२६ पुस, दमौली
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहूँको आयोजनामा सोमबार दमौलीमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ । पार्टी कार्यालयको प्राङ्गणमा हुने भेलालाई नेकपाका स्थायी समिति सदस्य एवं उर्जा मन्त्री टोपबहादुर रायमाझीले सम्बोधन गर्ने छन् ।
भेलालाई नेकपाका स्थायी समिति सदस्य, गन्डकी प्रदेशका इन्चार्ज एवं गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ, स्थायी समिति सदस्य एवं गन्डकी प्रदेशका सह इन्चार्जहरु खगराज अधिकारी र किरण गुरुङ लगातयका नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भेलामा केन्द्रीय सदस्यहरु एकबहादु राना, टुकराज सिग्देल, दधिराज सुवेदी, कृष्णकुमार श्रेष्ठ किसान, भगवती न्यौपाने, श्रीप्रसाद श्रेष्ठ, रामचन्द्र उपाध्याय, रामबहादुर गुरुङ लगायतका नेताहरुको पनि उपस्थिती रहने नेकपा तनहूँले जनाएको छ ।



भेलामा पछिल्लो राजनीतिक अवस्था तथा प्रतिनिधि सभा विघटनको औचित्यको बारेमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिईने र बैशाख १७ र २७ गते हुने मध्यावधी निर्वाचनको तयारीकोलागि कार्यकर्तालाई जागरण दिईने नेकपा तनहूँका अध्यक्ष केदार सिग्देलले जानकारी दिए ।
नेकपाको प्रचन्ड–माधव समुहले केही दिन अघि जिल्ला भेलाको नाममा गुटको भेला आयोजना गरेको सन्भर्दमा आज हुने भेला नेकपा तनहूँको आधिकारिक भेला रहेको हुँदा सबै अगुवा कार्यकर्तालाई भेलामा उपस्थित हुन अनुरोध गरिएको अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य सिग्देलले जानकारी दिए । नेकपा तनहूँले यस अघि सबै स्थानीय तहमा अगुवा कायकर्ता भेला एवं प्रशिक्षण आयोजना गरिसकेको छ ।












