राष्ट्रिय परिचयपत्र दर्तामा भिड गर्नु पर्दैन, ‘भाद्र मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नविकरण गर्न सकिने’

Devghat Online

शेयर गरौ

दमौली, जेठ ३०

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले भदौ मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नविकरण गर्न सकिने जनाएको छ । विभागले बुधबार सुचना प्रकाशन गरि आगामी भदौ मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नविकरण गर्न सकिने जनाएको हो ।

हाल पहिलो चरणमा तनहुँ सहित देशका २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकोमा साउनबाट सामाजिक सुरक्षा भत्ता नपाईने डरमा हाल जिल्ला प्रशासन कार्यालयहरुमा राष्ट्रिय परिचय पत्रको आवेदन फारम भर्नेहरुको भिड लागेको छ । यसैसन्दर्भमा पन्जिकरण विभागले भदौसम्म सामाजिक सुरक्षा भत्ता नविकरण गर्न सकिने हुँदा आफ्नो अनुकुलमा राष्ट्रिय परिचयपत्रको आवेदन फारम भर्न सकिने जनाएको हो ।

राष्ट्रिय परिचयपत्र आवेदन फारम भर्नको लागि जनशक्ति थप गरि स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयहरुले पालिका र वडा स्तरमा अभियान सन्चालन गर्ने पनि विभागले जनाएको छ । साथै बालबालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असाहय वा ९० वर्ष भन्दा माथिका जेष्ठ नागरिकको हकमा परिचयपत्रमा विवरण दर्ता नभएपनि सामाजिक सुरक्षा भत्ता लिन बाधा नपर्ने विभागले प्रकाशित गरेको सुचनामा जनाईएको छ ।

यसैविच जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचय पत्रको विवरण संकलनको लागि वृद्धवृद्धा एवं अपाङ्गता भएका व्यक्तिहरु लगायतको जिल्ला प्रशासन कार्यालयमा भीड बढिरहेको भन्दै कार्यालयमा साविकमा २ वटा संकलन केन्द्र मार्फत राष्ट्रिय परिचय पत्रको विवरण संकलन हुँदै आएकोमा हाल ३ वटा संकलन केन्द्र थप गरी ४ वटा संकलन केन्द्र मार्फत र देवघाट गाउँपालिकाको केन्द्रबाट १ वटा संकलन केन्द्र समेतबाट गरी ५ वटा संकलन केन्द्र मार्फत सेवा प्रवाह भईरहेको जानकारी दिएको छ ।

५ वटा संकलन केन्द्र मार्फत विहान ७ बजे देखि बेलुका ६ बजे सम्म निरन्तर सेवा प्रवाह भईरहेकोले श्रावण महिना भित्र सबै सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुलाई राष्ट्रिय परिचय पत्रमा आवद्ध गरी सक्ने गरी काम भईरहेको हुँदा हतारिएर भीडभाड गर्नुपर्ने अवस्था नरहेको र एक डेढ महिना अझै बाँकी समय रहेको अवस्थामा हतारो नगरी आवेदन फारम भर्न जिल्ला प्रशासन कार्यालयले सर्वसाधरणमा अनुरोध गरेको छ ।

तोकिएको समय भित्रै सबै सेवाग्राहीलाई सेवा प्रवाह गर्ने सम्बन्धमा थप के गर्न सकिन्छ भनी छलफल र तयारी भईरहेको व्यहोरा समेत सबैलाई जानकारी गराउदै समयमै सेवा प्रवाह गर्न जिल्ला प्रशासन कार्यालय पूर्ण प्रतिवद्ध रहेको पनि जनाईएको छ । आज सेवा नलिए भोली सेवा लिन पाईदैन भन्ने धारणा नराखी सेवा प्राप्त गर्न प्रयाप्त समय बाँकी रहेकोले धैर्यपूर्वक स्वभाविक ढङ्गले सेवा प्राप्त गर्न आउन सर्वसाधारणहरुमा जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू