बन्दिपुरका विभिन्न सडक योजनाको लागि बजेट माग

Devghat Online

शेयर गरौ

दमौली, चैत २०

बन्दिपुर गाउँपालिकाको एक टोलीले बन्दिपुर गाउँपालिकाको मुख्य सडकहरुको लागि संघीय सरकारको आगामी आर्थिक वर्ष ०८१÷८२ को बजेटमा रकम उपलब्ध गराउन उप्रधानमन्त्री एवं भौतिक पुर्वाधार तथा यातयात मन्त्री रघुविर महासेठ समक्ष माग गरेको छ ।

राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेको समन्वयमा गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाको नेतृत्वमा गएको गाउँपालिकाको टोलीले मंगलबार उपप्रधानमन्त्री एवं भौतिक पुर्वाधार मन्त्री महासेठलाई उनकै मन्त्रालयमा भेटी बन्दिपुर गाउँपालिका अन्तर्गतका योजना सन्चालनको लागि बजेट आवश्यक भएको हुँदा आगामी आर्थिक वर्ष ०८१।८२ को बजेटमा रकम उपलब्ध गराउन माग गरेका हुन् ।

बन्दिपुर–ढाँडखोला–बुद्धसिंह मार्गकोलागि १० करोड, बन्दिपुर–धरमपानी सडकको लागि १० करोड, बेलभन्ज्याङ–बानियाटार–तामुङ–सेराटार मार्गकोलागि ५ करोड र अन्य केही थप योजनाकोलागि पनि आवश्यक बजेट उपलब्ध गराउन मन्त्री महासेठ समक्ष गाउँपालिकाका अध्यक्ष थापाले माग पेश गरेका थिए । साथै अध्यक्ष थापाले उपप्रधानमन्त्री महासेठलाई बन्दिपुर भ्रमणको निम्तो समेत गरेका छन् ।

सो अवसरमा उपप्रधानमन्त्री महासेठले सम्भव भएसम्का योजनाकोलागि आगामी आर्थिक वर्षमा बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै उपयुक्त समयमा बन्दिपुरको भ्रमण गर्ने बताएका थिए । सो भेटमा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपाने, बन्दिपुरका नेकपा एमालेका नेता इन्द्र कुँवर, वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठ, बन्दिपुर गाउँपालिकाका अध्यक्षका स्वकिय सचिव अमिर गुरुङ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू