काठमाडौं । चैत ३
रास्वपाका उपसभापति तथा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डा.स्वर्णिम वाग्लेले पार्टीको एकल सरकार बनेपनि गलत कदम भए प्रश्न उठाउनुपर्ने बताएका छन् । पार्टीका नवनिर्वाचित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै सरकारले बाटो बिराउन खोजे बोल्नुपर्ने बताए ।



उनले भने, ‘हामी कानुन बनाउन आएका हौँ । सरकारको कामको समीक्षा, अनुगमन गर्ने, निगरानी गर्नुपर्छ। हाम्रो सरकार बन्दा पनि हामीले औँलो ठड्याउनुर्छ । खबरदारी गर्नुपर्छ ।’ आ–आफ्नो निर्वाचन क्षेत्रका जनताको मुद्दालाई बुलन्द ढङ्गले उठाउनुपर्ने बताए । नीति बहस, विकास निर्माण, सामाजिक, आर्थिक मुद्दालगायतमा ध्यान दिनुपर्ने स्वर्णिमको भनाइ छ ।
बाचा पत्रको थिम थिति बसाल्ने संकल्प रहेको भन्दै उनले नेपालमा अभूतपूर्व समर्थन जनताले दिएकाले जनअपेक्षाअनुसार अघि बढ्नुपर्ने बताए । रास्वपाले काम गरेरै देखाउनुपर्ने उनको भनाइ छ । वाग्लेले यसपटक रास्वपाले असाध्यै गह्रुंगो जनादेश पाएको बताउँदै यसलाई जोगाएर अगाडि बढ्नुपर्ने ठूलो चुनौती रहेको बताए ।
‘यसपटक असाध्यै गह्रुंगो जनादेश हामीले पाएका छौँ । यसलाई सम्हालेर, जोगाएर लैजानुपर्ने छ । लामो अस्थिरताको चक्रमा फसेको देशलाई माथि उठाउनुपर्ने छ,’ उनले भने । उनले यसअघि ०१५ मा कांग्रेस, ०६४ मा माओवादी र ०७४ मा एमालेले पनि अत्याधिक जनमत पाएको तर, जनताको अपक्षाअनुसारको काम गर्न नसकेको बताए ।

‘०१५ सालमा कांग्रेसले दुईतिहाइ बहुमत ल्याएको थियो । त्यसपछि ०६४ मा माओवादी र ०७४ मा एमालेले ठूलो जनमत प्राप्त भयो । तर, पुराना राजनीतिक दलले काम गर्न सकेनन् । त्योभन्दा ठुलो जनमत हामीलाई प्राप्त भएको छ,’ वाग्लेले भने ।
नवसांसदहरूले अब के गर्ने ? के नगर्ने ? भन्ने विषयमा स्पष्ट हुनुपर्ने उनले बताए । ‘हामी कानुन बनाउन आएका हौँ । जनताका ‘वाचडग’ हौँ । आ–आफ्ना निर्वाचन क्षेत्रका जनताका गुनासा सुनी त्यसलाई बुलन्द गर्नुपर्ने छ,’ उनले भने ।
जनताले चाहेको विकास र पदको गरिमालाई सँगसँगै लैजानुपर्ने भएकाले अत्यन्तै संवेदनशील बन्न उनले नवसांसदहरूलाई अनुरोध गरेका छन् । वाग्लेले भने, ‘संविधान, कानुनलाई मानेर जानुपर्ने छ । तपाईंहरू संघीय नियमबारे जानकार रहनुहोला । बदमासी कुरा सुधार्नुपर्छ । केही कानुन त फाल्नुपर्ने पनि छ । पार्टीको धारणा अध्ययन गर्नुहोला । वाचापत्र पढ्नुहोला । प्रस्तावना पढ्नुहोला । १३ जना सांसद दोहोरिनुभएको छ । उहाँहरूबाट सिक्नुहोला ।’
वाग्लेले अब सांसद भइसकेको जीवनशैली, उठबस आचरणलगायत कुराले धेरै ठूलो असर गर्ने भन्दै ‘अलर्ट’ रहन आग्रह गरे । ‘हामीले जे–जे कुरामा अरू दलका नेतालाई गाली गरेका थियौँ, ती कुरा त्यागौँ । हामी व्यक्तिगत सुधार होइन प्रणालीगत सुधार गर्न आएका हौँ,’ डा. वाग्लेले भने, ‘उमेर र अनुभवमा कम छौँ । साना–साना कुराले धेरै ठूलो अर्थ राख्छ ।’
त्यसैगरी, समय व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्ध, मिडियासँगको सम्बन्ध, मतदतासँगको सम्पर्कलाई बलियो बनाउन वाग्लेले नवसांसदलाई आग्रह गरे । ‘समयमै पुग्ने, मतदातासँगको सम्पर्क व्यवस्थापन, मिडियासँगको सम्बन्ध, सेन्स अफ हिस्ट्री तपाईंहरूमा हुन अन्त्यन्तै जरुरत छ । केही कुरा तपाईंहरूका हातहातमा पु¥याइसकेका छौँ । आफूलाई आवश्यक ऐन कानुन खोजी–खोजी पढ्नुहोला,’ वाग्लेले भने ।
नवनिर्वाचित सांसदलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट पार्न, प्रभावकारी, उत्तरदायी र परिणाममुखी प्रतिनिधि बन्न सहयोग गर्नेलगायत उद्देश्यले अभिमुखीकरण सञ्चालन गरेको रास्वपाले जनाएको छ ।












