तनहुँ । भदौ १
व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो समयदेखि निर्माणाधीन यो महत्वाकांक्षी आयोजनाले अन्तिम रूप लिएको छ । व्यास नगरपालिकाको गौरबको परियोजनाका रूपमा रहेको यस कृत्रिम ताल र ड्यामको संरचना तयार भएसँगै पानी जम्मा गर्न थालिएको हो ।



नारेश्वर ताल करिब २४ देखि २८ रोपनीको क्षेत्रफलमा फैलिएको छ । कङ्क्रिट ग्राभिटी ड्याम प्रविधिबाट निर्मित यस तालको बाँधको उचाइ ८ मिटर छ भने तालको औसत गहिराइ २.५ देखि ३ मिटरसम्म रहनेछ । यस तालमा २५ हजारदेखि ३० हजार घनमिटर पानी भण्डारण गर्न सकिने क्षमता रहेको व्यास नगरपालिकाले जनाएको छ ।
व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त साझेदारीमा करिब ४ करोड रुपैयाँको अनुमानित लागतमा यो बहुउद्देश्यीय आयोजना निर्माण भएको हो । तालसँगै सिँचाइ ट्याङ्कीको पनि निर्माण गरिएको छ । यहाँबाट पानी तानेर नजिकैका कृषि क्षेत्रमा वितरण गरिनेछ, जसले स्थानीय किसानलाई प्रत्यक्ष लाभ पु¥याउनेछ ।
लामो समयदेखि बाँध निर्माण कार्य रोकिए पनि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको समन्वयमा निर्माण सम्पन्न गरी तालमा पानी भरिन थालेपछि स्थानीय बासिन्दामा खुसी छाएको छ । ताल निर्माण भएसँगै यहाँ जलविहार, पिकनिक स्पट र पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजना राखिएको छ । यसले व्यास नगरपालिकालाई पर्यटन, कृषि, वातावरणीय सन्तुलन र रोजगारी सिर्जनाको दृष्टिकोणबाट ठुलो टेवा पुग्ने नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।












