वन संरक्षण नै आयआर्जनको आधारः मधुवनद्वारा विरुवा गोडमेल, वृक्षारोपण र फलफूलका बिरुवा वितरण

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार १६

वन संरक्षण केवल हरियाली जोगाउने अभियान मात्र होइन, भविष्यका पुस्ताकालागि स्वच्छ वातावरण, जैविक विविधता र स्थानीय आर्थिक समृद्धिको आधार तयार गर्ने दिगो अभियान पनि हो । यही सन्देशलाई व्यवहारमा उतार्दै तनहुँको देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले तीन दिने गोडमेल तथा वृक्षरोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

डिभिजन वन कार्यालय तनहुँको ‘सगरमाथा वृक्षारोपण महाअभियान–२०८३’ अन्तर्गत गत असार १४ देखि १६ गतेसम्म सञ्चालन गरिएको कार्यक्रममा वन क्षेत्रको गोडमेल, औषधीय तथा फलफूलका बिरुवा रोपण, उपभोक्तालाई बिरुवा वितरण तथा वन संरक्षणसम्बन्धी जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको थियो ।

वन समूहका अध्यक्ष डिल्लीराम गिरीका अनुसार यसअघि करिब साढे चार रोपनी क्षेत्रफलमा रोपिएका करिब ८ हजार सर्पगन्धाका बिरुवाको संरक्षणलाई प्राथमिकता दिँदै तीन दिनसम्म गोडमेल गरिएको हो । अधिकांश बिरुवा अपेक्षा अनुसार हुर्किरहेको भन्दै उनले बहुमूल्य औषधीय वनस्पति सर्पगन्धाको संरक्षणले वातावरणीय सन्तुलन कायम गर्नुका साथै भविष्यमा स्थानीय समुदायको आयआर्जनमा समेत महत्वपूर्ण योगदान पु¥याउने बताए ।

उनले भने, ‘वन संरक्षण कुनै एक संस्था वा व्यक्तिको जिम्मेवारी होइन, सम्पूर्ण समुदायको साझा दायित्व हो, आज रोपिएको एउटा बिरुवाले भोलिको स्वच्छ वातावरण, मानव स्वास्थ्य र आर्थिक समृद्धिको आधार तयार गर्छ । यसैले बिरुवा रोपेर मात्र होइन, त्यसको संरक्षणमा पनि सबै उत्तिकै जिम्मेवार बन्नुपर्छ ।’

सो कार्यक्रम अन्तर्गत २६० वटा आँप, २६० वटा लिची र २६० वटा एभोकाडोका बिरुवामध्ये प्रत्येक उपभोक्तालाई एक–एक वटा बिरुवा वितरण गरिएको अध्यक्ष गिरीले जानकारी दिए । वितरणपछि बाँकी रहेका बिरुवासहित समूहको आफ्नै नर्सरीमा उत्पादन गरिएका करिब १५० वटा फलफूल तथा बहुउपयोगी बिरुवा दुई हेक्टर क्षेत्रफलमा रोपिएको उनले बताए ।

अध्यक्ष गिरीका अनुसार सामुदायिक वनलाई केवल हरियाली संरक्षणको क्षेत्रका रूपमा सीमित नराखी स्थानीय नागरिकको पोषण सुरक्षा, वातावरण संरक्षण र दीर्घकालीन आयआर्जनको आधार बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो । फलफूलका बिरुवाले भविष्यमा किसानको आम्दानी बढाउनुका साथै गाउँलाई हराभरा, आत्मनिर्भर र वातावरणमैत्री बनाउन सहयोग पुग्ने विश्वास समूहले लिएको छ ।

कार्यक्रममा सामुदायिक वनका पदाधिकारी, उपभोक्ता, स्थानीयवासी तथा वन संरक्षण अभियानमा सक्रिय व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

वन विज्ञहरूका अनुसार सामुदायिक वनमा नियमित गोडमेल, संरक्षण तथा औषधीय र फलफूलका बिरुवा रोप्ने अभियानले जैविक विविधता संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण, भू–क्षय नियन्त्रण, जलस्रोत संरक्षण र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा दीर्घकालीन योगदान पु¥याउँछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

सगरमाथा बृक्षारोपण महाअभियान तथा राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा शुक्लागण्डकीमा रुद्राक्ष रोपण

तनहुँ । असार १४ सगरमाथा वृक्षारोपण महाअभियान को २० वर्षे कार्ययोजना तथा राष्ट्रिय वृक्षारोपण दिवसको