२९ पुस, देवघाट
तनहूँको पवित्र धार्मिक तीर्थस्थल देवघाटमा माघे सक्रान्ती मेला सुरु भएको छ । देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित पवित्र त्रिशुली नदी र कालीगन्डकी नदीको संगम वेणीमा बुधबार बिहान बाँसको लिङ्गो गाडेर माघेसंक्रान्ति मेलाको शुभारम्भ गरियो ।
देवघाट स्थित हरिहर सन्यास आश्रमका पीठाधीश एवं नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती र गलेश्वर आश्रमका पीठाधीश आत्मनन्द गिरीले विभिन्न सन्तमहन्त, वटुक लगायत विशिष्ट व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याएका थिए । बेणी संगममा विधिवत रुपमा लिङ्गो प्रतिस्थापन गरिएपछि माघे सक्रान्ती मेलाको शुभारम्भ हुन्छ ।



माघे सक्रान्तीमा देवघाटमा हुने मेला नेपालकै सबैभन्दा ठुलो र प्रसिद्ध मानिन्छ । गत वर्षहरुमा माघे सक्रान्तीको दिनमात्रै पाँच लाख भन्दा बढि भक्तजनले मेलाको अवलोकन गर्ने र वेणी संगममा स्नान गर्थे । गोसाईकुण्डबाट बगेको त्रिशुली र दामोदरकुन्डबाट बगेको कालीगन्डकीको संगम देवघाटको बेणीमा स्नान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । यसैले माघे सक्रान्तीमा स्नान गर्न भारत तथा नेपालका विभिन्न जिल्लाबाट लाखौं भक्तजन देवघाट आउने गरेका छन् ।

यस वर्ष कोभिड–१९ को जोखिम कायमै रहेको हुँदा देवघाट क्षेत्र विकास समितिले औपचारिक रुपमा मेलाको आयोजना नगरेपनि व्यवस्थित रुपमा स्नान गर्ने व्यवस्था मिलाईएको समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरे बताए । घिमिरेका अनुसार विभिन्न उपसमितिहरु गठन गरि मेलालाई व्यवस्थित भने बनाईएको छ ।
हजारौं सवारी साधनको ओहोर दोहोर हुने भएको हुँदा देवघाट जाने सवारी साधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट जाने व्यवस्था मिलाइएको छ भने र्फकदा आँपटारी हुँदै आउने व्यवस्था मिलाईएको कार्यकारी निर्देशक घिमिरेले बताए । नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाकोलागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल रेडक्रसका उद्धारकर्ता एवं स्थानीय बोटे समुदायलाई परिचालन गरिने भएको छ । शसस्त्र प्रहरी र बोटेहरुले डुङ्गा मार्फत नदीमा यात्रा गरेर स्नान गर्ने भक्तजनहरुको सुरक्षा गर्ने र दुर्घटना भएमा आपतकालिन उद्धार समेत गर्ने छन् ।
सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।












