दमौली, पुस ४
तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफ.एम.९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कारका लागि सम्मानित व्यक्ति छनौट गरिएको छ ।
जसअनुसार पत्रकारितातर्फ बिकास खनाल, साहित्यतर्फ सागर उदास र समाजसेवातर्फ नन्द थापा छनौट भएका छन् ।
तनहुँ जिल्ला भित्र क्रियाशिल रहेका मध्ये एक जना उत्कृष्ट पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिबाट उक्त सम्मान तथा पुरस्कृत व्यक्ति छनौट गरिएको एफएमका संस्थापक अध्यक्ष नारायणकुमार श्रेष्ठले जानकारी दिए ।
सम्मानित हुन लागेका पत्रकार खनाल एक दशक भन्दा अगाडि देखि पत्रकारितामा क्रियाशिल छन् । दमौलीबाट प्रकाशित हुने मादीसेती प्रवाह दैनिक बाट पत्रकारिता सुरुवात गरेका खनाल लामो समय स्तम्भकारको रूपमा कलम चलाउँथे । त्यसपछि दमौलि न्युज हुँदै बिएनबि अनलाइन, सेतीमादी दैनिक र प्राइम टेलिभिजन बाट खनालले पत्रकारिता गरिरहेका छन् । खनालले दमौली माहात्म्यमम पुस्तक समेत प्रकाशन गरेका छन् । तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर १ गुणादीमा जन्मेका खनाल हाल दमौलीमा बस्दै आएका छन् ।
यसैगरी साहित्यतर्फ सम्मानित हुन लागेका सागर उदास बिगत लामो समयदेखि साहित्यका विभिन्न विधामा कलम चलाउने गर्दछन् । उनका थुप्रै कविता संग्रह र कृति प्रकाशित छन् । सागर हाल दमौलीमा बस्दै आएका छन् । यस्तै समाजसेवातर्फ छनौट भएका शुक्ला २ माझदगाम निवासी नन्द थापाले यस क्षेत्रका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल रहि नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।
स्व. श्रेष्ठ सञ्चार व्यवसायसँगै, समाजसेवा र साहित्य क्षेत्रमा समेत सक्रिय रहेकाले ३ विधा छनौट गरिएको हो । हालै बसेको बैठकले पुरस्कृत व्यक्ति छनौट गरेको हो । रेडियोका शेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र केहि रकम श्रेष्ठको परिवारबाट जम्मा गरि ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । सोहि रकमको ब्याजबाट प्राप्त आम्दानीले प्रत्येक वर्ष ३ विधामा क्रियाशिल व्यक्तिहरुलाई पुरस्कार प्रदान गरिने रेडियोले जनाएको छ ।
आगामी पुस ९ गते सोमबार दुलेगौंडामा आयोजना हुने विशेष कार्यक्रममा खनाल, उदास र थापालाई सम्मान गर्ने कार्यक्रम रहेको एफएमका अध्यक्ष ऋषेश्वर भुवाई ऋतुले जानकारी दिए । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।