देवघाट, चैत १५
राष्ट्रपती रामचन्द्र पौडेल यही चैत १७ गते शनिबार देवघाट गाउँपालिका आउने निश्चित भएपछि देवघाटमा राष्ट्रपतीको स्वागतकोलागि तयारी तिब्र पारिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने त्रिशुली नदीको मोटरेवल पुल (ठिमुराको पुल) उद्घाटनकोलागि राष्ट्रपती पौडेल देवघाट आउन लागेका हुन् । पुल उद्घाटन कार्यक्रम पुलको तनहुँ तर्फको भागमा हुनेछ ।
उक्त पुल निर्माणकोलागि तनहुँ क्षेत्र नम्बर १ का तत्कालिन सांसद तथा नेपाली काँग्रेसका तत्कालिन बरिष्ठ नेता रहेका पौडेलको पहलमा बजेट विनियोजन भएको थियो ।
पुल उद्घाटन पछि राष्ट्रपती पौडेलले देवघाट–५ स्थित देवघाट धर्मार्थ अस्पतालको नजिकै देवघाट गाउँपालिकाले निर्माण गर्न लागेको जेष्ठ नागरिक आश्रमको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ ।
राष्ट्रपती पौडेलको स्वागतकोलागि सबै तयारी भएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । राष्ट्रपतीको भ्रमणको तयारी स्वरुप विहिबार सुरक्षा समितिको बैठक देवघाटमा बसेको थियो । पुल उद्घाटन कार्यक्रम पुल निर्माण समितिका अध्यक्ष टंकनाथ पौडेलको अध्यक्षतामा र जेष्ठ नागरिक आश्रम शिलान्यास कार्यक्रम देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा हुनेछ ।