छैठौं बन्दीपुर महोत्सव सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १०

तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुरमा बुधबारदेखी छैठौं बन्दीपुर महोत्सव–२०८२ सुरु भएको छ । बन्दीपुर गाउँपालिकाको संरक्षकत्वमा तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाईको आयोजना तथा होटल संघ बन्दीपुर बजार इकाई, बन्दीपुर भ्रमण वर्ष अभियान, रेवान तथा स्थानीय सामाजिक संस्थाहरूको सक्रिय सहभागितामा बन्दीपुर महोत्सव सन्चालन गरिएको हो ।

बन्दीपुर टुँडिखेलमा आयोजित उक्त महोत्सवको बन्दीपुरका बरिष्ठ समाजसेवी तथा पर्यटनबिद सन्तकुमार श्रेष्ठले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै श्रेष्ठले बन्दीपुर महोत्सवले बन्दीपुरको पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजार विस्तार र सांस्कृतिक विविधताको संरक्षणमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुरले बोकेको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई दीर्घकालीन रूपमा सम्बद्र्धन र प्रवद्र्धन गर्ने लक्ष्य अनुसार महोत्सवले थप गति प्रदान गर्ने विश्वास व्यक्त गरे । महोत्सवले स्थानीय उद्यमशीलता, पर्यटन व्यवसाय, कृषि तथा हस्तकलालाई एकैसाथ जोडेर बन्दीपुरलाई अझ आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने अध्यक्ष थापाले बताए ।
तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाईका अध्यक्ष घनश्याम भट्टराईको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन कार्यक्रममा बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुरुङ, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठनाथ मिश्र, बन्दीपुर भ्रमण वर्ष अभियानका संयोजक बैंश गुरुङ लगायतले महोत्सवको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

मंसिर २१ गतेसम्म चल्ने उक्त महोत्सवमा सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन तथा हस्तकला प्रदर्शनी, परम्परागत खानाका परिकार, खेलकुद, कृषि उपज प्रर्दशनी, मनोरञ्जनात्मक प्रस्तुति लगायतका आकर्षक गतिविधिहरू रहनेछन् । महोत्सव उद्घाटन अघि बन्दीपुर बसपार्कबाट बन्दीपुर बजार हुँदै टुडिखेलसम्म झाँकी प्रर्दशनी गरिएको थियो ।

बन्दीपुर भ्रमण वर्ष २०२५ सन्चालन भईरहेको सन्दर्भमा आयोजित महोत्सवले भ्रमण वर्ष सफल पार्न योगदान दिने र भ्रमण वर्षको सान्र्दभिकतालाई थप प्रष्ट पार्ने अपेक्षा गरिएको छ । पर्यटन व्यवसायीका अनुसार बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स र जर्मनीबाट विदेशी पर्यटक बढि संख्यामा आउने गरेका छन् । यहाँको सुहावनो हावापानी, परम्परागत नेवारी शैलीका पुराना घर, सांस्कृतिक रीतिरिवाज र शान्त वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर तथा डुम्रेबाट ८ किलोमिटरको उकालो यात्रा पार गरेपछि पुगिने बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । बन्दीपुरमा ७७ वटा साना–ठूला होटल सञ्चालनमा छन्, जसले पर्यटकलाई आवश्यक सबै सेवा सुविधा प्रदान गर्दै आएका छन् ।

ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिलेजलगायतका होटलले बन्दीपुरको आतिथ्य सेवामा महत्वपूर्ण योगदान पु¥याइरहेका छन् । यस्तै, भक्तपुर शैलीमा निर्मित पुराना घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनाखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर तथा पर्यटन सूचना केन्द्र यहाँका प्रमुख आकर्षण स्थल हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय