दमौली, पुस ४
जिल्ला क्रिकेट संघ तनहुँले भविष्यमा हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताकोलागि तनहुँबाट सहभागी हुने खेलाडीहरु छनौट गरेको छ । बुधबार व्यास नपा–५ को पाटन खेल मैदानमा विभिन्न क्लवका इच्छुक खेलाडीहरुको विच प्रतिश्पर्धा गरि संघले तनहुँबाट प्रतिनिधित्व गराउन १४ जना उत्कृष्ट खेलाडी छनौट गरिएको संघका अध्यक्ष मदन तिमिल्सेनाले बताए ।
सो छनौट प्रतियोगिताको जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष अनिल पाण्डेले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै पाण्डेले खेलाडीहरुले आफ्नो क्षमता प्रर्दशन गरि उत्कृष्ट खेल खेली जिल्लाको नाम राख्नु पर्ने बताए । उनले खेलमा कुनै पनि किसिमको विभेद नहुने भन्दै खेलाडीहरुले पनि अनुशासित र मर्यादित भएर आफ्नो कौशल प्रर्दशन गर्नु पर्ने बताए । तनहुँमा खेलकुँदको विकासकोलागि संघले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने पाण्डेले बताए ।
सो कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सदस्य सुदिप शर्माले तनहुँ जिल्लामा क्रिकेटको विकासको लागि केन्द्रबाट सबै खाले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले निकट भविष्यमा तनहुँ जिल्ला स्तरीय लिग आयोजना गर्ने भन्दै त्यसकोलागि पनि तयार रहन खेलाडीहरुलाई अनुरोध गरे । तनहुँमा क्रिकेट मैदानको आवश्यकता देखिएको हुँदा खेलमैदानको व्यवस्थापनको लागि स्थानीय तह र जिल्ला खेलकुँद विकास समितिले पहल गर्नु पर्ने शर्माले बताए ।
जिल्ला क्रिकेट संघ तनहुँका अध्यक्ष मदन तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा क्रिकेट संघका गन्डकी प्रदेश सचिव सुमन कार्की, संघका जिल्ला सचिव अमित कैनी लगायतले मन्तव्य राखेका थिए ।