प्राथमिक तहदेखि कक्षा ५ सम्मको पढाइलाई जनाउँछ । यसलाई विद्यालय तहको औपचारिक शिक्षाको प्रारम्भिक चरण (First Stage of School Education) पनि भनिन्छ । नेपालमा वि सं २०२८ सालमा लागु भएको नयाँ शिक्षा पद्धतिको योजना अमेरिकी शिक्षा प्रणालीको नक्कल हो जुन अमेरिकाले नेपालमा परीक्षणको रुपमा (Piloting Project) लागु गरेको भन्ने कुरा सुन्ने गरिन्थ्यो । आज यहाँ आएर प्रत्यक्ष हेर्दा र अध्ययन गर्दा विद्यालय संरचनाको हिसाबमा हु-बहु मिलेको देखियो यद्यपि नेपालको शिक्षा प्रणालीमा भैरहने परिवर्तन र अस्थिरताले हामीले त्यसमा धेरै परिवर्तन र परिमार्जन गरिसक्यौं तर यहाँ नयाँ शिक्षाकै ढाँचामा लागु भैरहेको पाइन्छ ।

अमेरिकामा ४ देखि ५ वर्षसम्मका बालबालिकाहरुका लागि पूर्व प्राथमिक तहको रुपमा नर्सरी र किन्डरगार्टेनका कक्षाहरु रहेका छन् । यो विद्यालयको औपचारिक कक्षा १ शुरु हुनुभन्दा अघि २ वर्षको रहेको छ । पूर्व प्राथमिक तह अर्थात्  Early Childhood Education  अन्तर्गत Pre-school र  Nursery school or Kindergarten  पर्दोरहेछ । विद्यालय तहमा आधारभूत तह कक्षा १ देखि ५ सम्म (५ देखि १० वर्षको उमेरसम्म)¸ मिडल स्कूल कक्षा ६ देखि ८ सम्म (११ देखि १३ वर्षको उमेरसम्म) र माध्यमिक तह कक्षा ९ देखि १२ सम्म (१४ देखि १८ वर्षको उमेरसम्म) निर्धारण गरिएको छ ।आधारभूत तहमा बालबालिकाको सीपको आधार पढाइ¸ लेखाइ¸ गणित¸ खेलकुद र संगीत लगायतका क्षेत्रहरु रहेका छन् ।

आधाभूत तहको पाठ्यक्रम राज्य र जिल्ला अनुसार फरक फरक हुने गर्दछ तथापि  Foundational literacy, numeracy, Science, Social Studies  लगायतका विषयमा सबैका लागि साझा रहेका हुन्छन् । यहाँको आधारभूत तहको शिक्षा नि:शुल्क रहेको छ जुन स्थानीय शहरहरुले उठाएको करबाट सञ्चालन हुने गर्दछन् । कुनै शहरमा बसोवास गर्ने नागरिकहरुले आफ्नो सम्पत्ति कर तिर्दा नै शैक्षिक कर पनि समावेश गरेर तिर्नुपर्दो रहेछ चाहे आफ्ना बालबालिका विद्यालयमा पढुन् वा नपढुन् कर तिर्नैपर्ने कानून रहेछ । यदि कुनै व्यक्तिको सम्पत्ति छैन वा तोकिएभन्दा कम आम्दानी छ¸ उसले कर तिर्नु नपर्ने व्यवस्था रहेछ ।सक्ने नागरिकबाट कर लिने र कमजोर वा विपन्नलाई सुविधा दिने नीति रहेछ ।यसरी नागरिकबाट उठाइएको कर र संघीय सरकारबाट उपलब्ध General taxes बाट सार्वजनिक विद्यालयहरु सञ्चालित रहेछन् । निजी विद्यालयहरु महंगा छन् तथापि राज्यबाट सञ्चालित सार्वजनिक विद्यालयहरु धेरै व्यवस्थित¸ गुणस्तरीय र सर्वसुलभ रहेका छन् ।आधारभूत तहको शिक्षामा ग्राजुएट भएपछि बालबालिकाहरु मिडिल स्कूल जान्छन् जसलाई Junior High School  भनिन्छ ।

विश्वका विभिन्न देशको आधारभूत शिक्षाको स्तर हेर्ने हो भने क्रमश: दक्षिण कोरिया¸ डेनमार्क¸ नेदरलैंण्ड¸ बेल्जियम¸ फिनलैण्ड¸ स्वीडेन¸ जर्मनी र अमेरिकाको शिक्षा प्रणालीलाई उत्कृष्ट मानिदो रहेछ । यसमा पनि प्रत्येक देशको आ आफ्नै विशेषता हुने रहेछ जस्तै: दक्षिण कोरियामा परीक्षा र मूल्याङ्कन प्रणाली बलियो¸ युरोपेली देशहरु डेनमार्क¸ नेदरलैण्ड र बेल्जियममा सहज र समन्यायिक पहुँच¸ फिनलैण्डमा बालकेन्द्रित सिकाइ र शिक्षक तालिम राम्रो¸ जर्मनीमा प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड तथा अनुसन्धानमा आधारित उच्च शिक्षा¸ अमेरिकामा वृहत शैक्षिक सञ्जाल¸ विश्वविख्यात शैक्षिक प्रतिष्ठानहरुको प्राचुर्यता¸ उच्च शिक्षा अनुसन्धानमा आधारित र व्यवसायिक साझेदारी मोडलका हिसाबले विश्वचर्चित रहेछन् ।

अमेरिकाको आधारभूत तहको शिक्षा अन्तर्गत Kindergarten तहको मूल उद्देश्य भनेको बालबालिकाहरुमा भाषिक सीपको विकास गराउनु रहेको छ जसमा Phonics, Reading, Readiness, Early writing skills, learning the alphabets, Recognizing sounds, Beginning the reading and writing पर्दछन् । त्यसैगरी गणित¸ विज्ञान¸ सामाजिक अध्ययन¸ शारीरिक शिक्षा¸ कला तथा खेलकुदका आधारभूत अवधारणा सिकाइन्छ । यहाँ विषयवस्तुको क्षेत्र व्यापक भएपनि अत्यन्त बालमैत्री¸ सहज र सरल रुपमा खेल्दै सिक्दै रमाउँदै सिक्ने वातावरण निर्माण गरिन्छ ।बालमनोविज्ञान¸ बालअधिकार र मानवोचित व्यवहारको निकै ख्याल गरिएको हुन्छ । हरेक कुरामा The child first को नीति कडाइका साथ लागु गरिएको हुन्छ ।सडकमा हिँड्दा विद्यालय क्षेत्र भएमा अत्यन्त सतर्क रहनुपर्ने र स्कूल बस देखिएमा १०० मिटर पर नै गाडी रोकी उक्त बस गुडेपछि वा गन्तव्य  तर्फ गएपछि मात्र गाडि चलाउनु पर्ने अन्यथा तत्काल कारवाहीको भागिदार बन्नुपर्ने नियम रहेको छ ।यहाँको समाज बालबालिकाप्रति अत्यन्त सम्बेदनशील र जिम्मेवार रहेको पाइन्छ ।

विद्यालयमा बालबालिकाहरुका लागि वैयक्तिक निगरानी र ख्याल गर्ने (Individual caring) परिपाटी वास्तवमै अनुकरणीय छ । त्यसैगरी आधारभूत तहको कक्षा १ देखि कक्षा ५ सम्मको शिक्षामा विशेषत: Reading, Writing, Mathematics, Language arts, Science, Social Studies, Health, Physical education, Arts and Music  विषयका पढाइ हुने गर्दारहेछन् । कक्षाकोठा शिक्षणमा विशेष गरी प्रदर्शन विधि (Demonstration method) प्रयोग हुने रहेछ । आधारभूत तहको शिक्षा अन्तर्गत कक्षा ४ मा सबैभन्दा कठिन मानिदो रहेछ किनकी बालबालिकाहरु ९ देखि १० वर्ष उमेर समूहलाई उमेर र बालमनोबैज्ञानिक हिसाबले पनि कक्षा ३ देखि ४ कक्षामा जाँदा शिक्षण विधि बढी कठिन र परिवर्तित हुन्छ भन्ने मान्यता रहेछ ।आधारभूत तहको शिक्षा दिने विद्यालयहरु विहान ७:३० बजे वा ८:३० बजेदेखि शुरु हुने र दैनिक ६ देखि ७ घण्टासम्म खुल्दोरहेछ । त्यसैगरी आधारभूत तहमा व्यापक र लचकदार पाठ्यक्रम¸ गुणस्तरीयता र बालबालिकाको वैयक्तिक आवश्यकतामा जोड जस्ता विशेषता रहेको पाइयो । पढाइ हुने समयलाई हेर्दा कक्षा १ देखि ३ सम्म वार्षिक ८४० घण्टा¸ कक्षा ४ देखि ८ सम्म ९०० घण्टा र कक्षा ९ देखि १२ सम्म १०८० घण्टा हुँदोरहेछ ।

आधारभूत तहको विद्यालयको मापन गरी श्रेणी निर्धारण (Ranking) गर्दा यहाँका पचास वटा राज्यहरु मध्ये Top 3  मा अमेरिकाका पूर्वोत्तर दिशामा अवस्थित Massachusetts, Connecticut and New Jersey पदर्छन् जहाँ अमेरिकाका उत्कृष्ट विद्यालयहरु रहेका छन् ।संघीय तहबाट हुने Ranking  मा पनि Massachusetts ले अग्रणी स्थान ओगटेको छ जसको गुणस्तर र सुरक्षा¸ पढाइ र गणितको स्तर उत्कृष्ट रहेको छ ।त्यसैगरी Vermont and New Hampshire पनि राम्रा राज्य भित्र पर्दछन् । सरकारी तवरबाट विद्यालयको मापन तथा स्तरीकरण (Ranking) गर्ने काम  U.S. Department of Education बाट हुने गर्दछ । संघीय सरकारको अनुमतिमा निजी स्तरबाट समेत US News and World Report, Niche, Forbes  जस्ता संस्थाहरुले पनि विद्यालयका स्तरीकरण गर्ने रहेछन् । अमेरिकी विद्यालयहरुको स्तरीकरण मापदण्ड  (School Ranking Criteria) यसप्रकार रहेका छन्: Academic performance, College readiness, Resources, Graduation rates, Standarized tests scores, Financial resources, Student-Faculty ratio, Diversity, Facilities  आदि रहेका छन् ।यसका आधारमा विद्यालयहरुको स्तरीयकरण गरिन्छ ।जुन क्षेत्रमा विद्यालयहरु उत्कृष्ट रहेका छन् त्यस क्षेत्रमा घर जग्गा पनि महंगा हुने रहेछन् । पारिवारिक हिसाबले घरजम गर्दा वा स्थायी प्रकृतिको घर खरीद गर्दा सबैभन्दा पहिला विद्यालयको स्तर हेरेर मात्र निर्णय गरिदो रहेछ । यसबाट के पुष्टि हुन्छ भने विद्यालयको स्तरले अमेरिकी जनताको सामाजिक जीवनमा उल्लेखनीय प्रभाव पार्दोरहेछ ।

अमेरिकामा आधारभूत तह (Elementary Level) का प्रधानाध्यापकले शिक्षा विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान रहेको छ । विद्यालयमा प्रधानाध्यापकको भूमिका विशेष प्रकारको हुन्छ । प्रअले विशेषत: विद्यालयको दैनिक कार्यसञ्चालन गर्ने¸ शिक्षक कर्मचारी व्यवस्थापन गर्ने¸ राज्य र स्थानीय तहसँग मिलेर पाठ्यक्रमको निर्माण गर्ने¸ विद्यालयमा सकारात्मक सिकाइ वातावरण निर्माण गर्ने¸ शिक्षकहरुलाई आधुनिक शिक्षण विधिको प्रयोग सम्बन्धमा सहजीकरण गर्ने¸ शिक्षकहरु बीचमा सहकार्यको वातावरण निर्माण गर्ने¸ विद्यार्थी अनुशासन कायम गर्ने गराउने¸ शिक्षकको नियुक्ति गर्ने¸ अभिभावकहरुका बीच सञ्चार गर्ने आदि रहेका छन् ।प्रधानाध्यापकले हप्तामा ५८ घण्टा काम गर्नुपर्ने हुन्छ । यसका लागि प्रतिदिन ११ देखि १२ घण्टासम्म खट्नुपर्ने हुन्छ । हप्तामा दुई दिन शनिवार र आइतवार सार्वजनिक बिदा हुन्छ जसलाई Weekend भन्ने गरिन्छ ।

आधारभूत तहमा प्राय: कक्षा शिक्षण (Grade teaching) को प्रचलन रहेको छ । आधारभूत तहमा कक्षा व्यवस्थापन तथा विद्यार्थीलाई  Engage  गराउने विभिन्न विधिहरु रहेका छन् जस्तै:

  • बालबालिका प्रत्येकको अपेक्षा संकलन गर्न लगाउने
  • सिकाइ प्रति सबैलाई जवाफदेही बनाउने
  • अन्य व्यक्तिलाई असर नपर्ने गरी मधुर स्वरमा बोल्न सिकाउने
  • अभिभावकहरुलाई सकारात्मक पृष्ठपोषण दिने
  • प्रत्येक विद्यार्थीको उपलब्धिको प्रोत्साहन गरी celebrate  गर्ने
  • सबै विद्यार्थीहरुमा राम्रो सम्बन्ध स्थापित गर्ने/सञ्चार गर्ने ।
  • कक्षाको नियम (House rules) तयार गरी पालना गर्न लगाउने
  • विद्यार्थीका लागि शिक्षक नमूना बनेर देखाउने
  • हरेक गलत कामको निगरानी गर्ने गराउने (Proximity control)
  • बालबालिकालाई निरन्तर अभ्यास गर्न लगाउने (Class work, Peer work, Group work etc.)
  • कक्षाको बीच बीचमा छोटो ब्रेक दिने र बालबालिकालाई रिफ्रेस गराउने ।
  • राम्रो कामको सार्वजनिक रुपमा प्रशंसा गर्ने र कमजोरीलाई सँच्याउन व्यक्तिगत रुपमा सल्लाह दिने (Praising publicly and Correcting privately)
  • कक्षाकोठाको बसाइ व्यवस्थापन गर्ने (Seating arrangement)

अमेरिकामा विद्यालयहरु दुई सिफ्ट (सिजन) मा सञ्चालन हुने रहेछन् ।

  • पहिलो सेमेस्टर (Fall) अगष्ट देखि डिसेम्बरसम्म (५ महिना)
  • दोस्रो सेमेष्टर (Spring) जनवरी देखि मई सम्म (५ महिना)

आधारभूत तहको शिक्षक बन्नका लागि देहायका मापदण्ड पुरा भएको हुनुपर्ने व्यवस्था छ

  • कम्तिमा स्नातक उत्तीर्ण (प्रअका लागि शिक्षा शास्त्रमा स्नातकोत्तर)
  • अध्यापन अनुमति पत्र (Teaching License/Certification)
  • राज्य स्तरको शिक्षक परीक्षा उत्तीर्ण (State mandated exam pass)
  • शिक्षक तयारी सम्बन्धी स्तरीकरण कार्यक्रम उत्तीर्ण (Pedagogical skills, knowledge and classroom management skills)
  • अनुभवी शिक्षक वा विषय विज्ञबाट कक्षा अवलोकन परीक्षा उत्तीर्ण

यसरी निश्चित गुण विशेषता र क्षमता भएको व्यक्ति मात्र यहाँ शिक्षकको रुपमा विद्यालयमा प्रवेश पाउने व्यवस्था रहेको छ । यहाँको परिपाटी  हेर्दा सबैभन्दा गाह्रो र सबैभन्दा सम्मानित पेशा भनेको शिक्षण पेशा हो । कुनैपनि विश्वविद्यालयबाट सबैभन्दा राम्रो श्रेणीमा उत्तीर्ण भएको व्यक्तिको पहिलो रोजाइ भनेको शिक्षण पेशा हो । यहाँ शिक्षण पेशा आर्थिक हिसाबले भन्दा पनि सामाजिक मर्यादा र प्रतिष्ठाको हिसाबले उत्कृष्ट पेशा मानिन्छ । शिक्षण पेशा अर्थात् Academia Sector भनेको सबैका लागि Dream post को रुपमा रहनु वास्तवमा शिक्षण पेशा प्रति राज्यको पनि उच्च सम्मान रहनु हो । आधारभूत तहका शिक्षकहरुको सेवा सुविधाहरु सामान्य प्रकारको रहेको छ ।आधारभूत तहका शिक्षकको लागि उपलब्ध हुने सेवा सुविधाहरु कार्यक्षेत्रको अवस्थिति व्यक्तिको अनुभव र विशेष दक्षता जस्ता कुरामा निर्भर रहन्छ ।

क्यालिफोर्निया राज्यमा शिक्षकको तलब वार्षिक रु ९६९८० देखि ११०४२० सम्म¸ न्युयोर्कमा ९४६००¸ वासिङ्टनमा ९१३९० तथा कनेक्टिकटमा ८८५२० रहेको देखिन्छ । अन्य राज्यहरुमा ५७००० देखि ८१००० सम्म रहेको पाइन्छ ।यसका अलावा आधारभूत शिक्षकहरुलाई अन्य सुविधा पनि उपलब्ध हुन्छ जस्तै कक्षाकोठा शिक्षणका लागि सामग्री अनुदान¸ पेशागत विकासका अवसरहरु¸ प्राविधिक सहयोगका लागि ल्यापटप सफ्टवेयर तथा अन्य उपकरणहरु¸ आवासीय सुविधा¸ स्वास्थ्य बिमा सुविधा¸ सेवा निवृत्त कोष¸ तलबी बिदाको सुविधा¸ आयकरमा छुट¸ House loan का लागि करछुटको सुविधा¸ ट्युसन कक्षाको सुविधा¸ कार्यसम्पादनमा आधारित पुरस्कार (Performance based reward)¸ वृत्ति विकासको अवसर (Career Advancement opportunities)  आदि रहेका छन् । यी सेवा सुविधाहरुबाट के बुझिन्छ भने शिक्षक भनेको समाजको अत्यन्त प्रतिष्ठित र मर्यादित पेशा हो जसमा सबैको आकर्षण रहेको छ ।

अमेरिकामा सञ्चालित आधारभूत तहको शिक्षामा राज्य र समाजले ठूलो लगानी गरेको छ ।निशुल्क शिक्षाको व्यवस्थालाई यहाँ व्यवहारिक हिसाबले परिभाषित गरिएको छ ।पढाइका लागि कुनै शुल्क तिर्नु नपर्ने मात्र होइन¸ यहाँ बालबालिकालाई यातायात पनि नि:शुल्क हुन्छ¸ विहानको खाना र दिउँसोको खाजा समेत राज्यले व्यवस्था गरेको हुन्छ । प्रति शिक्षकले १० देखि १५ जनासम्म मात्र बालबालिकालाई सहजीकरण गरेका हुन्छन् । कक्षाकोठा अत्यन्त स्रोतपूर्ण¸ आकर्षक¸ बालमनोवैज्ञानिक¸ बालअधिकारको सुनिश्चितता एवं मानवोचित तथा प्रत्येक बालबालिकालाई वैयक्तिक हिसाबले हेरचाह र निगरानी गरी बालबालिकालाई बालमैत्री र अनुकूल सिकाइ  वातावरण निर्माण गरिएको छ । हरेक विषयको लागि अलग अलग प्रयोगशाला तथा सिकाइ थलोको व्यवस्था गरिएको हुन्छ । नियमित पठनपाठन मात्र होइन विषयगत सिकाइ स्थल जस्तै Math lab, STEM Lab, Library, Science lab, Sports, Music, Creative arts, Paints, Craft, Field trip and observation, Dance, Physical fitness etc. हरेक बालबालिकालाई उसको रुची अनुसारको क्षेत्रमा Engage  गराइएको हुन्छ र सबैको माग र संभावनालाई सम्बोधन गरिएको हुन्छ ।

यसमा वैयक्तिक विभिन्नता (Individual differences) लाई पूर्णरुपमा ख्याल गरिएको हुन्छ । बालबालिकाको विकासका हरेक पक्षमा सम्बेदनशीलता प्रदर्शन गरिन्छ । बालबालिकाले सिकाइमा कुनै पनि प्रकारको असहज महसुस गर्दैन उसले रमाइलो पाराले प्रत्यक्ष र परोक्ष रुपमा सिकिरहेको हुन्छ । उसले त्यो वातावरण पाएपछि एक किसिमले घर जान पनि विर्सने हो कि जस्तो वा यही बसिरहुँ¸ साथीहरुसँग खेलीरहुँ¸ रमाइरहुँ जस्तो वातावरण सिर्जना गरेर विद्यालयले सबैका लागि Pulling Factor बलियो बनाएको हुन्छ । यसप्रकारको वातावरण पाएपछि बालबालिकाहरु विद्यालयमा रमाउँछन्¸ सिक्छन्¸ सामाजिकीकरणको प्रक्रियामा समाहित हुन्छन्¸ आँफूलाई सुरक्षित महसुश गर्छन् र विद्यालयले सबै अभिभावकको पूर्ण भरोसा र विश्वास आर्जन गर्दछन् । वास्तवमा विद्यालय भनेको भौतिक संरचना र अन्य शैक्षिक सामग्रीको व्यवस्था मात्र होइन¸ यो त एउटा सिकाइ थलो हो जहाँ आएपछि बालबालिकाहरु स्वत:स्फुर्त रुपमा सिक्छन् र आँफूमा अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि अनुकूल वातावरण प्राप्त गर्दछन् ।

अमेरिकाको आधारभूत तहको शिक्षा प्रणालीबाट हाम्रो नेपाल जस्तो देशले धेरै कुरा सिक्न सक्छ ।यसका लागि शिक्षा नीतिमा समयानुकल परिमार्जन¸ त्यसमा स्थायित्व¸ नीतिमा भएका व्यवस्थालाई व्यवहारिक रुपमा कार्यान्वयन¸ शिक्षामा व्यापक लगानी¸ शिक्षण पेशा प्रति सबैको आकर्षण वृद्धि¸ शिक्षकलाई सम्मानपूर्वक जीवनयापनको वातावरण निर्माण जस्ता विषयमा राज्य जिम्मेवार बन्नुपर्दछ । शिक्षालाई राज्यले आफ्नो अनिवार्य दायित्वको रुपमा लिनुपर्छ र बालविकास र बालप्रतिभा प्रस्फूटनका लागि बालबालिकाले कुनैपनि अभावको महशुस गर्नै नपर्ने अवस्थाको सिर्जना गर्नु जरुरी छ । यसो भएको खण्डमा पक्कैपनि हामीले विद्यालय शिक्षाको जगको रुपमा रहेको आधारभूत तहको शिक्षालाई समयसापेक्ष र गुणस्तरीय बनाउन सक्छौं जसका कारणले माध्यमिक तहको शिक्षालाई पनि गुणस्तरीय बनाउनका लागि अनुकुल वातावरण निर्माण हुनेछ । यसतर्फ राज्यको सम्बन्धित पक्षको ध्यान जानु जरुरी छ । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय