दुलेगौंडा, चैत १४
शुक्लागण्डकी नपा–६, खैरेनीटारका मिर्गौला पिडित ३९ वर्षिय तिल बहादुर कुमालको परिवारलाई ६ लाख बढि आर्थिक सहयोग प्राप्त भएको छ । परिवारका ५ मध्य ४ जना विरामी परेर थला परेपछि एक हप्ताअघि उनको परिवारले सन्चारकर्मी मार्फत सहयोगको याचना गरेका थिए ।
उनका छिमेकी मार्टिना कुमालका अनुसार विभिन्न संघसंस्था, व्यक्तिहरुबाट हालसम्म ६ लाख २४ हजार २ सय रुपैया संकलन भएको छ । रकम सहयोग भएपछि परिवार खुसी भएका छन् । उनीहरुले सहयोगी दाताहरुलाई धन्यवाद दिएका छन् ।
तिल बहादुरका बुबा ७० बर्षिय मानबहादुर कुमाल ४ बर्षदेखि ओछ्यानमा सुतिरहेका छन् । खुट्टा झमझमाउने लगायतका समस्याले उनी उभिन समेत सक्दैनन् । दुवै मिर्गाैलाले काम नगरेपछि आमाले मिर्गौला दिएपछि २०७१ सालमा तिलबहादुरले मिर्गौला प्रत्यारोपण गरेका थिए । नियमित औषधी सेवा गरिरहेका तिल बहादुर अहिले ज्वरोले ग्रसित छन् ।
छोरालाई मिर्गाैला दिएपछि ६९ बर्षिय आमा टुकमाया कुमालको स्वास्थ्य कमजोर हुदै गएको छ । विरामी परेकी तिलबहादुरकी श्रीमती शान्ति कुमाल डिस्चार्ज भएर घर फर्किएकी छिन् । उनी परिवारको अवस्थाले विरामी भइ पोखराको मणिपाल शिक्षण अस्पतालमा करिव एक हप्ता उपचारकोलागि बसेकी थिइन् । सबैलाई औषधी उपचारमा मासिक रुपमा ठूलो रकम जोहोगर्नुपर्ने भएपछि उनीहरुलाई थप समस्या हुदै गएको थियो ।
तिल बहादुरकी आमा टुक मायाले प्राप्त रकम औषधी उपचारमा खर्च गर्ने बताईन् । उनले सहयोग रकमले आफूहरुलाई ठूलो राहत मिलेको बताउदै सहयोगी सबैलाई धन्यवाद दिइन् ।