विष्णु पाण्डे
देवघाट, भदौ २६
देवघाटमा मंगलबार सम्पन्न तिज गित प्रतियोगतामा देवघाट–५ को कालिका आमा समुह प्रथम भएको छ । हरितालिका तिजको अवसरमा सामुदायिक रेडियो देवघाट १०२.६ मेगाहर्जको आयोजना तथा देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेका सम्पुर्ण सामुदायिक वन समितिहरुको सहआयोजनामा भएको उक्त प्रतियोगितामा चितवन देवघाटमा रहेको बालिका आश्रम दोश्रो तथा देवघाट–५ देउपुर स्थित मिलिजुली आमा समुह तेश्रो भएका छन् ।




प्रतियोगिताा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सो प्रतियोगितामा ११ वटा टिमको सहभागिता रहेको थियो । विजयी टिमलाई देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ र रेडियोका अध्यक्ष चेतनारयण सापकोटाले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

सामुदायिक रेडियो देवघाटका अध्यक्ष चेतनारयण सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवन सिंह गुरुङ, वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुवँर, एफएमका व्यवस्थापक गोपाल न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।












