दमौली, माघ २३
व्यास नगरपालिकाले पृथ्वीराजमार्ग सडक सिमा भित्र परेका घर टहरा भत्काउन नगरवासीसँग अनुरोध गरेको छ । सडक विस्तार कार्य भईरहेको हुँदा सडक क्षेत्र भित्र पर्ने घर टहरा भत्काई सडक विस्तार कार्यलाई सहयोग गर्न नगरपालिकाले अनुरोध गरेको हो ।
व्यास नगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले पृथ्वीराजमार्ग विस्तार योजनामा नगरपालिकाबाट पटक–पटक सडक क्षेत्रका क्षेत्रका घर हटाउन अनुरोध गरिएकोमा हालसम्म प्रगति नदेखिएकोले राजमार्गमा पर्ने डुम्रे, छिर्कन लगायतका क्षेत्रमा घर भत्काई सडक विस्तार भइरहेको अवस्थालाई मनन गरी राष्ट्रिय प्राथमिकता प्राप्त बाटो बिस्तारमा सडक क्षेत्रका घर टहरा भत्काई सहयोग पु¥याउन सम्बन्धित सवैमा अुनरोध गर्ने निर्णय गरेको थियो ।
व्यास नगरपालिकाको दमौली बजार भित्र सडक क्षेत्रमा पर्ने घर टहरा नभत्काउँदा सडक विस्तारमा अवरोध हुँदै आएको छ । आबुँखैरेनीबाट कालोपत्रे हुँदै छिर्कनसम्म आईपुगेपनि दमौली बजारमा घर टहरा नभत्काउँदा सडक विस्तारमा समस्या पर्ने भएको हो ।
यसैगरि नगर कार्यपालिकाको बैठकले आगामी चैत्र ३० गते व्यास नगरपालिकाको ३२ औं स्थापना दिवसका अवसरमा नगरपालिकाले सम्पादन गरेका कार्यहरुको शाखा÷उपशाखागत, बडास्तरीय र नगरस्तरीय प्रगती विवरणहरु संलग्न गराई व्यास नगर दर्पण २०८० प्रकाशन गर्न नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष जीवन गुरुडको अध्यक्षतामा सात सदस्यीय प्रकाशन समिति गठन गरेको छ ।
यसैगरि नगरपालिकाको स्थापना दिवसको अवसरमा उत्कृष्ट टोल विकास संस्था, कृषि तथा पशुपंक्षी व्यवसायी, करदाता, उपभोक्ता समिति, शिक्षक, कर्मचारी, प्रतिभावान विद्यार्थीहरुलाई पुरस्कृत गर्न उपप्रमुख इन्दिरा दरैको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।
व्यास नगरपालिकाको आर्थिक वर्ष २०८०।०८१ मा प्रस्तावित योजनाहरुको सम्पादित कार्यढाँचाको समीक्षा गरी आगामी आर्थिक बर्ष २०८१।०८२ को बजेट तथा योजना तर्जुमा सम्बन्धी मापदण्ड तयार गरी एक महिनाभित्र कार्यपालिका समक्ष पेश गर्न उपप्रमुख इन्दिरा दरैको संयोजकत्वमा सात सदस्यीय मापदण्ड प्रस्ताव समिति गठन गरेको छ ।
व्यास नगरपालिका भित्रका संघीय कार्यक्रम अन्तर्गत योजना आयोग मार्फत रहेका चालु क्रमागत योजनाहरु करङकाठ बसपार्क बुल्दी खोला मोटरेवल पुल, देवीडांडा खानेपानी योजना, सांधखोला कमेरेपानी खानेपानी योजना, मानुङ खानेपानी योजना, गजौडी खानेपानी मूल केशवटार, खड्काली मार्ग निर्माण योजना सम्पन्नताका लागि योजना आयोग मार्फत थप रकम माग गर्ने र बुल्दी खोला घाँसीकुवा मोटरेवल पुल (व्यास १–११) समेतलाई समपुरक योजनामा समावेश गर्न माग गर्ने निर्णय गरेको छ प्रवक्ता जिवन गुरुङले बताए ।
व्यास नगरपालिका भित्रका पक्की सडकहरुमा खानेपानी, टेलिकम्युनिकेशनका कामका लागि अनुमति नलिई कालोपत्रे सडक काट्ने र मर्मत नगरी छाड्ने गरेको पाइएकोले मर्मत गर्ने प्रतिबद्धता सहित नगरपालिकाको स्वीकृति लिएर आवश्यक स्थानमा मात्र कालोपत्रे सडक काट्न सम्बन्धित संघसंस्था एवं निकायलाई अनुरोध गरेको छ ।